बालाई बाटुलीको प्रश्न : `विभेद कहाँबाट शुरु हुन्छ बा ?´

अनिता गुरूङ

विभेद कहाँबाट शुरु हुन्छ बा ?
घरबाटै कि घर बाहिरबाट ?

मलाई झलझली सम्झना छ
दाइले आफूले खाएको थाल पनि नमाझी
स्कुल हिंडेको
म भने आँगन बढारेर,
आमालाई पकाउन सघाएर,
दाइ र मेरो भाँडा माझेर
हतार हतार स्कुल पुगेको
घरबाटै शुरु भो त बा विभेद?

सम्झना अझै ताजै छ
छिमेकी साथीहरु रीता, छिरिङ, श्यामसँग
मोजामा थोत्रा कपडा कोचेर फुटबल खेलेको
तर
स्कुलमा मलाई सरले फुटबल खेल्न नदिएको
स्कुलमा खेलमा पनि शुरु भो कि क्या हो बा विभेद?

मेरा कानमा ती आवाजहरु अझै गुञ्जन्छन्
जब म किशोर अवस्थामा पाइला टेकें
हजुरआमा, आमा, दिदी, काकी, माईजू सबैले
एउटै स्वरमा सम्झाएको
बाटुली अब तिमी ठूली भयौ
छोरी मान्छेले ठूलो स्वरमा बोल्न र हाँस्न हुन्न
बिस्तारै बिरालाको चालमा हिंड्नु पर्छ
आफन्तबाटै पनि शुरु भो त बा विभेद ?

मेरो मनमै कुँडिएर बसेको कुरा
जब मेरो बिहेको कुरो चल्यो
केटा पक्षकाहरु
मेरो जीउडाल मिलेको छ कि छैन ?
सुशील र व्यबहारिक छ कि छैन ?
वरपरकालाई बुझ्न पठाए,
पानी खानु मूलको छोरी ल्याउनु कुलको भन्दै
तिम्रो र आमाको कुल केलाए
तर
केटा कस्तो छ, उसको आचरण कस्तो छ ?
बिग्रिएको छोरो सुधार्न पो बिहे आँटेका हुन् कि ?
यी सबै बुझ्न र केटाको कुल केलाउन
तिमी र मेरा आफन्तहरु जानु पर्दैनथ्यो त बा ?
हुनेवाला श्रीमानको परिवारले पनि शुरु गरे
कि क्या हो बा विभेद ?

उनको घरमा सबै स्वस्थ छन्,
म भन्दा बलिया छन्
तर
आफुले खाएको थाल माझ्दैनन्,
आफ्नो कपडा पनि धुँदैनन्
सबै मेरै काम हो भन्छन्
बिहान सबेरै उठेर घरको सबै काम सक्दा
राति अबेर हुन्छ, जीउ फतक्कै गल्छ
अनि
बिहान ९ बजे कार्यालय गएर साँझ ५ बजे फर्कने
मेरा श्रीमानलाई मेरो बारे सोधे भने
अनुहार बिगार्दै भन्छन् केही काम गर्दिन घरमै बस्छे
मेरो कामलाई त कामै होइन भन्छन् त बा ?
दिनको कम्तिमा पनि १६ घण्टा गर्नुपर्ने
मेरो कामको सम्मान खै त बा ?

उनको घरमा सबैले खाए पछि मात्रै
मैले खानु पर्ने नियम छ
तर मेरो घरमा उनी आउँदा त
थरी थरीका परिकार बनाएर
सबैभन्दा पहिला उनलाई नै टकार्छौ
तिमीले पनि त गर्यौ नि बा विभेद ?

मलाई पटक्कै चित्त नबुझेको कुरा नि बा
रक्सी र चुरोटको नराम्रो लत बसेको
साँइला दाइ कलेजोको क्यान्सर भएर पोहोर बिते
साँइली भाउजूलाई लोग्ने टोकुवाको आरोप लगाए
सेतो पहिरन लगाउन लगाए भाउजूको रुपै अर्को भो
शुभकार्यमा देखापर्न पनि हुन्न
साइत पर्दैन भनेर सामेल हुन बन्देज लगाइयो
तर अचम्म
केही महिना अघि श्रीमती बितेका
माइला दाइलाई त कसैले पनि
श्रीमती टोकुवा भनेनन्
सेतो पहिरनको त के कुरा ?
पल्ला घरे कान्छाको बिहेको जन्तीमा
माइला दाइ ठाँटिएर गए त बा ?
त्यति मात्र हो र
माइलो एक्लो भो भनेर
घरका सदस्यहरु उनको दोस्रो बिहेको तरखरमा छन्
परिवारको सदस्य गुमाउँदाको पीडामा पनि विभेद बा ?

माया र हरि दुबै माली हुन्
र उनीहरु समान परिश्रम गर्छन्
तर
हरिको पारिश्रमिक आठ सय र मायाको पाँच सय छ
श्रम र पसिनामा पनि विभेद किन बा ?

म र म जस्तै थुप्रै बाटुलीहरुका अनगिन्ती यस्ता प्रश्नहरु छन्
यी प्रश्नहरुको न्यायपूर्ण जवाफ खोज्न
हजुरबा, जेठाबा, बा, काका, मामा, दाइ, भाइसँग
हजुरआमा, जेठीआमा, काकी, आमा, माइजू, भाउजू, बुहारी र म
सबै एकठाम बसम् र
विभेदको गाँठी कारण खोजौं
अनि
जहाँ जहाँ लैंगिकताको आधारमा विभेद भएका छन्
त्यही ठाउँ को ठाउँ अन्त्य गरौं
हाम्रै घरबाट यसको शुरुवात गरौं हुन्न र बा ?

अनिता गुरुङ