फेरि उप्किएको दरबार हत्याकाण्ड, ज्ञानेन्द्रको छिर्के सम्झना र प्रचण्डको जवाफ
पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार वीरगन्ज पुगेर गम्भीर विषय कोट्याए । नारायणहिटी दरबार हत्याकाण्ड (२०५८, जेठ १९)बारे उनले पहिलो पटक खुलारूपमा बोले।
‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालिलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिइरहेको छौं । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो,’ पूर्वराजा शाहले शनिबार वीरगञ्जमा भनेका थिए ।
ज्ञानेन्द्रको बोलीसँगै बालिग बनिसकेको एउटा पुस्ताले लगभग बिर्सिसकेको हत्याकाण्ड झन्डै २३ वर्षपछि फेरि बहसमा आएको छ । १६ औं शताब्दीका त्रासदीपूर्ण घटना बिर्साउने गरी २१औं शताब्दीमा भएको क्रूर हत्याकाण्डको वास्तविकता थाहा पाउन नेपाली जनता अहिले पनि लालायित छन् । जेठ १९ को मध्यरातमा तत्कालीन राजा वीरेन्द्रको परिवारको वंश समाप्त भएको थियो ।
वीरेन्द्रको हत्या राजकुमार दीपेन्द्रले गरेको, अचेत अवस्थाका दीपेन्द्रलाई राजा घोषणा गरिएको, केही दिनमै ज्ञानेन्द्रले राजगद्दी सम्हालेको जस्ता घटना रहस्यमयी थिए, छन् । हत्या भएका राष्ट्र प्रमुखको अन्त्येष्टिमा गरिएको हतारोले पनि त्यो घटनालाई झन् रहस्यमय बनाइदिएको थियो ।
दरबारको निर्देशनमा कर्मकाण्डका लागि गठन गरिएको छानबिन समितिले एउटा बनावटी रिपोर्ट सार्वजनिक गरेको थियो, जसलाई जनताको अन्तरमनले पत्याएको थिएन, छैन । बरु तत्कालीन अवस्थामा भूमिगत रहेका माओवादी नेता डा. बाबुराम भट्टराईले एक पत्रिकामा लेखेको लेख (नयाँ कोत पर्वलाई मान्यता नदिऔं)का कारण जनताले एउटा धारणा बनाएका थिए ।
प्रचण्डको जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइप्रति लक्षित गर्दै यसो भनेका हुन् । प्रचण्ड र उनको पार्टी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू शाहको गतिविधिबाट रुष्ट छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले कडा शब्द प्रयोग गरेका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले २०८० जेठ ४ गते पनि दरबार हत्याकाण्ड छानबिनको कुरा गरेका थिए ।
‘विगतका सबै वीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड । नेपालको इतिहासकै सबैभन्दा वीभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ,’ २०८० जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।