नेपालमा एशिया रग्बीकाे सबैभन्दा ठूलाे प्रतियोगिता हुँदै, १८ देशका खेलाडीले भाग लिने

मूलखबर संवाददाता
काठमाडौं, २ असाेज २०८१

नेपालमा एशियाकै सबैभन्दा ठूलाे रग्बी प्रतियोगिता हुने भएको छ ।

आगामी असोजको तेस्रो साता महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफ्री आयोजना हुने भएको हाे ।

प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते हुन लागेको हो।

यसअघि नेपाल रग्बी संघले यसअघि सन् २०२२ मा एसिया रग्बी यू–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यू-२० सेभेन्सको आयोजना गरिसकेको छ।

ट्रफीमा विभिन्न देशका गरी कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

नेपाल रग्बी संघका अनुसार एसिया रग्बी सेभेन्स ट्रफीका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

ट्रफीमा पुरुषतर्फ १४ र महिलामा आठ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन्। यसअघि १८ देशले नेपालमा हुने एसियाली रग्बीको आयोजनामा चुनौती प्रस्तुत गर्ने पक्का भएपनि अन्तिम समयमा इरान सहभागी नहुने भएको छ।

संघका महासचिव गोविन्दबहादुर घिमिरेले एसियन गेम्स खेल्न एसिया रग्बी सेभेन्स खेल्नै पर्ने प्रावधान रहेको बताएका छन्। संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो।

मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षण गरी पछिल्लो दुई महिनादेखि तयारी गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए।