चुनावको मुखमा भारतीय प्रधानमन्त्री मोदीले फालेको भुटान पासा

मूलखबर संवाददाता
काठमाडौं

भुटान र भारतले अन्तरिक्ष सहकार्य गर्ने भएका छन्।

गत शुक्रबार भुटान भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानी समकक्षी छिरिङ तोग्बेले यस्तो सम्झौता गरेका हुन् । तोग्बेले भुटान र भारतको ९ वटा सम्झौता भएको सार्वजनिक गरेका छन् । जसमा एक सम्झौता अन्तरिक्ष सहकार्य छ ।

अन्तरिक्ष क्षेत्रमा जोइन्ट प्लान अफ एक्सन गरिने र त्यसको लागि तालिम र आदानप्रदान कार्यक्रम हुने सम्झौता भएको भुटानी अखबार दि भुटनिजले उल्लेख गरेको छ । अन्तरिक्ष बाहेक भुटान र भारतले उर्जा, खेलकुद, खाद्य, औषधी लगायत क्षेत्रमा पनि सम्झौता गरेको छ ।

मोदी शुक्रबार दुई दिने राजकीय भ्रमणमा गएका थिए। भारतमा लोकसभा चुनाव हुनु केही साताअघि गरिएको यो यात्रा दुई देशबीचको ‘नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा’ र ‘छिमेकी पहिलो’ नीतिसँग मिल्दोजुल्दो देखिन्छ ।

भारतको वैदेशिक मामिला मन्त्रालयले मन्त्रालयले मोदीको भ्रमणअघि निकालेको विज्ञप्तिले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा लैजाने दाबी गरेको छ ।

भारतमा अप्रिलमा शुरू हुन लागेको करिब दुई महिना लामो आम चुनावअघि प्रधानमन्त्री मोदीको यो सम्भवतः अन्तिम विदेश भ्रमण हो । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको भर्खरैको पाँचदिने भारत भ्रमणलगत्तै मोदीले भुटानको संक्षिप्त भ्रमण गरेका हुन् ।

भारतको वैदेशिक मामिला मन्त्रालयका अनुसार, भारत र भुटानले ‘पारस्परिक विश्वास, समझदारी र सद्भावना’ मा आधारित ‘अद्वितीय र स्थायी’ साझेदारी गरिरहेका छन् ।

यो ‘विशेष सम्बन्ध’ सन् १९४९ को भारत-भुटान मैत्री सन्धिमै उल्लेख गरिएको छ, जुन जुन पछि २००७ मा अद्यावधिक गरिएको थियो । दुई देशबीच सन् १९६८ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

भारत दशकौंदेखि भुटानको भरपर्दो मित्र हो । नयाँ दिल्ली भुटानको प्रमुख विकास साझेदार बनेको छ । इकोनोमिक टाइम्सका अनुसार भारतले भुटानलाई आफ्नो सामाजिक-आर्थिक विकासको लागि सन् १९६० को दशकको सुरुदेखि नै आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

भुटानका प्रधानमन्त्री तोब्गेको भर्खरै सम्पन्न भएको भारत भ्रमणका क्रममा मोदीले भुटानको १३औं पञ्चवर्षीय योजनाका लागि नयाँ दिल्लीको समर्थन रहने वाचा गरेका थिए, जसमा आर्थिक प्रोत्साहन कार्यक्रमसमेत उल्लेख छ ।

भारत र भुटान दुवैले जलविद्युत, पूर्वाधार, स्वास्थ्य, शिक्षा, डिजिटल कनेक्टिभिटी र अन्तरिक्ष जस्ता विभिन्न क्षेत्रमा एकसाथ सहयोग आदानप्रदान गर्दै आएका छन् ।

भारतमा घोषित निर्वाचनको नमुना आचारसंहिता लागू भएको घोषणा भएपछि प्रधानमन्त्री मोदीले छिमेकी मुलुकको भ्रमण गरेका हुन् ।

