अमेरिकाको कान्छो पुस्ताले आफ्नै देशलाई प्रश्न गर्छ

मूलखबर संवाददाता
काठमाडौं

एडवार्ड लुस

अमेरिकी लोकतन्त्रको अप्ठेरो मापन गर्ने एउटा तरिका छ। अमेरिकामा दुई पार्टीको पकड छ। ती पार्टीका उम्मेदवारलाई आगामी राष्ट्रपतीय निर्वाचनमा चुनौती दिन लामबद्ध अन्य उम्मेदवारहरुको उमेर पनि लगभग उत्तिकै छ।

जो बाइडेन ८१ वर्ष पुगे। डोनाल्ड ट्रम्प जुन महिनामा ७८ लाग्छन्। तिनका सम्भावित प्रतिस्पर्धी सबै ७० वा त्यसभन्दा माथि छन्। रोबर्ट एफ केनेडी जुनियर ७०, जो मान्चिन ७६, जिल स्टाइन ७३, म्यारिआन विलियमसन ७१, कोर्नेल वेस्ट ७० पुगे। यी सबै स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।


यी पाका मान्छेहरु भनिरहेका छन्– पुराना तरिकाले अमेरिकालाई असफल तुल्यादिइयो। तपाईंहरुले अब यी वैकल्पिक पुराना तरिकामाथि पनि विचार गरिदिनुप¥यो।

अथवा, अमेरिकी संसदलाई नै हेरौँ। अमेरिकी सिनेटको मध्यस्थ उमेर ६५ छ। जुन उमेरमा अमेरिकी पाइलटहरुले अवकाश लिनै पर्छ। सिनेटमा बहुमत पक्षका नेता चक सुमर ७३ वर्षका छन्। अल्पसंख्यकतर्फका नेता मिच म्याकोनेल ८१ पुगिसके। म्याकोनेलका सबैभन्दा पाका सहकर्मी चक ग्रास्ली ९० का छन्। जसले २०२८ को चुनावमा पुनः लड्न नाम लेखाएका छन्। यसको अर्थ १०१ वर्ष पुगुन्जेल सिनेटमा रहने बाटो उनले खुला राखेका छन्।

रिपब्लिकन पार्टीका ७६ वर्षीय मिट रोम्नीले आफ्नो करिअरको फल्दोफुल्दो समयमा अवकाश लिने निर्णय गरे। यसबाट मानिसहरु अझै चकित छन्। सिनेटमा अमेरिकी वामपन्थका अगुवा हुन् बर्नी स्यान्डर्स। उनी ८२ पुगे। उनका पूर्वप्रतिस्पर्धी र कहिलेकाहीँकी सहयोगी एलिजावेथ वारेन ७४ वर्षकी छिन्। बाइडेन कसरी फरक भए?

संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको मध्यस्थ उमेर भने ५८ छ। तर, यो पनि अमेरिकी जनसंख्याको मध्यस्थ उमेरभन्दा धेरै बढी हो। अमेरिकी संसदका ७ प्रतिशत सदस्य मात्र ४० वर्षभन्दा कम उमेरका छन्। अमेरिकी जनसंख्याको मध्यस्थ उमेर ३८.९ छ। यसको अर्थ आधा जनसंख्याको उमेर योभन्दा कम छ।

अमेरिकाका सबैभन्दा शक्तिशाली निकायहरुमा अल्पसंख्यकहरुको प्रतिनिधित्वका विषयमा प्रश्न उठ्ने गरेको छ। जुन उठ्नै पर्थ्यो। तथापि, अमेरिकी नेता र तिनका मतदाताबीच जत्तिको चर्को बेमेल अन्त कतै छैन।

यस्तो लाग्छ, अमेरिका निदाएको थियो र अचानक लियोनिड ब्रेजनेभको सोभियत संघमा ब्युँझिन पुग्यो। ब्रेजनेभको निधन हुँदा उनी ७५ वर्षका थिए।

मनैदेखि जवान मुलुक अमेरिका बुढाखाडाको पकडमा छ। किन? यसको एउटा कारण हो, पदासीन हुनुको सुखसयल। अमेरिकी सांसदहरुको जागिर जति सुरक्षित छ, त्यति त फ्रान्सका निजामती कर्मचारीको जागिर पनि सुरक्षित छैन।

