अबको पत्रकारिता: प्रारम्भिक बयान

भवानी बराल
काठमाडौं

भवानी बराल

यो विषय शिर्षकको हल खोज्नु चानचुने कुरा होइन । एउटा बसाइ र एउटा लेखोटले र्याङकाठ्याङ यस्तो हुनुपर्छ भन्ने विषय नै होइन । यद्धपि तत्व बोधका लागि एकाध जिज्ञासा उठाउने प्रयत्नसम्म गरिएको छ । सूचना प्रविधिको अभूतपूर्व विकासले अबको पत्रकारिताको रुपरेखा नै परिवर्तनको किनारामा पुर्याइ दिएको छ ।

परम्परागत ढंगले अबको पत्रकारिताले लक्ष भेदन गर्न सक्तैन । सूचना प्रविधि र पत्रकारिताको गहन सम्बद्धता नै अबको पत्रकारिता हुनेछ । सूचना प्रविधिको विकासले पत्रकारिताको तकनिकी विकासमा महत्वपूर्ण भूमिका खेलेको छ नै । यसका अतिरिक्त सूचना सञ्चार, विषयवस्तुको सञ्चार व्यवस्थापनमा पनि व्यापक फेबदल ल्याउनेछ, ल्याउन थालेको छ । यो तकनिकी विकाससंगै पत्रकारिताको अवधारणा यस्तै हुनुपर्छ भन्ने कुनै ढंगको रुपरेखा आउन सकेको छैन । यसैले अबको पत्रकारिताले वैश्विक विमर्स र बहसको माग गर्दछ ।

प्रविधि युगीन पत्रकारिता:

उच्च प्रविधिको युगमा पत्रकारिता कसरी जोगाउने, कसरी विकसित तुल्याउने या अबको पत्रकारिता कस्तो हुनुपर्छ भन्ने विषय विमर्सको निश्कर्ष अहिलेसम्म  आएको छैन । टुङ्गोमा पुग्न यस्तो पत्रकारिताको व्यापक चिन्तन, बहस केन्द्रित गर्न सक्नु पर्छ । तबमात्र ‘वादे वादे जायते तत्व वोधः’ हुनेछ । यतिखेर त आउने पत्रकारिताको प्रारम्भिक विषय नै केन्द्रित छ । अभ्यासको हैसियतमा पुगे कै छैन । तरैपनि पत्रकारिताका अध्येयताहरुले विभिन्न फोरममा यो विषयको चर्चा प्रारम्भ गर्दै आएका छन ।

गत वर्ष (सन् २०२३) हिमाल मिडिया मेलामा डिजिटल युगमा पत्रकारिता कसरी जोगाउने विषयमा गम्भीर विमर्स भएको थियो । यहि विषयमा ‘प्लाइस मिडिया, सिङ्गापुर’का सह–संस्थापक रिसद पटेलले विषयमाथी गम्भीरतापूर्वक विचार प्रवाह गरेका थिए । पटेलका अनुसार ‘डिजिटल युगमा पत्रकारिताको शक्ति जोगाउन मिडिया सञ्चालनको रणनीति फेर्नु पर्ने’ धारणा थियो । उनले भनेका थिए, ‘मानिसहरुसंग कुरा गर्नु, उनीहरुको समस्या सुन्नु र समाधान गर्ने सामाग्री पस्कनुले पत्रकारितालाई व्यवसायिक रुपमा जोगाउन सक्छ ।’

नेपाली पत्रकारिताका अध्येताहरुले पनि प्रविधि युगीन पत्रकारिता कसरी गर्ने विषयको बहस प्रारम्भ गर्न सुरु गरेका छन् । पत्रकारिताका अध्येता श्रीराम पौडेलले ‘सुविधाजनक र आरामदायी पत्रकारिता’ (गोरखापत्र, २४ वैशाख ०७९) शिर्षकमा लामै बहस छेडेका छन् । प्रविधिको विकाससंगै पत्रकारिता गर्न सुविधाजनक र आरामदायक भएकोले पाठकले नयाँ सूरुचिपूर्ण खुराक नपाएकोले पाठक, श्रोताको आकर्षण घटेको उनले जिकिर गरेका छन् । विषयवस्तु पठनीय र गम्भीर नभएकोले आजको पत्रकारितामा पाठक, श्रोता कमै विचरण गर्न पुगेका छन् ।

