
अन्ततः उज्यालो नेपालका एक अभियन्ता कुलमानलाई हटायो सरकारले
अन्ततः उज्यालो नेपालका एक अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाएर सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
लामो समयदेखि केपी ओली सरकारले उनलाई हटाउन अनेक जुक्ति रचिरहेको थियो । उर्जा मन्त्रीले पटक पटक स्पष्टिकरण सोधेर अन्तिममा मन्त्रीपरिषद बैठकबाटै निर्णय गराएर स्पष्टिकरण सोधेका थिए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच विगत ९ महिनादेखि विवाद थियो । सरकारले घिसिङलाई उनको कार्यसम्पादन, आन्तरिक तथा बाह्य भ्रमणको स्वीकृति, भारतमा विद्युत् आदानप्रदानको सहमति लगायतका विषयमा स्पष्टीकरण सोधेको थियो । घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले पदमुक्त गरेको हो ।
