ओेलीलाई प्रधानमन्त्री बन्न अप्ठ्यारो, राष्ट्रपतिले मिच्लान् त संविधान ?
वर्तमान वामपन्थी सत्ता समिकरण एकाएक र आकस्मिक रूपमा भत्काएर नेपाली कांग्रेससँग सत्ता समिकरण गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न धेरै कठिन देखिएको छ ।
दुईवटा ठूला दल मिलेपछि सबै भइहाल्छ भन्ने मनाेविज्ञानमा आधारित भएर प्रधानमन्त्री प्रचण्डलाई झुक्याएर प्रमुख प्रतिपक्षी दल कांग्रेससँग मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई प्रधानमन्त्री बन्न संवैधानिक रूपले कठिन देखिएको हाे ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत नपाएपछि मात्रै यो सरकार ढल्नेछ । र, नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ । तर, धारा ७६ को कुन उपधाराअनुसार सरकार गठन हुन्छ भन्नेमा कानुनविद्हरूका फरक–फरक तर्क छन् । उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार र उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले अब कुन धाराअनुसार सरकार गठनको आह्वान भन्ने राष्ट्रपतिको विवेकमा भर पर्ने बताए । ‘सरकार गठनको प्रक्रिया यसै भन्न सकिन्न । ७६ (२) को सरकारले विश्वासको मत गुमाएपछि संविधानअनुसार जानुपर्ने ७६ (३) मै हो । तर, कोशीमा सर्वाेच्चको फैसलाका कारण अन्योल छ । यो राष्ट्रपतिको विवेकमा भर प¥यो । २ वा ३ दुवै उपधारामा आह्वान हुन सक्छ,’ उनले भने ।
संविधानविद् भीमार्जुन आचार्यले सर्वाेच्चको फैसलाले उपधारा २ वा ३ मा दुवै धारामा आह्वान गर्ने ठाउँ दिएको बताए । ‘संविधानको सीधा अर्थ ७६ (२) पछि ७६ (३) र त्यसपछि ७६ (५) हो । तर, कोशी प्रदेशको सरकार गठनमा सर्वाेच्च अदालतले दुइटा फरक फैसला गरेको छ । उज्ज्वल थापाको निवेदनमा १६८ (२) को सरकार ढलेपछि अर्काे सरकार पनि १६८ (२) अनुसार नै बन्न सक्छ भनेको छ । अर्काे निवेदनमा १६८ (२) पछि १६८ (३)मा जान सकिन्छ भनेको छ । सर्वाेच्चको फैसलाले उपधारा २ वा ३ मा दुवै धारामा आह्वान गर्ने ठाउँ दिएको छ,’ उनले भने ।
यी सबै नजीर हेर्दा केपी ओलीलाई प्रधानमन्त्री बन्न फलामको च्युरा चपाएसरी हुने पक्का छ । राष्ट्रपति रामचन्द्र पाैडेलले धारा ७६ (३) लाई प्रयाेग गरेर सरकार गठनकाे आव्हान गर्ने र त्पसले ओली भन्दा देउवालाई नै अनुकुल हुनेगरी विवेक प्रयाेग गर्ने सम्भावना रहेकाे उनी निकट स्राेतले बताएको छ । किनकि पाैडेलकाे विगत हेर्दा उनी विवादमा आउन नचाहने र सहज बाटाे अवलम्बन गर्ने प्रवृत्ति देखिन्छ ।
उनलेे सरकार गठनको लागि संविधानकाे सहज व्यवस्था अर्थात धारा ७६(३) लाई नै उपयोग गर्नेछन् । यदि उनलेे सहज बाटाे नराेजेमा उनी विवादमा पर्ने र संविधान मिचेकाे आराेप खेप्नु पर्नेछ ।