युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री प्रचण्डको अन्तरक्रिया, सम्मेलनमा सम्बोधन आज
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन्।
युगान्डामा रहेका नेपालीहरूले आफूले व्यहोरेको समस्याबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री प्रचण्डले युगान्डामा आफू पहिलोपटक आइपुगेको बताउँदै त्यहाँ रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध र गम्भीर रहेको बताएका थिए।
‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो।
विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने प्रधानमन्त्रीले बताएका थिए।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरे।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभाव भेटेको महसुस भएको बताइन्।
कार्यक्रममा गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कँडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे बताएका थिए।
सम्मेलनमा सम्बोधन आज
प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ ।
आजै प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।
सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड हिजो बिहान युगान्डा गणतन्त्र प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।