प्रचण्ड र अनन्तको समान सन्देशः उद्यमी आतंकित नहुनुस्, सरकार साथमा छ

मूलखबर संवाददाता
काठमाडौं

सरकारले व्यवसायीहरूलाई नआत्तिन आग्रह गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार व्यवसायीहरूको साथमा रहेको सन्देश दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीलाई त्रसित नभइकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई शनिबार पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए ।

‘देशमा लगानीको वातावरण बनेको छ । व्यापार व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटो छिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।’

त्यसैगरी अर्थमन्त्री अनन्तले पनि मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कले शनिबार आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्मा छलफल चलिरहेको बताउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरु परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने बताए ।

“सरकारका नीतिहरु आधारभूत रुपले परिवर्तन हुँदैनन् । संविधानअनुसारका विभिन्न कानुन बनेका छन् र त्यसैका आधारमा हाम्रा ऐन, नियम कानुन बनेका छन् । तिनैका आधारमा हाम्रा सामाजिक आर्थिक नीतिहरु अघि बढ्छन्”, अर्थमन्त्री पुनले भने, “तर सरकार परिवर्तन हुँदा व्यक्तिका काम गर्ने शैली परिवर्तन हुन सक्छन् । फरक शैलीको काम गर्ने तरिकाले नतिजामा पनि फरकपन आउँछ ।”

अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायत कारण चौतर्फी रुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे ।

“अहिले चारैतिर व्यवस्था बदलियो तर नागरिकको अवस्था फेरिएन भनेर गुनासो आइरहेका छन् । यो गुनासो र युवाको आकाङ्क्षालाई सम्बोधन गर्दै यो देशमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछु”, अर्थमन्त्रीले भने, “आफ्नै माटोमा काम गर्छु भन्नेलाई सरकारले सहयोग गर्छ । कहाँनेर सहयोग गर्न सकिन्छ भनेर हामी समीक्षा गछौँ । जनताको अवस्था किन परिवर्तन भएन भनेर समीक्षा गर्न हामी तयार हुनुपर्छ । सेवा प्रवाहमा हामी कहाँनेर चुक्यौँ भनेर सरकारले समीक्षा गर्छ ।”

बैङ्कसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे । धार्मिक, सामाजिक अतिवाद र समाजलाई विखण्डन गर्न खोज्नेलाई सरकारले कारबाही गर्ने अर्थमन्त्रीले बताए ।