
कांग्रेसले गृहमन्त्री लामिछानेकाे राजिनामा माग्दै संसद अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवी लामिछानेकाे राजिनामा माग्दै संसद अवरुद्ध गरेको छ ।
कांग्रेसले लामिछानेमाथि सहकारी ठगीको आराेप लगाउँदै राजीनामा दिन माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक स्थगित भएको हाे । यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो ।
दोस्रो पटक बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।
सभामुखले सो अनुमति दिने वित्तिकै कांग्रेसका सांसदहरुले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्नेछ ।
