कार्यदल बैठकः कस्तो बन्ला नयाँ गठबन्धनको न्यूनतम साझा कार्यक्रम
सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम तय गर्न बनेको कार्यदलको बैठक आज बस्ने भएको छ । बिहीबार अर्थमन्त्रालयमा बसेको बैठक अनौपचारिक रूपमा छलफल गरी आज पुनः बस्ने गरी सकिएको थियो ।
अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि कार्यदलको बैठक अनौपचारिक रूपमा मात्रै बसेर सरेको हो ।
नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।
के छन् प्राथमिकता
साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि सत्तारुढ दलबीच सहमति छ ।
एमाले महासचिव शंकर पोखरेलले सुशासन र डेलिभरीलाई प्रभावकारी ढंगले सम्बोधन गर्ने र नयाँ आशा जगाउने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको बताए ।
एकीकृत समाजवादी, लोसपा लगायतका दलहरुलाई समेत सरकारमा समेट्न प्रधानमन्त्रीले पहल थालेको भन्दै उनले भने, ‘तर सुशासन र डेलिभरीको पक्षमा सक्षम टिम बनोस् भन्ने चाहेका छौं ।’
रास्वापा उपसभापति स्वर्णीम वाग्लेले प्रधानमन्त्रीले नयाँ शिराबाट अगाडि बढ्न खोजेकाले निश्चित एजेण्डा बोकेर यो यो काम गर्ने भनेर सरकारमा सामेल भएको बताए ।
संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने र पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमति छ।