माओवादी केन्द्रीय समितिः रूपान्तरण अभियानले आशावादी, अबको चुनावमा एक नम्बर !

मूलखबर संवाददाता
काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन्। बैठकमा प्रदेशका इञ्चार्ज र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराएको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा कोशी प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इञ्चार्ज लिलामणि पोखरेल, बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले ‘जनतासँग माओवादी विशेष अभियान’ का सन्दर्भमा ‘रिपोर्टिङ’ गरेका थिए।

यसैगरी कर्णाली प्रदेशका इञ्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इञ्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय समितिका इञ्चार्ज गिरिराजमणि पोखरेल प्रवास समितिका इञ्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकमा लेखा आयोगका संयोजक पेशल खतिवडा, अनुशासन आयोगका अध्यक्ष टंक राईले पनि आफ्नो धारणा राखेका थिए।

रिपोर्टिङका क्रममा उनीहरुले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए। पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उनीहरुको कथन थियो।

माओवादी छोड्ने क्रम रोकियो
प्रदेश इन्चार्जहरूले पार्टीले चलाएको अभियानका कारण माओवादीप्रतिको आकर्षण बढेको दाबी गरेका छन् । ‘जनतासँग माओवादी अभियान’को समीक्षा प्रतिवेदन पेश गर्दै इन्चार्जहरूले माओवादीमा फेरि एकप्रकारको नयाँ लहर शुरू भएको बताए । ​​रिपोर्टङ गर्दै इन्चार्जहरूले जनतासँगको अन्तरक्रियाले माओवादी आगामी चुनावमा पहिलो दल बन्ने आधार तयार गरेको बताएका हुन् ।

उपत्यका विशेष कमिटीका इन्चार्ज वर्षमान पुनले आगामी चुनावमा माओवादीलाई पहिलो दलको रुपमा स्थापित गर्ने सम्भावना रहेको बताए ।

‘पार्टीले चलाएको अभियानले नयाँ उत्साह दिएको छ, विचार, संगठन र विधि प्रक्रियामार्फत महाधिवेशनमा जाँदा आगामी चुनावमा माओवादीलाई एक नम्बर बनाउने आधार छन्’, पुनले भने ।

कर्णाली प्रदेशका इन्चार्ज मात्रिका यादवले कर्णालीमा पार्टी सशक्त रहेको बताएका थिए । ‘कर्णालीमा काम गर्दा मलाई पनि नयाँ अनुभव भयो, पार्टी सशक्त छ, बाहिर प्रचार गरेजस्तो कमजोर भएको छैन’, यादवले भने ।

लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी छाडेर जाने क्रम रोकिएर प्रवेशको लहर चलिरहेको दाबी गरे । ‘बाहिर प्रचार गरिएजस्तो माओवादी कमजोर भएको छैन, बरु पार्टी प्रवेशको लहर बढिरहेको छ’, शाक्यको भनाइ उद्धृत गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालले भने ।

केही इन्चार्जहरूले भने पार्टीको नेतृत्वमा सरकार भए पनि कार्यकर्ता पंक्ति र जनतामा उत्साह नभएको टिप्पणी गरेका थिए ।

विधान सम्मेलनको तयारी स्वरूप माओवादीले केन्द्रीय समिति बैठक राखेको हो । इन्चार्जहरूको ब्रिफिङ पछिमात्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकमा ‘जनतासँग माओवादी विशेष अभियान’ मा प्राप्त सुझावका बारेमा रिपोर्टिङ गर्ने क्रम सुरु भएको र बैठक पुनः सोमबार पनि बस्ने सचिव साहले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको संगठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो।

सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ। विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। उक्त समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ।