
राष्ट्रियसभा अध्यक्ष माओवादीले किन नपाउने, यसकारण दाबीमा छ दम
गठबन्धनमा अर्का उम्मेद्वार कृष्ण सिटौलाले जिते पनि कोशी प्रदेशमा राष्ट्रिय सभाको चुनावमा माओवादी उम्मेद्वार हारेपछि नेकपा माओवादी केन्द्रको बैठक शुक्रवार निकै लामो चल्यो।
सचिव राम कार्कीको शब्दमा माओवादीलाई कोशीमा ‘ठूलो चोट’ लागेको छ र “सहकार्यलाई लिएर समीक्षा गर्नुपर्ने बेला भएको छ”।
माओवादीका एक नेताका भनाइमा शुक्रवार भएको ‘व्यापक छलफल’ त्यसकै एउटा अंश हो। दलभित्र र गठबन्धनका नेताहरूबीच पनि चुनावको परिणाम र त्यसले पार्ने प्रभावबारे छलफल भएको ती नेताले जानकारी दिए।
माओवादी कोशीका नेता इन्द्र आङ्बोका अनुसार कोशी गठबन्धनको बैठकमा जननिर्वाचित प्रतिनिधिको तहबाट भएको अन्तर्घात लज्जस्पद भएको र त्यसबारे अनुसन्धान गरेर कारबाही गर्ने कुरा भएको छ।
राष्ट्रिय सभाको बिहीवार सम्पन्न चुनावमा कांग्रेसले एमाले र माओवादी दुवैसँग रणनीतिक एकता गरेको देखिएको माओवादी नेता राम कार्कीको बुझाइ छ।
“त्यो सोचविचार गरिएको एकै ठाउँबाट सञ्चालित हो कि भवितव्य हो। तर कोशीमा एमालेलाई सघाएर मुख्यमन्त्रीको चुनावको गुण तिरे,” कार्की भन्छन्, “बाँकी प्रदेशमा माओवादीसँग सहकार्य गरेर लिनुपर्ने लाभ पनि लिए।”
राष्ट्रियसभा अध्यक्षमा गठबन्धनको मुख्य दल कांग्रेसले पहिलेदेखि नै दाबी गरेको छ । कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ अध्यक्षका लागि चर्चामा छन् । पोर्टफोलियोका आधारमा अध्यक्षमा आफ्नो पनि दाबी रहने गठबन्धन दलका अर्को घटक एकीकृत समाजवादीका शीर्ष नेताहरूले बताएका छन् ।
राष्ट्रिय सभाको अध्यक्ष बनाउन माओवादी तयार भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनाव लडेको कांग्रेस नेताहरूले बताउने गरेका छन्। तर सिटौलानिकट कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापाले राष्ट्रिय सभा चुनावमा सबै दलमा अन्तर्घात देखिएको स्वीकार गरे। त्यसैले माओवादीको असन्तुष्टि स्वाभाविक रहेको तर सिटौलालाई अध्यक्ष बन्न नदिने गरी राजनीतिक घटनाक्रम विकास हुने सम्भावना नरहेको दाबी गरे।
अहिले निर्वाचित भएकामध्येबाट नै सम्भावित अध्यक्षको दाबेदार रहने सम्भावना छ । त्यसैले सत्ता गठबन्धनका प्रमुख तीन पार्टीका शीर्ष नेताहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न भित्रभित्रै लबिङ गरिरहेका छन् ।
तथापि राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्नेबारे अहिलेसम्म शीर्ष नेताहरूले मुख खोलेका छैनन् । अहिले राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीबाट उपाध्यक्ष उर्मिला छिन् । सभा अध्यक्ष संवैधानिक परिषद्को सदस्यसमेत रहेन हुँदा मुख्य दलको ध्यान यसमै केन्द्रित भएको छ ।
तर राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। अध्यक्षमा आफ्नो पनि दाबी रहने माओवादी केन्द्रले बताएको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्षका लागि माओवादीबाट स्वाभाविक रूपमा दाबी रहने प्रतिक्रिया दिए ।
आलोपालो प्रधानमन्त्री बन्ने पूर्वसहमति पालना हुनेबित्तिकै संवैधानिक परिषद्मा माओवादी शून्य हुने भएकोले राष्ट्रिय सभाको अध्यक्ष पद अन्य दललाई छाड्न नहुने सुझाव पनि पार्टीभित्रबाट नेतृत्वसम्म पुगेको छ।
यसबारे माओवादी केन्द्रको फागुन १ देखि ३ सम्म हुने विधान सम्मेलनमा व्यापक छलफल गर्ने तयारी छ।
माओवादी आफ्नो भागमा पार्न सफल भएमा राष्ट्रियको अध्यक्षमा हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल पहिलो दाबेदार हुनेछिन्। उनीबाहेक पनि माओवादीले ६ वर्षे कार्यकाल बाँकी रहेका पाका सदस्यमध्ये कसैलाई उम्मेदवार बनाउ पनि सक्छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सिटमा अध्यक्षकै लागि सम्भावित उम्मेदवार खोजी गरेर पनि पठाउन सकिनेबारे माओवादीमा छलफल भइरहेको छ।
