सुशासनको वर्ष बन्याे २०८०, समृद्धिकाे बर्ष बनाेस् २०८१

मूलखबर संवाददाता
काठमाडौं, १बैसाख २०८१

२०८० साल हामीबाट विदा भएर गएको छ । नेपाली संवत् अनुसार २०८० विदा भएर २०८१ ले प्रवेश पाइसकेकाे छ । २०८० साल नेपाली ईतिहासमा एक अविष्मरणिय वर्ष बन्न पुगेकाे छ ।

२०८० साल वास्तवमा संविधान कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, नागरिकलाई अधिकारसम्पन्न बनाउने र सुशासनका पक्षमा सफल र सार्थक प्रयासकाे वर्षकाे रूपमा पहिचान छाडेर गएकाे छ ।  सरकारी निकायका काम कारबाहीलाई व्यवस्थित गरी नागरिकलाई सेवा दिने कार्यलाई सहज बनाउने पक्षमा सरकारले केही महत्वपूर्ण थालनी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा शुरू भएको याे सुशासनको अभियान प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने र निरन्तरता दिएर सफलतामा पर्याउनुपर्ने दायित्व नयाँ वर्ष २०८१ लाई आएको छ ।

सरकारको नीतिले नागरिकमा राज्यप्रतिको विश्वास बढाएको छ । सुशासन नहुँदा देखिएको बेथितिविरुद्ध राज्यले कठोर कदम चालेपछि नागरिकमा आशा पलाएकाे छ । तर २०८० सालमै संविधानविरोधी, राजतन्त्रको प्रेतात्मा ब्युँताउने र अराजकताको पक्षपोषण गर्ने समूहका क्रियाकलाप पनि देखिए । यद्यपि ती क्रियाकलापहरू निस्तेज भएका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सुशासनका पक्षमा दृढ भएर अगाडि बढ्नु र वर्तमान उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भ्रष्टाचारका महत्वपूर्ण मुद्दामा फाइल खोल्नुले सरकार सुशासनका पक्षमा छ भन्ने सन्देश जनतामाझ पुग्यो ।

राजनीतिक दलका नेता र राजनीतिक विश्लेषकले पनि सुशासनका पक्षमा सरकारले अगाडि बढाएको त्यो कदमलाई निरन्तरता दिँदै राज्यको सेवा प्रणाली व्यवस्थित गर्न, नागरिकका चाहना पूरा गर्न, संविधानको प्रभावकारी कार्यान्वयन, सङ्घीयताको आभास नागरिकलाई हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले २०८१ सालमा राजनीतिक दलको सबैभन्दा महत्वपूर्ण कार्यभार राष्ट्रका समस्या समाधान गर्न सहकार्य रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. लोकराज बराल, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीमगरले २०८० साललाई राजनीतिक रूपान्तरणको नवीन कार्यदिशा र सुशासनका पक्षमा महत्वपूर्ण काम भएको प्रस्ट पार्नुभयो ।

संविधान निर्माणपछि सम्पन्न दोस्रो आवधिक निर्वाचन २०७९ पछि २०८० लाई निकै महत्वपूर्ण उपलब्धि हुने वर्षका रूपमा हेरिएको थियो । संविधान कार्यान्वयन र कानुन निर्माणका सन्दर्भमा अधिकतम प्रयास भए पनि जनताबिच ‘सुनिने र देखिने’ गरी सरकारका कामकारबाहीको सञ्चार हुन नसकेकाे गुनासाे आइरहेको छ ।  २०८१ सालले जनताका ती सकारात्मक र रचनात्मक आलोचना र गुनासाेकाे सम्वाेधन गर्दै अर्थतन्त्रमा देखिएकाे समस्याालाई हल गर्दै पछिल्लो अवधिमा देखिएकाे आशालाई बजेटमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धिकाे मार्गमा लैजान सकाेस् । युवाहरूमा सकारात्मक साेँच, राष्ट्रप्रेम, सामाजिक मर्यादा र आचरणयुक्त बनाई समाज रूपान्तरणमा याेगदान पुर्याउने वातावरण निर्माण हाेस् । नयाँ वर्ष २०८१ काे हार्दिक शुभकामना !!