जेलबाटै चुनाव जित्न सक्छन् पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ?
दुई वर्षभन्दा कम समयमा प्रधानमन्त्रीदेखि जेलसम्म पुगेका इमरान खान र उनको दलको राजनीतिक उचाइ नाटकीय रूपमा खस्किएको छ।
तर खानको दल पीटीआईले पाकिस्तानमा यसै साता हुने आम चुनाव जित्न सकिन्छ भन्ने आशा नमारेको बताएको छ।
यसका संस्थापक खान जेल परेका छन् र उनलाई चुनाव लड्नमा प्रतिबन्ध लगाइएको छ।
खानले भने आफूविरुद्धका कारबाही राजनीतिक रूपमा प्रेरित रहेको बताएका छन्।
उक्त दलले अधिकारीहरूका कारबाहीसँग जुझ्न सामाजिक सञ्जालको साथ लिने योजना बनाएको छ।
यो दलले यसअघि परीक्षण नभएका नयाँ उम्मेदवारहरू समेत अघि सारेको छ।
पञ्जाब प्रान्तको सियालकोट सहरको साँघुरो गल्लीमा आफ्नो पोस्टरलाई छेउ पारेर रेहेना डार चुनाव प्रचार गरिरहेकी छन्।
अगाडीपट्टि बजाइएका बाजाले उनको लागि बाटो खुला गरिरहेको छ र माथिपट्टिबाट उनीमाथि गुलाफका फूल फ्याँकिन्छन्।
उनलाई ७० को दशक छोएको उमेरमा अप्रत्याशित रूपमा राजनीतिज्ञ बनेको कुराले आश्चर्यचकित नै तुल्याएको छ। तर रत्तिभर उनी त्यसलाई देखाउँदिनन्।
“मेरो सहर सियालकोटका छोराछोरी, दाजुभाइ र आमाहरू गर्वसाथ मेरो साथ उभिनु ठूलो कुरा हो,” उनी आत्मविश्वासका साथ भन्छिन्।
“म इमरान खानको साथमा छु र इमरान खानसँगै रहनेछु। जनताको बीचमा एक्लै छोडिए पनि इमरान खानको झण्डा बोकेर सडकमा निस्कन्छु।”
झट्ट आसपास हेर्दा त्यो निश्चित रूपमा सत्य हो भन्ने देखाउँछ।
रेहेना डारको आसपास जम्मा भएको सानो भीडले इमरान खानको तस्बिर र पीटीआईको झन्डा बोकेको छ।
र पनि डार प्राविधिक रूपमा पीटीआईकी उम्मेदवार भने होइनन्।
बरु उक्त दलका सबै उम्मेदवारहरूजस्तै प्राविधिक रूपमा उनी स्वतन्त्र हुन्।
निर्वाचन आयोगले पीटीआईलाई क्रिकेट ब्याटको चुनाव चिन्ह प्रयोग गर्न नदिने निर्णय गरेपछि त्यहाँ अवस्था फेरिएको छ।
यो सानो निर्णय जस्तो लाग्न सक्छ। तर ५८ प्रतिशत मानिसहरू निरक्षर भएको देशमा उम्मेदवारले मतपत्रमा प्रयोग गर्ने सहजै पहिचान गर्न सकिने चिन्हको विशेष महत्त्व छ।
अब प्रत्येक उम्मेदवारको आफ्ना बेग्लै चिन्ह छन्। डारको चिन्ह बच्चा सुताउने डाँडी हो। पानी तताउने भाँडोदेखि स्याक्सोफोन भनिने एक प्रकारको बाजासम्मका वस्तुहरू चुनाव चिन्ह छन्।
पीटीआईले यो निर्णय ८ फेब्रुअरीमा हुने चुनावको तयारीमा रहेका अनगिन्ती अवरोधमध्ये एक भएको जनाएको छ।
तर उक्त दल निरन्तर लडिरहेको छ।
सडकमा चिच्याइरहेका डारजस्ता उम्मेदवारहरू हुन् वा नेतालाई जेलको कोठाबाट र्यालीसम्म पुर्याइरहेको प्रविधि नै किन नहोस् उक्त दलले यस लडाइमा आफूसँग भएका सबै उपाय प्रयोग गर्न खोजिरहेको छ।
पछिल्लो चुनावमा डारका छोरा उसमानले सियालकोटमा उक्त समूहको नेतृत्व गरेका थिए।
उनी पीटीआईका वरिष्ठ नेता थिए र पूर्वप्रधानमन्त्री इमरान खान अन्तर्गत रहेर उनले युवा सम्बन्धी विशेष सल्लाहकारका रूपमा काम गरे।
तर उनको परिवारका अनुसार अक्टोबर महिनाको सुरुमा तीन साता जति हराएर उनी एक टेलिभिजनमा देखा परे जहाँ उनले इमरान खान “९ मे को दङ्गाका मुख्य योजनाकार” रहेको बताए।