नमुना संहिता अनुसार निर्वाचनको मिति घोषणा भएपछि कुनै पनि प्रमुख नीतिगत निर्णय हुन सक्दैन । तसर्थ, मोदीको भुटान भ्रमणका क्रममा कुनै प्रमुख सम्झौता वा घोषणा हुने अपेक्षा गरिएको छैन ।

चुनावको मिति घोषणा भइसकेपछि भारतीय प्रधानमन्त्रीले विदेश भ्रमण गरेको निकै दुर्लभ इतिहास छ । ‘मोदीको भुटान भ्रमणले थिम्पुसँगको सम्बन्धलाई भारतले दिएको महत्त्वलाई सङ्केत गर्ने हो,’ हिन्दुस्तान टाइम्सले गरेको विश्लेष्णमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उनका बुबा भुटानका चौथो राजा जिग्मे सिङ्ये वाङ्चुकलाई भेट्ने कार्यक्रम छ । उनले भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि वार्ता गर्नेछन् ।

मोदीले आफ्नो भ्रमणको क्रममा भुटानको महत्वाकांक्षी ‘गेलेफु माइन्डफुलनेस सिटी’ परियोजनाको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

भुटानी राजाले गत डिसेम्बरमा भुटानको असमसँगको दक्षिणी सीमामा रहेको गेलेफुमा एउटा प्रमुख आर्थिक हब विकास गर्ने योजना सुरु गरेका थिए । ‘थिम्पुले गेलेफुसँग जोड्ने रेल र सडक मार्ग र अन्तर्राष्ट्रिय उडान समायोजन गर्न गेलेफु एयरपोर्टको स्तरोन्नति गर्न भारतको सहयोग खोजिरहेको छ,’ भारतीय मिडिया ‘द हिन्दू’ले उल्लेख गरेको छ ।

भारत र भुटानले असमको गेलेफु र कोक्राझारबीच ५८ किलोमिटर रेलमार्ग निर्माण गर्ने योजना बनाएका छन् । असम र पश्चिम बंगाल हुँदै गेलेफुबाट प्रस्तावित गरिएको रुटले भुटानलाई समयसँगै म्यानमार, थाइल्याण्ड, कम्बोडिया र सिंगापुरसम्म पहुँच दिने बताइएको छ ।

मोदीले भुटानका राजा र नवनिर्वाचित प्रधानमन्त्रीलाई भेट्दा सीमापार रेल लिंकसहित द्विपक्षीय कनेक्टिभिटी परियोजनामा सहमत हुने सम्भावना छ । ‘मोदीले गेलेफुमा अन्तर्राष्ट्रिय विमानस्थलको लागि भुटानको योजनालाई समर्थन गर्ने वाचा गर्न सक्छन्,’ भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ ।

‘गेलेफु स्मार्टसिटी परियोजना ’ महामारीबाट प्रभावित भुटानी अर्थतन्त्रका लागि महत्वपूर्ण छ । गत नोभेम्बरमा भुटानी राजाको भारत भ्रमणका क्रममा यो पहललाई प्रमुख प्राथमिकतामा राखिएको थियो ।

सन् २०१४ मा प्रधानमन्त्री भएपछि मोदी पहिलो विदेश भ्रमणको रुपमा भुटान पुगेका थिए । उनको त्यही बेलाबाट नेबरहुड फर्स्ट अथवा छिमेक पहिलो नीति सार्वजनिक भएको थियो । तोग्बेले पनि गत जनवरीमा सत्तामा आएपछिको भारत पुगेर आफ्नो विदेश भ्रमणको खाता खोलेका थिए ।

भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, उद्योग, वाणिज्य तथा रोजगारमन्त्री नाम्ग्याल दोर्जीलगायतका अधिकारीसँग तोग्बे भारत भ्रमणमा पुगेको भुटानी अखबार दि भुटनिजले उल्लेख गरेको छ । आर्थिक सुधार र रोजगारको नारा बोकेर प्रधानमन्त्री भएका उनले त्यही लाइनका मन्त्री तथा अधिकारीहरु लिएर भारत भ्रमण गरेका थिए ।