आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर थुनिन्न : अर्थमन्त्री पुन

मूलखबर संवाददाता
काठमाडौं, २९ फागुन ।

अर्थमन्त्री वर्षमान पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर थुन्ने काम सरकारले नगर्ने स्पष्ट पार्नुभएको छ ।

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी-व्यवसायीलाई आग्रह गर्नुभयो ।
‘आरोप लाग्दैमा कसैलाई पनि दोषी करार गर्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘गम्भीर अपराध गरेका बाहेकलाई सरकारले अनावश्यक हस्तक्षेप गर्दैन।’

यद्यपि पुनले राजश्व छलीमा भने सरकारले कडाई गर्ने बताउनुभयो । ‘अकस्मात होइन जानकारी दिएरै राजश्व छलीमा कडाई गरिन्छ,’ उहाँले भन्नुभयो, ‘गैरकानूनी कामलाई राज्यले नियन्त्रण गर्दा व्यवसायीको पनि साथ चाहियो।’

उहाँले आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट बनाउनुअघि व्यवसायीका जायज चासोबारे मन्त्रालयले छलफल गर्ने पनि उल्लेख गर्नुभयो। कुनै पनि वस्तुमा कर लगाउँदा सरकारले त्यसको औचित्य पुष्टि हुने गरी मात्र काम गर्ने उनको स्पष्टोक्ति थियो। कुनै एक राजनीतिज्ञ, जाति, समुदाय, क्षेत्र, पेशा र व्यवसायमा संग्न केही व्यक्तिले गल्ती गर्दैमा सबैलाई आरोपित गर्ने घातक प्रवृत्ति समाजमा व्याप्त बन्न खोजेको भन्दै चिन्ता जनाउनुभयो।
मन्त्री पुनले प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र उपप्रधन तथा गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यवसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी पनि दिनुभयो।
आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यवसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन व्यवसायीलाई उहाँको आग्रह थियो।

‘प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरूले तर्साउनुभएन भन्नुभएको छ,’ मन्त्री पुनले भन्नुभयो, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौं कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन।’