छोराछोरी विदेशमा : जेष्ठ नागरिक एक्लोपनको सिकार

मूलखबर संवाददाता
काठमाडौं, १७ असोज ।

पछिल्लो समय ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै गइरहेको एक अध्ययनले देखाएको छ । काठमाडौं महानगरपालिकाले ‘ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।

अध्ययनमा छोराछोरी विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा भावनात्मक एक्लोपनाको गम्भीर समस्याले सताएको देखिएको छ । यसैगरी अध्ययनमा ६३.३ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नभएको उल्लेख छ ।

अध्ययनमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका ५०९ जना ज्येष्ठ नागरिक सहभागी थिए । महानगर अनुसन्धान शोधवृत्ति ९मेट्रोपोलिटन रिसर्च फेलोसिप–एमआरएफ० अन्तर्गत २०७९ मा त्रिचन्द्र कलेजका मनोविज्ञानका असिस्टेन्ट प्रोफेसर प्रल्हाद अधिकारीले अध्ययन गरेका थिए । अध्ययनमा सहभागीबाट सामाजिक र भावनात्मक गरी दुई किसिमको एक्लोपना देखिएको उनले बताए । ‘हामीले सहरमा भएका ज्येष्ठ नागरिकको मानसिक अवस्था पत्ता लगाउन अध्ययन गरेका थियौं,’ उनले भने, ‘सहभागीमध्येमा चार जनामा एकलाई भावनात्मक, तीन जनामध्ये एक जनालाई डिप्रेसन र दुई जनामध्ये एकलाई सामाजिक एक्लोपनले सताएको पाइयो ।’

उनका अनुसार ‘मेरो कोही सहारा तथा साथी नभएको विचार सामाजिक र म एक्लो वा दुःखी छु भन्ने’ कुरा भावनात्मक एक्लोपनको सूचक मानेर अध्ययन गरिएको हो । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशतमा उच्च, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखिएको अध्ययनमा छ ।

ज्येष्ठ नागरिकले हेरचाहको दर्शनबाट प्रेरित भएर महानगरले काम गर्नुपर्ने प्रतिक्रिया दिएको उनले सुनाए ।‘ज्येष्ठ नागरिकका सवालमा अध्ययनमा आधारित रहेर नीति बनाउनुपर्ने, सुशासन कायम गरिनुपर्ने, ज्येष्ठ नागरिकको आवश्यकताको विषयमा महानगरले उत्तरदायी भएर सम्बोधन गर्नुपर्ने अपेक्षा राखेका थिए,’ उनी थप भन्छन्, ‘यसैगरी ज्येष्ठ नागरिकलाई जमघट हुन सामाजिकीकरणका कार्यक्रम ल्याउनुपर्ने, प्रत्यक्ष रूपमा ज्येष्ठ नागरिकसम्बन्धी सूचना प्रभावकारी ढंगबाट उपलब्ध गराउनुपर्ने, शारीरिक गतिविधिका लागि व्यायामशाला र खेलकुदको स्थान छुट्याउनुपर्ने र डिजिटल साक्षरतासम्बन्धी तालिम प्रदान गर्नुपर्ने अपेक्षा राखेका थिए ।’ यो खबर कान्तिपुरमा छ ।