आर्टिफिसियल इन्टेलिजेन्सको दुष्प्रभावः करोडौं मानिसको जागिर धरापमा !

मूलखबर संवाददाता
काठमाडौं

आर्टिफिसियल इन्टलिजेन्स एआईका कारण विश्वभरका करोडौं मानिसहरूले जागिर गुमाउने एक अध्ययनले देखाएको छ ।एआईका माध्यम जस्तै च्याटजीपीटी र अन्य प्लेटफर्मले करोडौँ मानिसको जागिर खोसिदिने गोल्डम्यान स्याच इकोनोमिस्टको अध्ययनले देखाएको हो ।

उनीहरूले आगामी केही वर्षमा कम्युटरबाट हुने १८ प्रतिशत काम एआई सफ्टवेयरले गर्ने प्रक्षेपण गरेका हुन् । यसको अर्थ कार्यालयमा कम्युटरमार्फत् गरिने कामलाई एआईको बढ्दो प्रभावले असर गर्नेछ ।

शारीरिक बल प्रयोग हुने काममा भने एआईको भूमिका नहुने गोल्डम्यान स्याच इकोनोमिस्टले जनाएको छ ।

च्याटजीपीटीले यतिबेला निबन्ध लेख्न, लेख लेख्न खुबै भूमिका खेलिरहेको छ । यतिबेला च्याटजीपीटीको परिस्कृत रूप जीपीटी–४ सार्वजनिक भएको छ । यसले कोडिङ गर्न, वेबसाइट बनाउन र परीक्षा उच्च अंकमा पास गर्न मद्दत गर्ने बताइएको छ ।

योभन्दा परिस्कृत एआईका सफ्टवेयरहरूले शिक्षक, वेब डिजाइनर जस्ता व्यक्तिको जागिर नै खाइदिने खतरा भएको बताइएको छ । एआई कम्प्युटर विज्ञान र बलियो डेटासेटहरूको संयोजन हो । यो मानिसहरूको समस्या समाधान गर्न सक्षम भएको विज्ञहरू बताउँछन् ।

यसैबिच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एउटा विश्लेषण सार्वजनिक गरेको छ । कोषका अनुसार एआईले विश्वभर करोडौं जागिर खाइदिनेछ । एआई र एआई टूलका कारण विश्वभर ४० प्रतिशत जति जागिर प्रभावित हुने आईएमएफको विश्लेषणमा भनिएको छ । उदीयमान बजार र कम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएको देशहरुले धेरै जोखिमको सामना गर्नु पर्नेछ ।

‘धेरैजसो मामिलामा एआई प्रविधिले चिन्ता बढाउनेछ । यस्तो हालतबाट बच्न सरकारले सक्रिय रुपमा काम गर्न जरुरी छ ।’ कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जेभाले यो अध्ययनबारे एउटा ब्लग पोष्टमा भनेकी थिइन् । एआईका कारण श्रम बजारमा आयसँग सम्बन्धित असमानता बढ्ने पनि बताइएको छ । एआईको चपेटामा आउने कामदारहरुका लागि व्यापक सामाजिक सुरक्षा सञ्जाल र पुनः प्रशिक्षण कार्यक्रम सुरु गर्नु पर्ने जर्जेभाको भनाई छ ।