गत वर्ष इमरान खानको गिरफ्तारीले राष्ट्रव्यापी विरोध प्रदर्शन निम्त्याएको थियो जसमध्ये केही हिंसात्मक बनेका थिए।
खानका सयौँ समर्थकहरू पक्राउ परे। उनीहरूलाई सैन्य भवनमा हमला गरेको आरोप समेत लगाइयो। जसमध्ये त्यहाँका सबैभन्दा वरिष्ठ सैन्य अधिकारीको निवासमा समेत हमला गरेको आरोप थियो।
खान रिहा भए तापनि उनको पार्टीमाथिको कारबाही जारी रह्यो।
विरोध प्रदर्शनपछिका साता र महिनाहरूमा उनको पार्टीका कैयौँ नेताहरूले पीटीआई वा राजनीतिबाट पूर्ण रूपमा राजीनामाको घोषणा गरे।
जसमा कैयौँ नेतृत्व तहमा रहेका वरिष्ठ व्यक्तिहरू समेत थिए।
अधिकारीहरूका अनुसार खानका पुराना समर्थकहरूले अशान्ति सिर्जना गरेको आरोप लगाइएको पार्टीसँग सम्बद्ध हुन नचाहेको सङ्केतका रूपमा त्यसलाई व्याख्या गरे।
पीटीआईले ती राजीनामा जबरजस्ती गराइएको बताएको छ।
सत्य जेसुकै भए पनि डार त्यसबाट प्रभावित भइनन्।
“उसमान डार (आफ्नो छोरा)ले दिएको बयानसँग म सहमत भइनँ,” डार भन्छिन्।
“मैले उसलाई भनेँ कि बरु मेरो छोरा मरेको भए बेस हुन्थ्यो। तिमीले गलत बयान दियौ।”
यद्यपि रेहेना डारको जस्तो खुला प्रचार शैली सबै पीटीआई उम्मेदवारलाई सम्भव नहुन सक्छ।
कतिपय उम्मेदवार जेलमै रहेर पनि प्रचारप्रसार गरिरहेका छन्।
कुनै अपराधमा दोषी नभइसकेको अवस्थामा जेलमै बसेर पनि उनीहरू चुनाव लड्न सक्छन्।
अन्य केही भने प्रहरीलाई पूरै छलेर गोप्य रूपमा चुनावी अभियान चलाइरहेका छन्।
आतिफ खान पाकिस्तानको उत्तरमा पर्ने खैबर पख्तुन्ख्वाका प्रान्तीय मन्त्री थिए।
यतिखेर आफ्नो अभियानको क्रममा उनी तीन मिटरको स्क्रिनमा देखाइने भिडियो प्रसारणहरूमा देखा पर्छन्। जुन चोक चोकमा पुर्याउँदै देखाइन्छ।
मतदातालाई आफ्नो सन्देश पुर्याउन सक्ने यो एक मात्र तरिका रहेको उनी बताउँछन्।
किनकि उनी मे महिनादेखि लुकेर बसेका छन्। अधिकारीहरूले उनको खोजी भइरहेको बताउँछन् तर खान आफूबारे निष्पक्ष सुनुवाइ नहुने ठान्छन्।
आतिफ खान भन्छन्: “पीटीआईको सबैभन्दा ठूलो आधार युवा मतदाता हुन्। उनीहरूले डिजिटल मिडिया, मोबाइल फोन प्रयोग गरिरहेका छन्। त्यसैले हामीले ती माध्यम मार्फत् उनीहरूसँग अझ बढी जोडिनुपर्छ भन्ने सोच्यौँ। हामीले यति मात्र गर्न सक्छौँ, हामी डिजिटल मिडिया प्रयोग गरेर प्रचारप्रसार गर्न सक्छौँ।”
पीटीआईको चुनावी अभियानमा प्रविधि महत्त्वपूर्ण साबित भएको छ।
पार्टीको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक अकाउन्ट प्रत्येकमा करोडौँ फलोअरहरू छन्।
अन्य दुई मुख्य पार्टीहरू पीपीपी र पीएमएल-एनलाई जोडेर आउने फलोअर्स भन्दा पनि धेरै पीटीआई एक्लैका छन्।
इमरान खान प्रमुख तीन दलका नेताहरूमध्ये तीनवटै सामाजिक सञ्जालमा व्यक्तिगत खाता हुने एक मात्रै नेता हुन्। त्यसको अर्थ उनको सन्देश सीधा जनताको हातमा पुगिरहेको छ।
पीटीआईले कुन उम्मेदवारलाई समर्थन गर्छ भनी मतदाताहरूलाई थाहा दिन सघाउनका लागि समेत प्रविधि उपयोग गर्ने प्रयासहरू भएका छन्।
क्रिकेट ब्याटको एउटै चिन्ह बिना पीटीआईले एउटा वेबसाइट बनाएको छ जहाँ मतदाताहरूले आफ्नो निर्वाचन क्षेत्रमा गएर पीटीआईसमर्थित उम्मेदवारको चिन्ह फेला पार्न सक्छन्।