प्रविधिको घेराबन्दीमा पत्रकारिता:

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ‘प्रविधिको घेराबन्दीमा पत्रकारिता’ (जर्नालिजम अण्डर डिजिटल सिज) ‘थिम’ (नारा) प्रकाशित गरेको थियो । विश्व भरीको पत्रकारिता प्रविधिको घेराबन्दीमा परिसकेको यो थिमको अन्तर्य हो । यो थिममा गम्भीर बहस आजपर्यन्त हुन सकेको छैन ।

अबको पत्रकारिताको मार्गचित्र पत्रकारितालाई प्रविधिको घेराबन्दीबाट उम्काउने, बचाउने हुनुपर्छ । प्रविधि साधन हो, साध्य होइन भन्ने मान्यतालाई आत्मसाथ गराउन पर्छ । यसका लागि गम्भीर, पठनीय र संग्रहणीय सामाग्री उत्पादन, प्रकाशन–प्रशारणले मात्र अबको पत्रकारिताको विश्वसनीयतालाई पुनरस्थापित गर्न सक्छ  । सिर्जना शक्तिको व्यापक उपयोग गरेर पत्रकारितामा विषयवस्तु प्रस्तुत गर्न सक्नु पर्छ । अन्यथा प्रविधिको घेराबन्दीमा पत्रकारिता पुगिसकेको छ, विष्फोटनको स्थितिमा पुग्यो भने पत्रकारिताको हालत के होला ?

तर युनेस्कोले ठीक एक वर्ष पछाडि सन् २०२३ मा ‘भविष्यको अधिकार निर्माण गर्न’ शिर्षकको अर्को थिम लिएर आएको छ ।

अब सन् २०२४ मे मा कस्तो थिम लएिर आउने हो हेर्न पर्खिन बाँकी नै छ । यसरी प्रतेक वर्ष सूचना प्रविधिमा आएको फेरबदल नयाँ आविश्कारले पत्रकारिताको परिभाषालाई यसको उपयोगिता र कर्मलाई पार्ने प्रभाव मूल्याङ्कन गर्न जरुरी छ ।

पत्रकारितामा सिटिजन र सिभिक:

पत्रकारिता शिक्षामा ‘सिटिजन’ (नागरिक) पत्रकारिता र ‘सिभिक’ (नागरिक) पत्रकारिता शब्दावली प्रयोग हुँदै आएको छ । नेपाली भर्नाकुलर भाषामा दुबै पत्रकारिता शब्द अर्थमा एकै लाग्न सक्छ । तर यी दुई शब्दावलीको व्यापक र भिन्न अर्थ हुन्छ । नागरिकले आफुलाई लागेको सूचना, सन्देश, अभिव्यक्ति आफैले प्रकाशन–प्रशारण गर्नुलाइ सिटिजन (नागरिक) पत्रकारिता भनिन्छ ।

सामाजिक सञ्जाल सिटिजन (नागरिक) पत्रकारिताका साधन हुन । ट्विटर, फेसबुक, टिकटक, युट्युव, वाट्सएप लगायतका सामाजिक सञ्जाल उदाहरण हुन । पत्रकारिताको दक्ष जनशक्तिले गर्ने पत्रकारिता सिभिक (नागरिक) पत्रकारिता हो ।

