
सकिएको छैन रवि लामिछानेको करोड किस्सा, यसकारण पर्नसक्छन् कानूनी झन्झटमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संघीय संसद सचिवालय र राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा विभिन्न सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप लागेका लामिछानेमाथि छानबिनको माग गर्दै सिन्धुलीका युवराज सफलले आज उजुरी दर्ता गराएका छन् ।
सफलले ३५ हजार बचतकर्ताको करिब ५२ करोड रुपैयाँ घोटाला प्रकरणमा लामिछानेको संलग्नता के कसरी भएको हो ? सोको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उजुरीमा माग गरेका छन् ।
लामिछानेको खातामा सहकारीबाट एक करोड ८० लाख रुपैयाँ डिपोजिट भएको तथा गोरखा मिडिया नेटवर्कको सेयर खरिदबिक्रीको कागज समेत सार्वजनिक भएकाले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने सफलको माग छ । यसअघि गत बुधबार पनि सफलले लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी हालेका थिए ।
कानूनी झन्झटको सम्भावना बाँकी नै
रविमाथि कानूनी झन्झटको सम्भावना बाँकी नै छ। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले शेयर छोड्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको कागजात विवादमा परेपछि कानुनी परामर्श थालेका छन् ।
१ करोड ८० लाख खातामा लिएको बैंक भौचर भरे पनि आफ्नो खातामा रकम जम्मा नभएको बताएका उनले अर्को तमसुक सार्वजनिक भएपछि वरिष्ठ अधिवक्तासँग परामर्श थालेका हुन् ।
रविले गोर्खा मिडिया छोड्दा १५ प्रतिशत सेयरको रकम १ करोड ८० लाख लिएको देखिएको छ । तर, पैसा लिएको भनेर सरकारी अड्डामा ल्याप्चेसहित कागज गरिदिएका रविले पत्रकार सम्मेलनमा भने रकम आफ्नो खातामा नआएको बताएका थिए ।
बैंक भौचर तथा ल्याप्चेसहितको कागज बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयलाई छलेर सेयर कारोबार गरिएको भए अन्यसहित किर्तेको कानुन पनि आकर्षित हुन्छ । यसबारे पर्न सक्ने झमेलालाई लिएर उनी तनावमा छन् ।
रविले १५ प्रतिशत सेयर बेच्दा गितेन्द्रबाबु (जीबी) राईसँग १ करोड ८० लाख रुपैयाँ लिएको हस्ताक्षर र ल्याप्चेसहितको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन् । गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) लिँदा १ करोड ८० लाख रुपैयाँ लिएको भन्दै बैंक भौचर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन् । तर, त्यो पैसा खातामा नआएको र प्रक्रिया पुरा गर्न मात्र फेक भौचर बुझाइएको दाबी गरेपछि कानुनी अड्चन देखिएको हो ।
किनकि कम्पनी ऐन २०६३ अनुसार कुनै कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरबाहीसाथ कुनै झुट्टा विवरण बुझाउनु हुँदैन । यदि त्यसो गरेको भए पचास हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
एकपछि अर्को घटना
रविले कानुन विपरीतको काम गरेको प्रमाण सार्वजनिक भएको र उनले बहाना बनाउँदै पन्छिएकै आधारमा अहिलेसम्म छानबिन र कारबाहीबाट उन्मुक्ति पाएको यो पहिलो घटना हैन। अमेरिकाबाट अमेरिकी नागरिकको रूपमा नेपाल प्रवेश गरेदेखि अहिलेसम्म उनका कानुन विपरीतका गतिविधि सार्वजनिक हुने र उनले ‘थाहा थिएन’, ‘मैले गरेको हैन’ भनेर अहिलेसम्म छानबिनबाट जोगिँदै आएका घटनाहरू धेरै भैसकेका छन्।
आत्महत्या दुरुत्साहन र दोहोरो नागरिकताको सवालमा अदालतमा एकमा सफाइ र नागरिकतामा अयोग्य ठहर भयो। दोहोरो राहदानीमा मुद्दा नचल्नेगरी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयबारे सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छन्।
राष्ट्रिय राजनीतिमा रविको उदय जति छिटो भयो, उनीमाथिको संकट पनि त्यति नै छिटो बढिरहेको छ । नेपाल आउनुअघि अमेरिकामा पारिवारिक समस्यामा रविले धेरै नै कानूनी झमेला बेहोरेका थिए । रविविरुद्ध अमेरिकामा परेका विभिन्न ६ वटा मुद्दाको किनारा लागिसकेको छ । तर, अझै डिस्कभर बैंक र रैनहार्ट फूड सर्भिसले हालेको मुद्दा किनारा लागेको छैन ।
अमेरिकामा झन् बढी कानूनी झमेला फस्नुपर्ने उनी नेपाल फर्किएको दाबी उनलाई नजिकबाट चिन्नेहरूले गर्दै आएका छन् ।
