माओवादी विधान सम्मेलन आजदेखि, यस्तो छ तयारी र एजेण्डा

मूलखबर संवाददाता
काठमाडौं

सरकारको नेतृत्वकर्ता दल  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहनेछ।

पार्टीलाई व्यवस्थितरुपमा संचालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य थिए। समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो।

प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो। गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो। छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई संक्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए।

के छ एजेण्डा

कार्यदल सदस्य एवं उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावका विषय पनि समेटेर सुझावका लागि तल्ला कमिटीमा पठाइएको थियो। प्रस्तावमा पार्टीको नाम परिवर्तन गर्ने विषय भने नसमेटिएको माओवादीले जनाएको छ। शर्माले माओवादीको नाम परिवर्तन गरी नेकपा समाजवादी राख्नुपर्ने पूरक प्रस्ताव स्थायी कमिटी बैठकमा राखेका थिए । बैठकले पूरक प्रस्तावलाई स्वीकार गरेको थिए।

१७ भाग, ७० धारा र ४२ पृष्ठ लामो विधानको मसौदालाई आज सुरु हुने सम्मेलनमा पेस गरेर पारित गर्ने तयारी छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको विधान मसौदा–२०८० मा विधान २०७८ मा रहेका केही व्यवस्था फेरबदल गरिएको छ।

केन्द्रीय समितिको आकार २ सय ९९ बाट १५० मा झारिएको छ। यसैगरी भेट्रान कम्युनिस्ट मञ्च बनाउने प्रस्ताव छ। २०७८ मा यो व्यवस्था थिएन।

यसैगरी, केन्द्रीय कार्यालयमा कोषाध्यक्ष थप गरिएको छ। २०७८ को विधानमा केन्द्रीय कार्यालयमा कोषाध्यक्ष रहने व्यवस्था थिएन। विधान २०७८ मा १६ अध्याय र ७५ धारा थिए।

रूपान्तरण अभियान सफल
माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रिय समिति बैठकले समग्र रुपमा पार्टीको अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। अभियानका समिक्षा गर्दै माओवादीले कार्यकर्तालाई चार भागमा विभाजन गरेको छ।

सत प्रतिशत खट्ने कार्यकर्तालाई प्रसंसा पत्र वितरण गर्ने, ७५ देखि ८० प्रतिशत खट्ने कार्यकर्तालाई धन्यवाद पत्र दिने, ५० देखि ५५ प्रतिशत खट्ने कार्यकर्तालाई निर्देशन पत्र दिने र १५ प्रतिशत भन्दा कम खट्नेहरुलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। बैठकले तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण अभियान चलाउने निर्णय गर्दै यसलाई आन्दोलनका रुपमा वैचारिक बहस गरिने उनले जानकारी दिए।

 

त्यस्तै बैठकले जवस र मोर्चाहरुले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जवस र मोर्चाहरुको सम्मेलन गरेर पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्दै कोशी प्रदेशमा कांग्रेसबाट भएको अन्तर्घात र विभिन्न घटनाक्रमहरूले गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए। उनले कुटनीतिक क्षेत्र प्रभावकारी भएको र आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको प्रवक्ता सापकोटाले बताए।