राइट अफ वे मा पर्ने जग्गा प्राप्तिका लागि प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै सेयर प्रदान गर्ने
सरकारले विद्युत प्रसारण लाईन निर्माण गर्न सहज वातावरण निर्माण गर्न राइट अफ वे मा पर्ने जग्गा प्राप्तिका लागि जग्गाधनीलाई आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै सेयर प्रदान गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आव २०८१र८२ को बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो । अर्थमन्त्री पुनले प्रसारण लाइनको ‘राइट अफ बे’ का लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि जग्गाधनीलाई आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै सेयर प्रदान गरिने व्यवस्था बजेटमा गरिएको जानकारी दिनुभएको हो ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा ९ सय मेगावाट बिजुली थप हुने पनि बताउनुभयो ।
ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कुल जडित क्षमता बढ्ने बजेटमा उल्लेख छ । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता ३ सय ८० किलोवाट रहेकोमा आगमी वर्ष त्यसलाई बढाएर ४ सय ५० किलोवाट पुर्याउने लक्ष्य छ ।
आगामी आवदेखि नेपालको बिजुली बंगलादेश पुर्याइने घोषणा पनि उनले गरे । सुक्खायामको माग सम्बोधन गर्ने लक्ष्यसाथ सरकारले जलाशययुक्त आयोजना निर्माणलाई पनि विशेष प्राथमिकतामा राखेको मन्त्री पुनले बताए ।
निर्माण प्रक्रियामा जाने तयारीमा रहेको १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गरिने घोषणा उनले गरे ।
आयोजना निर्माणका लागि वित्तीय स्रोतको सुनिश्चितताका लागि दुई ढाँचा प्रस्ताव गरिसकिएको उनले बताए ।
जलाशययुक्त आयोजनाको बाँध र विद्युत् गृह छुट्टाछुट्टै निर्माण गर्ने गरी आवश्यक व्यवस्था गरिने बजेटमा उल्लेख छ । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी, ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण सुरु गर्ने व्यवस्था बजेटमा गरिएको पुनले बताए । २ सय ८० मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजनाको समेत निर्माण सुरु गर्ने सरकारले लक्ष्य लिएको बताए ।
सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकको लगानी सुरक्षित गर्ने गरी ७७।५ मेगावाट क्षमताको घुन्सा खोला र ७०।३ मेगावाट क्षमताको सिम्बुआ खोला जलविद्युत् आयोजना निर्माण सुरु गर्ने पनि घोषणा गरेको छ ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत १ सय ६ मेगावाट क्षमताको जगदुल्ला, ९९।९ मेगावाट क्षमताको तामाकोशी पाँचौं, २ सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण सुरु गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिने छ । त्यस्तै १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत अध्ययनसहित इन्जिनियरिङ डिजाइनको काम सुरु गर्ने प्रबन्ध बजेटमा गरिएको छ ।
सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न परम्परागत ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाको उपयोग र प्रवर्द्धनमार्फत विस्थापन गर्दै जाने लक्ष्य राखिएको मन्त्री पुनले बताए ।
निजी क्षेत्रको लगानीमा १ सय मेगावाट क्षमता बराबर सौर्य ऊर्जा प्रणाली जडानका लागि आवश्यक व्यवस्था बजेटले गरेको छ । हरित हाइड्रोजन उत्पादन, भण्डारण र प्रयोग प्रोत्साहन गर्ने सरकारको नीति छ ।
ढल्केबर–इनरुवा प्रसारण लाइन, बाह्रबिसे–खिम्त– लप्सीफेदी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गरिने प्रतिबद्धता मन्त्री पुनले जनाए । सेती करिडोर, भेरी करिडोर र बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने सरकारले लक्ष्य निर्धारण गरेको उनले बताए ।
न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य बजेटले लिएको छ । इनरुवा पूर्णिया, दोदोधारा–बरेली प्रसारण लाइन निर्माणका लागि आवश्यक व्यवस्था गरिएको छ ।