जनपत्रकार धितालका जनयुद्धकालीन डायरीका ७ पुस्तक सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं, १ फागुन

जनपत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय (विसं २०५९ देखि २०६३) सम्मको यात्राका डायरीहरु (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक सार्वजनिक भएका छन् ।

मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसका अवसरमा  प्रज्ञाभवनमा सार्वजनिक गर्नुभएको हाे।

लेखक धितालले यी डायरीलाई जेल र युद्ध क्षेत्रमा बिताएका हरेक दिनका एकाउन्ट भएको बताउनुभएको छ। ‘जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा, पिलीयात्रा र गण्डकयात्रा तथा गुफा प्रेसका चिठी’ का नाममा ती डायरी सार्वजनिक भएका हुन्।

उहाँले साङ्केतिक रुपमा २०६० सालमा सहिद भएका चन्द्रबहादुर गुरुङ दिपेशकी छोरी दीपशिखाको हातबाट प्रधानमन्त्री प्रचण्डलाई पुस्तक हस्तान्तरण गराएर विमोचन गराउनुभयो। पत्रकार धितालले दिपेशलाई भेट गर्दा दीपशिखा गर्भमै हुनुहुन्थ्यो। बुबा चन्द्रबहादुर सुरक्षाकर्मीबाट मारिएको केही महिनामा उहाँ जन्मनुभएको हो।

सहिद चन्द्रबहादुर गुरुङ (दिपेश) ‘अर्वान गुरिल्ला’ हुनुहुन्थ्यो। मुख्य सहरमा गएर उहाँले कारबाही चलाउनुहुन्थ्यो। उहाँकी श्रीमती संविधानसभा सदस्य सीता पौडेलसँग लेखक धितालले पनि यात्रा गर्नुभएको थियो। त्यो बेला उहाँ गर्भवती हुनुहुन्थ्यो।

पत्रकार धितालले भेटेको एक हप्ताभित्रै २०६० सालमा दिपेश सुरक्षाकर्मीबाट मारिएका थिए। बुबाको निधन भएको केही महिनामा दीपशिखा गुरुङको जन्म भयो। त्यही कारण लेखकले सहिदकी छोरीका तर्फबाट युद्धको सम्पत्ति भनौँ या युद्धको साहित्य अध्यक्ष वा राष्ट्रको कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेर एउटा नयाँ सन्देश दिनुभएको छ।

त्यो जनयुद्धको सन्देश दोस्रो पुस्ताले पनि प्राप्त गरोस् भन्ने सन्देश आजको यस विमोचन कार्यक्रमबाट पनि दिन खोज्नुभएको हो। एउटा पुस्तकमा दिपेशसँग भएका कुराकानीका सन्दर्भ समेत लेखकले समावेश गर्नुभएको छ। पुस्तकमा लेखकले २०५९ सालदेखि २०६३ सम्मको यात्रा विवरणलाई समावेश गर्नुभएको छ।

पुस्तक सार्वजनिकीकरणका क्रममा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आज फागुन १ गते जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा कठिन र चुनौतीपूर्ण त्यो परिस्थितिको स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने बोध गरी सातवटा पुस्तक एकैसाथ सार्वजनिक गरेकामा लेखकलाई धन्यवाद दिँदै खुसीसमेत व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “सबैभन्दा पहिले मनऋषि धिताललाई धन्यवाद भन्न चाहन्छु, तपाईले इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासको अनुभव र अनुभूति प्रत्यक्षरुपमा सञ्चय गर्न मेहनत गर्नुभयो र ऐतिहासिक दिनमा ऐतिहासिक पात्रका माध्यमबाट पुस्तक जसरी हस्तान्तरण गर्नुभयो, यो विशिष्ट र विशेष पनि छ।”

राजनीतिक दृष्टिकोणले पहिलो वार्ता भङ्ग भएपछि सङ्कटकाल प्रारम्भ भएको थियो। त्यसै दिन जनादेश र जनदिशा दैनिकका पत्रकार समातिएका थिए। त्यो गिरफ्तार हुनेमध्येका एक दस्ताको सदस्य मनऋक्षि धिताल पनि हुनुहुन्छ।

पुस्तकका सम्पादक राजकुमार कुँवरका अनुसार उहाँले हिरासतकालमा खासै लेख्न सक्नुभएको देखिँदैन। उहाँले जेल बसेको झण्डै एक वर्षको अवधिमा छ महिनापछि मात्रै लेख्न थाल्नुभएको थियो। यहाँ जेलका चार/पाँच महिनाका सन्दर्भहरु मात्र समावेश छन्।

लेखकले दोस्रो वार्ता भएपछि पहिलो कर्णाली यात्रा सुरु हुँदा यात्रासँगै डायरी लेखन पुनः सुरु गर्नुभएको थियो। विसं २०५९ पछिको पाँच वर्षे आफ्नो डायरीलाई पुस्तकका रुपमा उहाँले ल्याउनुभएको छ।