कांग्रेस महासमिति बैठक आजदेखि, गगनको गठबन्धन विरोधी प्रस्तावले देउवालाई तनाव

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसको महासमिति बैठक आज ७ फागुनदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । १४ औं महाधिवेशनमा नेतृत्व मात्रै चयन गरेको कांग्रेसले यसपटकको महासमितिलाई नीति अधिवेशनको रूपमा लिएको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकको सबै तयारी अन्तिम अवस्थामा पुगेको छ ।

‘कांग्रेसको यो महासमिति बैठकको मुख्य अभिभारा नै नीति निर्माण गर्नु हो । नीतिमा प्रस्टता र वर्तमान चुनौतीलाई चिरेर कांग्रेसले जनताको अवस्था परिवर्तन गर्नेमा थप विश्वास दिलाउँछ । केन्द्रीय समितिबाट अनुमोदन भएर आएका ५ प्रतिवेदनमाथि महासमितिमा छलफल हुन्छ,’ विश्वकर्माले भने, ‘बैठकको तयारीका सबै काम अन्तिम चरणमा पुगेका छन् । तराई पहाड, हिमाल सबैको प्रतिनिधित्व हुने गरी समूह विभाजन गरेका छौं ।’

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले मूल नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।

पार्टी प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन महासमितिमा पेश गर्ने जानकारी विश्वकर्माले दिए ।

६० प्रतिशत सदस्यले बोल्न पाउने उनले जानकारी दिए । चारवटा हलमा छुट्टाछुट्टै छलफल गर्दा सदस्यले सहजै बोल्न पाउने विश्वकर्माको दाबी छ ।

गगनको प्रस्तावले देउवालाई तनाव

सभापति शेरबहादुर देउवाले महामन्त्रीको प्रतिवेदन सच्याउन दबाब बढाएका छन् । महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा चुनावी गठबन्धनका कारण पार्टीले जनमत गुमाएको उल्लेख छ । अबदेखि चुनावी गठबन्धन नगर्ने भन्दै उनले गरेको घोषणात्मक प्रावधान हटाउन देउवाले तीन दिनदेखि दबाब जारी राखेका छन् ।

आज सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न तयार प्रतिवेदन सच्याउन देउवाले दबाब दिएका हुन् । देउवाको दबाबले प्रतिवेदन छाप्न समेत नपाएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

नले प्रतिवेदनका कारण अरू दलहरूले विश्वास गुमाए कांग्रेसका निमित अप्ठ्यारो अवस्था आउने बताएका थिए । महामन्त्री थापाले भने आफूले निर्वाचनमा हुने गठबन्धनका विषयमा मात्र विमति जनाएको सुनाए । निर्वाचनपछिको अवस्थामा गठबन्धन गर्ने विषयमा असहमति नराखेको उनले बताएका थिए ।

कांग्रेसका जिल्ला र गाउँ तहका नेता–कार्यकर्ताको सुझावका आधारमा आफूले यस्तो प्रस्ताव गरेको भन्दै उनले सच्याउन पनि नसक्ने जवाफ दिएको स्रोतको भनाइ छ ।

हिन्दूराष्ट्र छैन एजेन्डामा

नेपाली कांग्रेसले हिन्दू राष्ट्रको माग गर्ने अधिकार नेताहरूलाई भए पनि महासमितिमा यो विषय एजेन्डामा नपरेको जनाएको छ ।

‘हाम्रा कतिपय साथीहरूले हिन्दू राज्य चाहन्छौं भन्नुभएको छ । प्रस्ताव बनोस् भन्नुभएको छ । तर, कांग्रेसको प्रस्ताव बनेन । केन्द्रीय समिति र महासमितिमा असहज हुने गरी यो विषय अघि बढेको छैन,’ विश्वकर्माले भने, ‘आधिकारिक रूपमा छलफल भएर निर्णय गरेको विषय मान्यताप्राप्त डकुमेन्ट हो । अहिले हामी कुनै पनि धार्मिक राज्यको पक्षमा जाँदैनौं । तर कसैले विचार व्यक्त गर्न सक्छन् ।’

सभापतिले धर्मनिरपेक्षताको विषयमा छलफल हुन सक्छ भने पनि छलफल गराउन नचाहेको उनले बताए । ‘सभापतिले छलफल हुनसक्छ भन्नुभएको थियो । तर, यसको आधिकारिता भने पार्टीको प्रस्ताव नबनेपछि प्रस्ट भइसक्यो,’ उनले भने, ‘सभापतिले छलफल गर्न चाहनुभएको भए धर्मको विषय प्रस्तावको रूपमै आउँथ्यो । तर, सभापतिले चाहनुभएन ।’

कांग्रेसले एकल धर्म, एकल वंश, एकल जातीय र एक दलीय शासन नचाहेको उनले बताए ।

तर, गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा २२ केन्द्रीय सदस्यले पूरक प्रस्ताव पेश गर्दै सनातन हिन्दूराष्ट्रको पक्षमा उभिने गरी प्रस्ताव बनाउन पार्टीको ध्यानाकर्षण गराएका थिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शंकर भण्डारीसहितका नेताले हिन्दू राष्ट्रका लागि निरन्तर महाअभियान नै अगाडि बढाउने भन्दै घोषणापत्र जारी गरेका छन् ।

महासमितिमा देशभरबाट २१०५ हाराहारी सदस्य सहभागी हुनेछन्, जसमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १७८०, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ शुभेच्छुक संस्थाबाट ६९, जिल्ला सभापति ४६ गरी २ हजार बढी सहभागी हुने विश्वकर्माले बताए ।