विद्यार्थीलाई प्रचण्डको सन्देश : पार्टी र विद्यार्थी आन्दोलनमा २०६४ को पुनर्जिवन सम्भव छ

मूलखबर संवाददाता
काठमाडौं, १० असोज ।

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र विद्यार्थी आन्दोलनमा २०६४ को पुनर्जिवन सम्भब भएको बताएका छन् । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको राजधानीमा विहीबार उद्घाटन गर्दै प्रचण्डले आफ्नो नेतृत्वका तीन वटा सरकारले गरेका जनपक्षीय र ऐतिहासिक कामहरुलाई जनतामा स्थापित गर्दै एकतावद्ध भएर लागेमा २०६४ सालको पार्टी र विद्यार्थी आन्दोलनको पुनरावृत्ति सम्भव भएको बताएका हुन् ।

उनले विद्यार्थीहरुलाई प्रतिक्रियावादी र भ्रष्ट सरकारको विरुद्ध एकजुट भएर जाइ लाग्न निर्देशन पनि दिएका छन् । म सरकार छाड्दै गर्दा विजयी भावमा सिंह बनेर निस्कीएँ, तपाईहरु सडकमा बाघ बनेर सुशासनको पक्षमा र भ्रष्ट सरकारको विरुद्धमा गर्जन्स्, प्रचण्डले विद्यार्थीहरुलाइ भने – ‘यो देशको सबैभन्दा क्रान्तिकारी र परिवर्तनकामी पार्टी माओवादी हो भन्ने कुरा स्थापित गर्नुस् ।’

उनले आफ्नो नेतृत्वको पहिलो सरकारले मध्यपहाडि राजमार्गको शुरुवात गरेको र त्यो सम्पन्न हुने क्रममा भएकाले त्यसको अपनत्व लिन तथा दोश्रो कार्यकालमा उर्जामन्त्री जनार्दन र प्राधिकरण प्रमुख कुलमानसहितको बलमा लोडसेडिङको अन्त्य गरी उन्यालो नेपाल अभियान चलाएको र तेश्रो कार्यकालमा भ्रष्टाचारविरुोधी र सुसासनको पक्षमा महाअभियान  चलाएको कुरालाई जनतामा लैजान विद्यार्थीहरुलाइ निर्देशन दिए । उनले भ्रष्टाचारको विरुद्ध अभियान चलाएकै कारण श्रीलंकामा कम्युनिष्ट पार्टीले राष्ट्रपति जित्न सफल भएकोबाट शिक्षा लिन पनि अपील गरे ।

शक्ति राष्ट्रको टकरावका कारण नेपालको भूराजनीति संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै माओवादी राष्ट्रिय स्वाधीनताको पक्षमा उभिइरहेको उनले बताए । ‘नेपालको भूराजनीतिक अवस्थितिले गर्दा यसको इपिसेन्टर हुने हो कि रु भन्ने चिन्ता छ,’ उनले भने, ‘राष्ट्रिय स्वाधिनतामाथि गम्भीर चुनौती खडा भएको छ । यो परिस्थिति विदेशी हस्तक्षेपविरुद्ध बोल्ने माओवादी केन्द्र नै हो । अब फेरि राष्ट्रिय स्वाधीनतताको लडाइँ लड्नुपर्ने छ ।’

उनले नयाँ प्रतिबद्धता, आन्दोलनको रुपमा अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चालेकाले सरकारबाट बाहिरिनु परेको बताए ।

प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वमा आफ्नो कुनै रोजाइ नभएको बताएका छन् ।  प्रचण्डले सके सहमति, नभए निर्वाचनबाट नेतृत्व चुन्न आग्रह गरे । नेतृत्व, खासगरी अध्यक्षका दाबेदारहरुलाई भेटेर उनीहरुको बुझाइ र भोलिको योजना सुनेको भन्दै उनले भने, ‘मैले अहिलेसम्म यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन ।’

पार्टी कार्यालयमा भएको छलफलमा पनि विद्यार्थीमा कसैले गटबन्दी नगर्ने सहमति भएको उनले बताए । राष्ट्रिय सम्मेलनले जसलाई नेता छनोट गर्छ, उसलाई पार्टीको समर्थन रहने उनले बताए । गुटबन्दीका कारण धेरै दुःख पाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘यो विद्यार्थीहरुका लागि गुटबन्दीबाट पर जाने अवसर पनि हो ।’