सत्ताबाहिर अतासिएका ओली, राष्ट्रियसभामा भाग नपाउँदा मध्यावधि माग्ने बालहठ

मूलखबर संवाददाता
काठमाडौं

संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताबाहिर बस्नुको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पेल्न खोज्दा सत्ता बाहिर पुगेको एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेको पीडा सहन कठिन परिरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनयता अप्रत्याशित रूपमा २०८४ सालको चुनाव पनि कुर्न नसकिने बताउन थालेका छन् ।

केही दिन अगाडिसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलकै बोलीमा लोली मिलाउँदै थिए, ओली । भागबन्डाका लागि चुपचाप हात पसारेका प्रमुख प्रतिपक्षी दलका नेता ओलीको बोली फेरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बिहीबार ओलीले देश बर्बाद हुन लागेको भन्दै २०८४ नकुर्ने भन्दै आन्दोलनको तयारीमा होमिन नेता/कार्यकर्तालाई निर्देशन दिए । उनी यत्तिमै रोकिएनन्, उस्तै परे यो सत्ता गठबन्धन पनि भत्काउनुपर्ने बताए ।

‘भ्रष्टाचार, तस्करी, कमिसनखोरी र त्यसको रक्षाबाहेक यो सरकारले केही गरेको छैन । यस्तोमा हामीले मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन पनि सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ मिसन ८४ को चुनाव भनेर पर्खिने ?,’ पार्टी निकट नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘उस्तै परे यो गठबन्धन भत्काउनुपर्छ ।’

विश्लेषकहरू केन्द्र र प्रदेशका सत्ता गुमाएर लामो समय बाहिरै बस्नुपर्ने भएपछि ओलीमा चरम विरोधाभास र छटपटाहट देखिएको बताउँछन् ।

‘सत्ता गुमेको पीडामा एमाले अध्यक्ष ओली छन् । त्यो पीडाबाट मुक्त नभएपछि अहिलेसम्म ०८४ मा बहुमत ल्याउँछौं, त्यसका लागि तयार हुनुस् भन्दै कार्यकर्तालाई इन्गेज गर्न खोजेका थिए,’ एक विश्लेषकले मूलखबरलाई भने, ‘०८० मा मिसन ८४ आउँदैन, अहिले ओली एक कदम अगाडि बढेर ०८४ नै कुर्न सक्दैनौं भनेर थप हताश बनिरहेका छन् ।’

संसद्का समितिमा भागबन्डा खोज्ने, राष्ट्रिय सभामा पनि आश गर्ने अनि नपाएपछि बोल्ने कुरामा विरोधाभाष झल्किने उनले बताए ।

सरकार र सत्तारुढ दललाई हेर्ने र बुझ्ने दृष्टिकोणमा पनि ओलीमा एकरूपता छैन । परिवर्तनविरोधीले खेल्न खोजेको भन्दै संविधान, गणतन्त्र बचाउन प्रमुख तीन दल एक हुनुपर्छ भन्नेमा पनि ओलीले प्रचण्ड र देउवासँग लोली मिलाएका थिए ।

भूमिकाले प्रमुख प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्नुपर्ने जिम्मेवारीमा ओली छन् । तर, विपक्षीबाट गर्नुपर्ने खबरदारी र विवादित विषयमा समेत ओली नरम देखिँदै आएका छन् ।

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दल व्यवस्थाकै गहना मानिन्छ । सरकारलाई निरन्तर खबरदारी गर्ने र विकल्पको रूपमा प्रस्तुत हुने प्रतिपक्षको भूमिका हुनुपर्ने हो । तर, ओलीले सत्तासँग संसदीय समितिमा भागबण्डा लिएर आफ्नो त्यो भूमिका निभाउन सकेनन् ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा होस् वा माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्दा नै किन नहोस्, ओलीले सत्तारुढ दलका नेता जति पनि बोलेनन् ।

बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर दुईजनाको निधन हुँदासमेत ओली सरकारविरुद्ध बोलेनन् । बरु राजनीतिक प्रतिशोध साँध्ने हिसाबले नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधारमन्त्री भएका प्रकाश ज्वालामाथि खनिए ।

पद र सत्तामा भाग पाउने लोभले प्रचण्डप्रति नरम बनेका उनी फेरि निराश बनेका छन्। एक महिना नपुग्दै ओलीले ०८४ सालको निर्वाचनसम्म पर्खिन नसक्ने भनेर विवादित बयान दिएका छन् ।

राजनीतिक विश्लेषकहरू अहिले कसैको बहुमत भएन भन्ने ओलीले यसअघि पाएको झण्डै दुईतिहाइ बहुमतलाई सम्झनुपर्ने तर्क गर्छन् । ओलीले सत्ताको सदुपयोग गर्न नसक्ने पुष्टि भैसकेको उनीहरूको निष्कर्ष छ।