एउटा दुर्लभ टेलिभिजन अन्तर्वार्ता- युक्रेन युद्ध गर्न पुटिनले दिएको समाधान सूत्र

मूलखबर संवाददाता
काठमाडौं

युक्रेन युद्ध जारी छ। अहिले पनि पश्चिमा मिडियाहरूले यो युद्धका लागि रुस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई एकपक्षीय रूपमा दोषी करार गर्दै आएका छन्।

युक्रेनमा रुसी आक्रमण सुरु भएयता कुनै पनि पश्चिमा मिडियाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्वार्ता लिएका थिएनन् । तर, बिहीबार अमेरिकी पत्रकार टकर कार्लसनसँग पुटिनले दिएको अन्तर्वार्ता प्रशारण भएको छ।

युद्ध सुरु भएयता र सन् २०१९ पछि पुटिनले पश्चिमा पत्रकारसँग अन्तर्वार्ता दिएको यो नै पहिलोपटक हो । फक्स न्युजका पूर्वपत्रकार कार्लसनसँगको अन्तर्वार्तामा पुटिनले स्पष्ट भनेका छन्,‘पश्चिमा राष्ट्रले यो बुझ्नुपर्छ कि युक्रेनमा रुसलाई पराजित गर्न असम्भव छ ।’

पत्रकार कार्लसन पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् । उनले युक्रेनमा रुसी आक्रमण जायज छ कि छैन भनेर प्रश्न गरेका थिए । पुटिनले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरे ।

उनले सो क्रममा युक्रेनलाई हतियार दिने देशहरूको कटाक्ष गर्दै भनेका छन्,‘अमेरिका, युरोपेली युनियन इयू र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमा राष्ट्रले यो अवधिमा स्पष्ट बुझेका छन् ।’

पछिल्लो सयम अमेरिकी सिनेटमा युक्रेनलाई हतियार सहयोग गर्ने प्याकेज अस्वीकृत भएको थियो । विपक्षी रिपब्लिकनहरूले सरकारको प्रस्ताव खारेज गरेका थिए । युक्रेन युद्ध रोक्नका लागि पश्चिमा राष्ट्रले हतियार दिन बन्द गर्नुपर्ने पुटिनको सन्देश छ । उनले भनेका छन्, ‘हामीले अमेरिकी नेतृत्वलाई यो सन्देश दिन चाहन्छौँ कि यदि तपाईं साँच्चै लडाइँ रोक्न चाहनुहुन्छ भने तपाईंले युक्रेनमा हतियार आपूर्ति बन्द गर्नुपर्छ ।’

पुटिनको प्रष्ट सन्देश- हतियार रोक, युद्ध रोकिन्छ
युक्रेनलाई अमेरिकाले मात्रै ७२ अर्ब डलर दिएको भन्दै पुटिनले अमेरिकी हतियार सहयोग बन्द भएको केही महिनामै युद्ध सकिने बताए । युद्ध भएको केही महिनामै टर्कीको इस्तानबुलमा भएको वार्तामा कुरा मिल्न लाग्दा तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आएर बिग्रेको पनि पुटिनले बताए ।

के रुसले युद्धबाट चाहेको पायो त भन्ने टकरको प्रश्नमा पुटिनले त्यो नपाएको बताए । आफ्नो युद्धको उद्देश्य नवनाजीवाद अन्त्य गर्ने भए पनि त्यो सफल नभएको पुटिनको भनाइ छ ।

सन् २०२३ मा युक्रेन युद्धपछि पनि रुस युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको पुटिनले बताए । उनले पर्चेजिङ पावर प्यारिटीको आधारमा रुस युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्न सफल भएको बताए । अमेरिकी तथा पश्चिमा अर्थतन्त्रको दबाबले काम नगरेको उनले बताए ।

अमेरिकी भाडाका सिपाहीहरु युक्रेनको पक्षमा धेरै लडेको भन्दै पुटिनले अमेरिकी भाडाका सिपाहीहरु सबैभन्दा धेरै हुनेमा दोस्रो भएको बताए । पोल्याण्ड एक नम्बर र जर्जिया तीन नम्बरमा भएको पुटिनले बताए ।

पुटिनले आफू राष्ट्रपति भएको समयमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई रुस नेटोमा जोडिँदा के हुन्छ भन्दा उनले सकारात्मक रुपमा लिएको भने पनि उनको टीमले नकारात्मक रुपमा लिएको उत्तर दिएको पुटिनले बताए । यस्तै अमेरिकी राष्ट्रपति जर्ज बुस सिनियरसँग आफूले संयुक्त रुपमा मिसाइल प्रतिक्षा प्रणालीमा काम गरौं भन्दा अस्वीकार गरेकाले रुसले बाध्य भएर हाइपरसोनिक मिसाइलमा लगानी गरेको र त्यसमा अहिले रुस अरु देशभन्दा अगाडि भएको बताए ।