कूटनीतिक स्वभावका अनन्त जसले कोरे सजातीय राजनीतिक कोर्सको रूपरेखा

मूलखबर संवाददाता
काठमाडौं, २२ फागुन

माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुन त्यस्ता नेता हुन् जोसँग जनयुद्धमा युद्धका मोर्चाको नेतृत्व गरेको देखि राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण मोर्चा सम्हालेको अनुभव छ। कूटनीतिक स्वभावका धनी वर्षमान बोली हाल्दैनन् बोलेको कुरा गरेरै छाड्छन् ।

माओवादी केन्द्रले चुनावी तालमेल गर्दा होस् वा पार्टी एकताको निर्णय गर्दा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकबाट सघाउनेमध्ये वर्षमान पुन नै छन्।

वर्षमान पुनको राजनीतिक ग्राफ निरन्तर उकालोमा छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट विजयी भएका थिए। २०७४ मंसिरको आम निर्वाचनमा आफ्नो आधार इलाका रोल्पाबाट कांग्रेस उमेदवारलाई भारी मतान्तरले पराजित गर्दै उनी सांसद भएका पुन २०७९ को चुनावमा फराकिलो मतान्तरसहित निर्वाचित भएर हाल रोल्पाली जनताको जनप्रतिनिधिका रूपमा सक्रिय छन्।

वर्षमानको राजनीतिक चातुर्य र व्यवस्थापन आश्चर्यलाग्दो भएको तत्कालीन नेकपा तथा अहिले एमालेका एक नेता बताउँछन्।

‘राजनीतिक चातुर्य, अन्तरविरोधलाई सजिलै हल गर्न सक्ने र विरोधीलाई पनि मिलाउन सक्ने उहाँमा अचम्मको क्षमता छ, रोल्पामा जन्मिएका नेतामध्ये राजनीतिक रुपमा त्यति सार्प कमै छन्,’ ती नेताले भने। त्यही क्षमताले नै वर्षमान पार्टीभित्र लगातार नेतृत्वको सिढीँ उक्लिरहेको विश्लेषण हुनथालेको छ।

पछिल्लो राजनीतिक कोर्स परिवर्तनमा पनि वर्षमानले नै निर्णायक भूमिका खेलेका छन्। अर्को शब्दमा भन्नुपर्दा वर्षमानले देशको राजनीतिलाई सजातीय दिशातर्फ उन्मुख गराएका छन्।

गत असोजमै वर्षमान पुनले माओवादी र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका थिए। जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरुको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौं राजनीतिक एजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि वेला मिल्न सक्ने बताएपछि तरंग आएको थियो।

‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । फेरि पनि कम्युनिष्ट पार्टीहरु मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, उनले भनेका थिए, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस् । हामी त्यसलाई अस्वीकार गर्दछौं ।’

त्यसैगरी माघ २४ गते नै वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका थिए। प्रतिनिधिसभा सांसद पुनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताएका थिए । उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका थिए।

कोसी प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाटै धोका भएपछि प्रधानमन्त्री प्रचण्डले विकल्पबारे छलफल गर्न वर्षमानलाई जिम्मा दिएका थिए। पुनले राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् ।

सोमबार साँझ दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरूबीच सहमति भएको बताए।

यो पनि पढ्नुस्-

माओवादीलाई उपयोग गर्ने कोसिस गर्दा चिप्लिएको कांग्रेस, यसकारण बन्यो नयाँ गठबन्धन