वर्षा, बाढी र पहिराेले सडक र पुलमा भएकाे क्षति कति ? पुननिर्माण गर्न २५ अर्ब लाग्ने

मूलखबर संवाददाता
काठमाडौं, १८ असाेज

गत हप्ताकाे भिषण वर्षाबाट क्षतिग्रस्त सम्पूर्ण सडक र पुलको पुनस्र्थापना गर्न २० देखि २५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । भौतिक तथा पूर्वाधार मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक तथा पुलमा अस्थायी रूपमा मर्मत गरेर यातायात सञ्चालन गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वर्षाका कारण अवरुद्ध विभिन्न ३४ राजमार्गका ८०५ मध्ये ७७४ स्थानको पहिरो हटाइएको छ । त्यसै गरी ३४ राजमार्गमध्ये २९ वटाको भने मर्मत गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

देशका प्रमुख पाँच वटा राजमार्गमा अझै पनि यातायात सञ्चालन हुन सकेको छैन । अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो । उहाँका अनुसार ती पाँच राजमार्गका ३१ स्थानमा पहिरो हटाउने प्रयास जारी छ ।

मन्त्रालयका  सचिव शर्माका अनुसार अरनिको राजमार्ग अन्तर्गत लार्चा–कोदारी खण्डमा लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ । त्यसै गरी बिपी राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्डको १८ किलोमिटरमा करिब १२ किलोमिटर सडक पूर्ण रूपमा बगेका कारण बिच बिचमा सवारीसाधन रोकिएका छन् ।

रोसी खोलाको बहावलाई ध्यानमा राखी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रूपमा यातायात सञ्चालन गरिएको सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट–राकथुम ८० किमी सडकखण्डको धेरै ठाउँमा पहिरो गएका कारण दुवैतर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ ।

कहाँ कहाँ पुलमा क्षति ? 

अरनिको राजमार्गतर्फ लिपिङ पुल १७ मिटर, लार्चा बेलिब्रिज ४५ मिटर क्षति भएको छ । बिपी राजमार्गतर्फ सुनकोशी–खैरेनीटार पुलमा ५० मिटर, सुनकोशी–फोक्सिङ्टार पुलमा ११० मिटर, सुनकोशी–खुर्कोट पुलमा ५० मिटर क्षति भएको छ ।

सचिव शर्माका अनुसार मेची राजमार्गतर्फ हेवा खोला पुलमा ५० मिटर क्षति भएकोमा सो ठाउँमा डाइभर्सन निर्माण गर्ने योजना छ । कान्ति लोकपथको बागमती पुलमा १५ मिटर, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल ३५ मिटर क्षति भएको सचिव शर्माले जानकारी दिनुभयो ।