आम सञ्चारका माध्यम अखबार, रेडियो, टेलिभिजन, अनलाइन पोर्टल यसका माध्यम वा साधन हुन । पहिलो सिटिजन पत्रकारिता स्वेच्छिक र व्यक्तिगत हुन्छ । दोस्रो सिभिक पत्रकारिता स्वेच्छिक र ऐच्छिक हुन सक्तैन । दुवै पत्रकारिता नागरिकसंग सम्बन्धित नै हुन्छ । तर पछिल्लो सिभिक पत्रकारिताले सर्वजन हिताय सोच्दछ । यसर्थ सिभिक पत्रकारिताले अबको पत्रकारिताको प्रस्थान बिन्दू पहिल्याउन सक्नु पर्छ । तर यतिखेर नागरिक पत्रकारिताको माध्यम सामाजिक सञ्जाल पुरै पत्रकारितामा हावी भएको छ । प्रविधिको घेराबन्दीमा पत्रकारिता परेको भनेको यहि हो । यो चुनौतीलाई पार लगाउनु पर्छ । सूचना प्रविधिको तकनिकी उपयोग पत्रकारिता जोगाउन र फस्टाउन गर्नुपर्छ ।

रहलपहल:

सूचना प्रविधिको द्रुत विकासलाई चौथो औधोगिक क्रान्तिको रुपमा पनि लिइन्छ । यो क्रान्ति पछि ब्रम्हाण्डका हरेक क्षेत्र र विधामा प्याराडाइम सिफ्ट (प्रतिमान परिवर्तन) भएको छ । दर्शन, राजनीति, सिद्धान्त, वैचारिक सवालहरु परिमार्जन, परिष्किृत गर्ने बेला भएको छ । राजनीतिक क्षेत्रका वैचारिकीमा आएको संकटका कारण यतिखेर ‘डेमागग’ (लोक रिझ्याँइ) प्रवृत्तिको आयतन बढ्दै गएको छ । हाम्रै देशको राष्ट्रिय राजनीतिमा पनि यस्ता डेमागगहरुको उपस्थिति भैसकेको छ । यसले गम्भीर राजनैतिक वैचारिकीलाई काकतालीमा पारेर परास्त गर्न सक्छ । यसकारण गम्भीर जनमत निर्माण गर्ने हेतु अबको पत्रकारितामा हुनुपर्छ ।

यसर्थ अबको पत्रकारिता कस्तो हुनुपर्छ भन्ने विषय गम्भीर र विहंगम एवम् विराट छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टलीजेन्स, एआइ) का कारण पनि पत्रकारिताको अबको यात्रा नयाँ तर चुनौतिपूर्ण यात्रा हो ।

पत्रकारिताको रणनीति, कार्यनीति निर्माण आजको अत्यावश्यक विमर्स हो । अबको पत्रकारिता गम्भीर, पठनीय, सूरुचीपूर्ण र संग्रहणीय सामाग्री उत्पादन गर्ने हदको हुनुपर्छ । जनरुची, सार्वजनिक सरोकार, विश्वासयोग्य विषय, दिशा निर्देश र तदनुकुल जनमत निर्माण गर्न सक्षम हुनुपर्छ । पत्रकारिताको कार्यसूची, मार्गचित्र के हुने खुट्याउन सक्नु पर्छ । लक्षित समूह, पाठक, श्रोता, दर्शकको विचारको बाहक हुनु पर्छ ।

लेकतन्त्रको रक्षा अर्ध–मुर्छित पत्रकारिताले गर्न सक्तैन । अहिले यस्तै भैरहेको छ । डेमागग प्रवृत्तिले लोकतन्त्रको उछित्तो काड्न सफल हुँदै गएको यसै कारणले हो । विचार अभिव्यक्तिको स्वतन्त्रता, लोकतन्त्रको पहरेदार पत्रकारिताको मार्ग चित्र कोर्न सक्नु नै अबको पत्रकारिताको मूल बाटो हो ।

लेखक वरिष्ठ पत्रकार, विश्लेषक एवम्  प्रेस काउन्सिल नेपालकाे पुर्व अध्यक्ष हुनुहुन्छ – सं)