र्यालीहरू आयोजना गर्दाको समस्या बेग्लै छ। किनकि पाकिस्तानमा राजनीति नेताको व्यक्तित्वसँग जोडिन्छ।
लोकप्रिय क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खान हजारौँ मानिसहरूलाई आफ्नो जुलुसमा आकर्षित गर्न सक्ने नेताका रूपमा धेरैले ठान्छन्।
तर अहिले उनी जेलमा छन्। उनी अगस्टदेखि जेलमा छन् र त्यसयता तीनमध्ये दुई वटा मुद्दामा सजाय पाएपछि उनी अर्को १४ वर्षसम्म जेलमा रहने सम्भावना छ।
उक्त दललाई र्याली आयोजना गर्न समेत कठिनाइ भइरहेको छ।
ज्यानुअरीको अन्तिमतिर कराचीमा सयौँ पीटीआई समर्थक जुटेको एक सभामा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।
अधिकारीहरूले उनीहरूले भेला हुने अनुमति नलिएको बताए।
बीबीसीले कुरा गरेका प्रत्येक उम्मेदवारको प्रचार टोलीले उनीहरूका समर्थकलाई भयभीत पारिएको बताए।
उम्मेदवारहरूलाई चुनाव लड्न नदिन उनीहरूविरुद्ध उत्पीडन, अपहरण, र हिंसाको अभियान चलाइएको पीटीआईले आरोप लगाएको छ।
“हामीलाई यी आरोप निराधार र बेतुकका लाग्छन्,” कामचलाउ सूचना मन्त्री मुर्तजा सोलाङ्गी बताउँछिन्।
“हो मानिसहरू पक्राउ परेका छन्। तर ती कोही मे ९ का घटनासँग सम्बन्धित भएर त कोही अन्य आपराधिक मुद्दाहरूसँग जोडिएर पक्राउ परेका हुन्।”
उनी थप्छिन्: “यद्यपि आफ्नो असहमति र आरोपहरू निराधार भए पनि उनीहरू (पीटीआई) त्यसलाई व्यक्त गर्न स्वतन्त्र छन्। मिडियाले तिनीहरूलाई प्रसारण गर्दछ। साथै उनीहरूसँग देशको सर्वोच्च अदालतसहित अन्य कानुनी विकल्पहरू उपलब्ध छन्।”
यी समस्याको समाधान के त?
भर्चुअल र्याली।
“यो सस्तो छ, यो सुरक्षित छ र यो छिटो छ,” पीटीआईका सामाजिक सञ्जाल प्रमुख जिब्रान इल्यासले आफू रहेको ठाउँ शिकागोबाट फोनमा बीबीसीलाई भने।
“हुनसक्छ यसले भौतिक र्यालीहरू भन्दा अलि कम प्रभाव पार्ला, तर हामीले हाम्रो कुरा बाहिर ल्याउने प्रयास गरिरहेका छौँ।”
“इमरानबिना हामीले यसअघि कहिल्यै राजनीतिक र्याली गरेका छैनौँ,” इल्यासले भने।
के उनीबीनाको त्यस उपायले काम गर्न सक्छ? उनीहरूलाई थाहा छैन।
उनी भन्छन्, “मानिसहरू इमरान खानको सन्देशको लागि उत्सुक छन्।”
जसकै कारण गत डिसेम्बरमा उनीहरूले अनलाइन र्यालीको लागि भाषण तयार गर्न एआई प्रयोग गरे।
खानले जेलबाट लेखेको भाषणका आधारमा अडियो क्लोन गरेर उनको भाषण तयार पारिएको थियो।
त्यसका सीमितता छन्। इन्टरनेट निगरानी समूह नेटब्लक्सका अनुसार पाकिस्तानमा विभिन्न प्लेटफर्ममा राष्ट्रव्यापी अवरोधहरू धेरैपटक देखा परेको छ। तीमध्ये केही पीटीआईको जुलुस भएका समयसँग मिलेका छन्।
वासिङ्टनस्थित एक थिङ्कट्याङ्क विल्सन सेन्टरका दक्षिण एशिया निर्देशक माइकल कुगलमन भन्छन्: “पाकिस्तानको जनसङ्ख्याको ३० प्रतिशत मात्र सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता छन्। यसले पीटीआईले जति राम्रोसँग सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न सके पनि अनलाइन अभियानमा उनीहरूको पहुँचमा सीमाहरू हुनेछन्।”
यो पहिले पनि देखिएकै कुरा हो। खासगरी नवाज शरीफ जेलमा रहेको पछिल्लो चुनावमा।
कुगलमन भन्छन्: “यदि यो सबै उस्तै लाग्छ भने, त्यो त्यही हो। किनकि पात्रहरू मात्र फेरिएका छन्।”
बीबीसीबाट साभार