निर्वाचन क्षेत्रको सीमा फेरबदल र वैचारिक छनोटका कारण अमेरिकी संसदमा प्रतिस्पर्धाका लागि खुला सिटको संख्या घट्दो छ। अधिकांश मामिलामा पदासीनलाई हटाउने एउटै उपाय हो– उनीहरुलाई आफ्नै पार्टी भित्रबाट दिइने चुनौती।

पदासीन नेता जति बढी प्रतिष्ठित हुन्छ, उसलाई हटाउन चाहने चुनौतीदातालाई प्रतिष्ठाको जोखिम उति नै बढी हुन्छ। त्यसैले क्यालिफोर्नियाबाट डेमोक्र्याटिक पार्टीकी बिमार सिनेटर डायन फाइन्स्टाइनलाई चुनौती दिने हिम्मत कसैले गर्न सकेन। त्यसैले ९० वर्षको उमेरमा गत सेप्टेम्बरमा पदमा छँदै उनको मृत्यु भयो।

उनी राजनीतिक रुपमा प्रसिद्ध र आदर्श व्यक्ति थिइन्। जीवनको अन्तिम क्षणमा उनको स्मरण शक्तिको कमजोरी औँल्याउनु क्रूर कामजस्तो लाग्न सक्थ्यो।

बुढा र अनुभवी मान्छेहरुलाई तिमीहरुको समय सकियो भन्न ठूलै साहस चाहिन्छ। तैपनि, सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गलाई क्यान्सर लागेपछि अवकाश लेऊ भनेर अलिकति जोड गरेको भए हुन्थ्यो भन्ने सोच अहिले लाखौँ उदारवादीहरुमा छ। बाराक ओबामा राष्ट्रपति छँदै उनले अवकाश लिएको भए भए अहिले सर्वोच्च अदालतमा कन्जरभेटिभ र उदारवादी न्यायाधीश को आँकडा ५ः४ हुन्थ्यो, नकि ६ः३। उनी ट्रम्पको कार्यकाल समाप्त हुनुभन्दा केही साताअघि मात्र ८७ वर्षको उमेरमा बितिन्।

 

आउँदो नोभेम्बरमा आफ्नो ८२औँ जन्मदिनभन्दा १५ दिनअघि बाइडेनले ट्रम्पसँग चुनाव हारे भने उनले अमेरिकाको इतिहासमा गिन्सबर्गलाई सजिलै उछिन्नेछन्। एउटा वृद्ध नेताले आफ्नो शक्ति यति ठूलो दाउमा लगाएको घटना कल्पना गर्न पनि कठिन छ।

निश्चित रुपले ट्रम्प पनि बुढै हुन् र मानसिक रुपले अझ कम तेज छन्। यदि चुनाव यी दुई बुढाको बीचमा हो भने कुनै द्विविधा छैन। किनकि, एक जना लोकतन्त्रलाइक्षर्् समर्थन गर्छन्, अर्को खुलेआम लोकतन्त्रलाई धम्क्याउँछन्।

तर, यहाँनेर ठूलो शक्तिले काम गरिरहेको छ। लोकतन्त्रप्रति सबैभन्दा बढी सन्देह गर्ने उमेर समूह सबैभन्दा कम उमेरको छ। सर्वेक्षणअनुसार १९८० पछि जन्मेका दुई पुस्ता (मिलेनियल र जेन जी) सबैभन्दा कम लोकतन्त्र पक्षधर छन्।

पहिलेको युगका युवाहरुमा यस्तो थिएन। त्यतिबेला युवाहरु कम होइन, ज्यादा लोकतन्त्रका लागि आन्दोलित थिए। कान्छो दुई पुस्ताले अमेरिकाले विश्वभर खेलेको सैन्य भूमिकामाथि प्रश्न गर्ने सम्भावना सबैभन्दा बढी छ। तर, विश्वव्यापीकरणसँग उनीहरु बढी सहज छन्। उनीहरु जलवायु परिवर्तनप्रति अधिक चिन्तित छन् र विविधतालाई ज्यादा स्वागत गर्छन्। तिनले अमेरिका असाधारण छ भन्ने कुरा विश्वास गर्ने सम्भावना कम छ।

प्रविधिको लत लागेका युवाहरुको अधीरताबारे मजाक चल्तीमा छ। यो अवलोकन सही हुनसक्छ। तर, यो मजाक होइन। उनीहरुलाई केही भन्नु छ। उनीहरुको दिमाग तत्काल सक्रिय हुन जरुरी छ।

फाइनान्सियल टाइम्सबाट साभार