लगानी सम्मेलनको तयारी- भारतका मात्र होइन चीन र विश्वभरका धनाड्यलाई निमन्त्रणा

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा आगामी वैशाख १६ र १७ गते हुने तय भएको तेस्रो लगानी सम्मेलनका लागि सरकारले पाहुनाहरूलाई निमन्त्रणा गर्न थालेको छ । तेस्रो लगानी सम्मेलन सचिवालयले पहिलो चरणको निमन्त्रणा पठाउन थालिएको जनाएको छ ।

सचिवालयका अनुसार हालसम्म केही डेभलपमेन्ट पार्टनरलाई निमन्त्रणा पठाइसकिएको छ ।

उच्चस्तरीय पाहुनाहरूलाई भने लगानी सम्मेलन निर्देशक समितिका संयोजक अर्थमन्त्री डा. प्रकाशशरण महतले निम्ता पठाउँछन् । मन्त्री महतले केही समयअघि भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुँदा उद्योगपति मुकेश अम्बानी र गौतम अडानीलाई मौखिक निम्तो दिएका थिए । उनीहरूलाई निमन्त्रणा पत्र पनि पठाइसकिएको स्रोतको भनाई छ।

अर्थ मन्त्रालयले केही दिनअघि भारतका धनाढ्य अडानी ग्रुपका अध्यक्ष गौतम अडानी, रियायन्स इन्डस्ट्रिजका अध्यक्षक्ष मुकेश अम्बानी, अलिबाबाका संस्थापक ज्याक मा, टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्क लगायतलाई लगानी सम्मेलनमा आउन निम्ता पठाएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले केही महिनाअघि भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुँदा अडानी र अम्बानीलाई भेटेरै लगानी सम्मेलनमा आउन निम्ता दिएका थिए। उनले समिटको साइडलाइन छलफलमा अडानी र अम्बानीसँगै छुटाछुट्टै भेटेर सम्मेलनमा आउन आग्रह गरेका थिए।

त्यही बेला अर्थमन्त्री महतले औपचारिक निम्तो पठाउने समेत बताएका थिए। छलफलमा अडानीले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए भने अम्बानीले आफ्नो समूहको उच्च तहको व्यक्ति सहभागी हुने बताएका थिए। अडानी र अम्बानीको प्रतिबद्धताले अर्थमन्त्री महत पनि उत्साहित छन्।

अर्थमन्त्रीले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि, पूर्वाधारका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता इच्छुक रहेको बताउँदै आएका छन् । त्यसैअनुसार कानुन पनि संशोधन गरिने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले माघ १८ गते पूर्वसचिव शंकर अधिकारीको संयोजकत्वमा अध्ययन समिति समेत बनाइसकेको छ। निजगढ विमानस्थल बनाउने कम्पनीलाई तीन वटा विमानस्थल संचालनको जिम्मा दिने गरी प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ। यो मोडलमा विमानस्थल संचालनको जिम्मा लिन अडानी ग्रुप इच्छुक देखिएको छ।

अडानीबाहेक स्वदेशी तथा केही विदेशी पनि विमानस्थल संचालनको जिम्मा लिन तयार छन्। स्रोतका अनुसार यो समितिले ४५ दिनभित्र सुझाव दिँदैछ।

सुझावका आधारमा लगानी सम्मेलनमा विमानस्थल समेत परियोजना शोकेसमा राखिनेछ। अलिबाबाका संस्थापक ज्याक माले पनि नेपालमा लगानी गर्न चाहिरहेका छन्। उनले नेपाललाई उच्च प्राथमिकतामा राखेर भ्रमण गरिरहेका छन्।

केही महिनाअघि नेपाल आएर उनले उच्च पदस्थ राजनीतिज्ञसँग भेट गरेका थिए। एलन मस्कको कम्पनी स्पेस एक्सले पनि इन्टरनेट क्षेत्रमा लगानीका लागि प्रस्ताव गरेको छ। कम्पनीले डेडिकेटेड स्याटेलाइट इन्टरनेटका सेवाका लागि केही महिनाअघि लाइसेन्स माग्दै नेपाल दूरसंचार प्राधिकरणमा आवेदन दिएको छ ।

सम्मेलनमा सहभागिताका लागि अलिबाबाका संस्थापक ज्याक मा, टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्कलाई पनि निम्तो पठाइएको छ ।

यीबाहेक सरकारले भारत, चीनलगायतका लगानीकर्तालाई पनि तेस्रो लगानी सम्मेलनमा नेपाल आउन निम्तो पठाएको बताइएको छ ।