बाबुरामसँग एकताको अन्तिम सुरसारसँगै प्रचण्डले पेरिसडाँडामा गरेको ब्रिफिङ

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ । शनिवार पार्टी मुख्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समिति बनाएको हो ।

नेसपाले यसअघि नै बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाइसकेको छ । माओवादीको तर्फबाट एकता संयोजन समिति बनाउन ढिलाइ हुँदा दुई पार्टीबीचको एकता प्रक्रियाले गति लिन सकेको थिएन । मओावदीको निर्णयसँगै दुई पार्टीबीच एकता अघि बढाउन बाटो खुलेको हो ।

बैठकमा पार्टी एकताको विषयमा छलफल भएको र पार्टी एकता संयोजन समिति पार्टी अध्यक्षको नेतृत्वमा बनाउने निर्णय भएको सापकोटाले जानकारी दिए ।

यस्तै माओवादीले आउँदो फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘हामीले विधान सम्मेलनको विषयमा मुख्य छलफल गर्यौं । विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म गर्ने निर्णय भएको छ । यसको लागि प्रतिनिधि छान्ने मापदण्ड बनाए छौं, अब माघ २६ गते बस्ने अर्को स्थायी कमिटीले बाँकी काम गर्नेछ,’ सापकोटाले भने, ‘बैठकले पार्टी अध्यक्षको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।’

यस्तै बैठकले विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएको छ ।

बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । त्यसमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले उनीहरूको रिपोर्टको संश्लेषण गरेका थिए ।

माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि समन्वय समिति गठन गरेको जानकारी पनि उनले दिए ।

विधान मस्यौदाको चटारो

अब विधान मस्यौदा समितिमा तलैसम्म सुझाव लिने पनि प्रवक्ता सापकोटाले बताए ।

‘मस्यौदा समितिले मस्यौदा सबैलाई बाँडेको छ । तलैसम्मको सुझाव लिन्छौं । जनताको समेत सुझाव लिएर आगामी स्थायी समितिमा छलफल गरिन्छ । अनि विधान सम्मेलनमा जान्छौं,’ उनले भने, ‘माओवादीले परिवर्तन र अग्रगमनको नेतृत्व गरेको छ । अब सिंगो राज्यलाई निर्देश गर्ने गरी अगाडि बढ्छौं । जनस्तरबाट छलफल गरेर विधान अधिवेशन गर्ने, नेपाली विशेषता र मौलिकताको विधान बनाएर अगाडि बढ्छौं ।’

माओवादी केन्द्रले जनताको सबै प्रकारका गुनासा र समस्याको सम्बोधन गर्ने, रोजागरी बढाउने, गरिबी हटाउने, आधारभूत विषयलाई प्राथमिकता राख्ने तयारी गरेको सापकोटाले बताए ।

पार्टीले पम्फा भुसालको नेतृत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । सोही समितिले पार्टीलाई विधानको मस्यौदा बुझाएको थियो । विधानमा अब २१ दिनसम्म पार्टीका तल्लो कमिटीसँग सुझाव लिने तयारी छ ।

रुपान्तरण अभियान प्रभावकारी

बैठकमा पार्टीको रुपान्तरण अभियानको प्रारम्भिक समीक्षा भएको माओवादी केन्द्रले जनाएको छ । अभियानका विषयमा प्रदेश इन्चार्जबाट रिपोर्टिङ लिने र प्रारम्भिक समीक्षा गर्ने काम भएको प्रवक्ता सापकोटाले बताए । विस्तृतमा स्थायी समितिबाट निर्णय हुने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले यसपटकको अभियान विगतको भन्दा प्रभावकारी भएको बताएका थिए ।

‘अध्यक्षले अभियान विगतका भन्दा सबैभन्दा प्रभावकारी भएको बताउनुभयो । अभियानले पार्टीलाई गतिशीलता दिने पार्टीको अभियान सफल बनाउन कोशेढुंगा सावित भएको ठहर गरेको छ,’ उनले भने, ‘निर्वाचनमा मात्रै होइन अघिपछि पनि माओवादी आउँदारहेछन् भन्ने विश्वासको आधार बनेको छ । कार्यकर्तामा आशा पलाएको छ ।’

मूल्यांकनको आधार राम्रोसँग बनाएको, पार्टी काममा नेता कार्यकर्ताको योगदानको मूल्यांकन गरेको माओवादी केन्द्रको भनाइ छ ।

प्रचण्डको ब्रिफिङ

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले बैठकमा आर्थिक विकासलाई आफूले मूलमन्त्र बनाएको बताएका थिए ।

‘प्रधानमन्त्री एवं अध्यक्षले कूटनीतिमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । तर मुख्य जोड आर्थिक विकास नै भन्ने छ । यसैले बजेट बनाउँदा पुरानो अभ्यासलाई अन्त्य गर्ने बताउनुभएको छ,’ प्रवक्ता सापकोटाले भने ।

अब बजेट बनाउँदा सरकार, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगको छलफलमा मात्रै सीमित नहुने पक्षमा प्रधानमन्त्री रहेको उनले बताए ।

‘बजेट बनाउँदा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको कुरा उठाइन्छ । बजेटको सिलिङ बनाउन सबैसँग छलफल गरिन्छ । आमूल परिवर्तन गर्ने, आर्थिक विकासमा सर्वाधिक जोड दिने गरी बजेट ल्याउने प्रण प्रधानमन्त्रीले गर्नुभएको छ,’ उनले थपे ।

यसका लागि नीति कार्यक्रम एक–दुई महिनाअघि छलफल गर्ने तयारी प्रधानमन्त्रीले गरेको पनि सापकोटाले जानकारी दिए ।