एमालेभित्रको उकुस-मुकुस जिल्ला अधिवेशनमा छथाछुल्ल, एकातिर ढाक्दा अर्कोतिर देखिने सकस

मूलखबर संवाददाता
काठमाडौं

नेकपा एमाले यतिबेला प्रतिपक्षमा छ। केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्दा अध्यक्ष केपी ओली कमजोर भएका छन्। पार्टीभित्र उनीसँगको उकुस-मुकुस विस्तारै बढ्दै छ। ओलीको पकड गुमेको छ। धमाधम उनीविरुद्ध गुट तयार हुन थालेका छन्।

एमालेले असोज र कात्तिकमा भएका प्रदेश अधिवेशनमा गुटगत प्रतिस्पर्धासँगै विवाद सतहमा आएको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू विभाजित भएका थिए ।

प्रदेश अधिवेशनको विवादको मसी सुक्न नपाउँदै जिल्ला अधिवेशनमा पनि त्यसको प्रभाव देखिएको छ । हालैमात्र धादिङको अधिवेशनसँगै एमालेभित्रको कलह बाहिरियो ।

विवादै विवादका श्रृंखला
कर्णालीमा कात्तिकमा भएको प्रदेश अधिवेशनको विवाद हालै सुल्झिएको नेताहरूले बताएका छन् । कर्णालीमा मंसिर ११ गते महासचिव शंकर पोखरलेले पठाएको पत्रले विवाद सिर्जना भएको थियो ।

प्रदेश अधिवेशनबाट दुई उपसचिवमा एकजना महिला नल्याइएको भन्दै पोखरेलले पद्मा खड्कालाई उपसचिव बनाउन निर्देशन दिएका थिए । अधिवेशनबाट निर्वाचित रमेश शाहीको ठाउँमा खड्कालाई निर्वाचित गराउन केन्द्रको निर्देशन थियो ।

तर, अधिवेशनले निर्वाचित गरेका पदाधिकारीलाई हटाउन नमिल्ने भन्दै कर्णालीमा विवाद देखिएको थियो । तथापि केन्द्रको निर्देशनपछि उपसचिवमा खड्कालाई सपथ गराइयो । ओलीले कर्णालीका नेताहरूलाई राखेर छलफल गरेपछि विवाद टुंगिएको हो । उपसचिवमा खड्कालाई मानेर जान नेताहरू सहमत देखिएका छन् ।

एमालेको मुगु जिल्ला अधिवेशनमा विवाद भयो । गत मंसिर ९ गते भएको अधिवेशनमा अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित भए ।

अधिवेशनबाट पूर्ण रोकायालाई अध्यक्ष बनाइयो । अध्यक्षका अर्का आकांक्षी डम्बरबहादुर रावल पक्षले उक्त अधिवेशन अवैध भन्दै अस्वीकार गर्यो । त्यो विवाद समाधान गर्ने जिम्मेवारी पार्टीको संगठन विभागले पायो ।

माघ–१९ गते उद्घाटन भएको धादिङ अधिवेशनमा किचलो छताछुल्ल भयो । धादिङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूबीच नै प्रतिस्पर्धा छ ।

अध्यक्षमा हालका जिल्ला अध्यक्ष भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् । त्रिपाठीले प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै अधिकारीलाई साथ दिएका नेताहरू असन्तुष्ट देखिएका छन् ।

अधिकारीलाई प्रदेश अध्यक्ष कैलाश ढुंगेल, खेम लोहनीलगायत नेताको साथ छ । अधिवेशनमा कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले आइतबार बिहान अधिवेशन स्थगित गरेका थिए ।

जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि सोमबार ८ बजेसम्मका निम्ति बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए । अध्यक्ष ओलीले विवाद समाधानका निम्ति हस्तक्षेप गर्नुपर्ने परिस्थिति बन्यो ।

उनले त्यसक्रममा अधिवेशन पुनः सञ्चालन गर्न पार्टीको केन्द्रीय संगठन विभागबाट दुई प्रतिनिधि धादिङमा पठाउने निर्णय भयो । केन्द्रबाट दुई प्रतिनिधि गई वस्तुस्थिति बुझेर विवाद समाधान गर्दै मंगलबार अधिवेशनको बन्दसत्र अगाडि बढाउने तयारी छ ।

ओलीविरुद्ध बढिरहेको उकुसमुकुस र त्यसकै कारण पार्टीमा एकपछि अर्को विवाद भएपछि नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । पार्टीमा संगठनात्मक अराजकता देखिएको ठान्छन्, केन्द्रीय सदस्य विष्णु रिजाल ।

“एमालेभित्र यतिबेला संगठनात्मक अराजकता चर्को समस्याका रुपमा देखा परिरहेको छ । एक ठाउँमा समाधान गर्यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ,” उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।

२३ पुसबाट शुरु भएको जिल्ला अधिवेशनहरूमा एमालेले केन्द्रीय महाधिवेशनकै शैली अपनाएको छ । अध्यक्ष मण्डलबाट जिल्ला नेतृत्वको नामावली घोषणा गर्ने र त्यही प्रस्ताव हलले अनुमोदन गर्ने अभ्यास अधिकांश जिल्लामा गर्‍यो । यस्तो प्रक्रियामा असन्तुष्टि जनाउने मध्ये कतिपय चुपचाप बसे भने कतिपयले विरोध जनाएका छन् ।

मुख्यरूपमा ओलीविरुद्ध बनिरहेको मत एमालेमा बाहिर आइरहेको छ। एमालेमा ओली थप कमजोर बनेको प्रमाण जिल्ला अधिवेशनले दिइरहेका छन्।