
राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बन्दै माओवादी, एमालेको तेस्रोमा घटुवा
आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख््यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्ति पूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
सबैभन्दा ठूलो दल माओवादी
अबको निर्वाचनपछि राष्ट्रिय सभामा १७ सिट सहित पहिलो दल रहेको नेकपा एमाले ८ सिटमा सीमित भएर तेस्रोमा झर्दा १४ सिटसहित दोस्रो दल रहेको माओवादी १७ सिटसहित पहिलो बन्नेछ। यस्तै, १० सिटसहित तेस्रोमा रहेको नेपाली कांग्रेस दोस्रो दल बन्नेछ।
सत्ता गठबन्धनभित्र धोकाधडी नभए माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्ने निश्चित छ। माओवादीबाट राष्ट्रिय सभामा ३ जनाको पदावधि आउँदो फागुन २० गतेबाट सकिँदैछ। गठबन्धनका दलले रिक्त सिट आफैँले राखेर एमालेबाट रिक्त हुने ८ सिटको भागबण्डा गरेका छन्। कांग्रेसले पाँच र माओवादीले ३ सिटमा प्रतिस्पर्धा गर्नेछन्।

माओवादीले बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा सुवेदी, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कुप्रसाद सुवेदी, सुदूरपश्चिमबाट रेणु चन्द र कोशीबाट चन्द्रादेवी कार्कीलाई उम्मेदवार बनाएको छ।
अहिले माओवादी केन्द्रबाट १४ जना राष्ट्रिय सभामा छन्।
विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको ६ वर्षको अवधि सकिँदैछ। रिक्त हुने तीन र बाँकी ३ सिट जितेको अवस्थामा राष्ट्रिय सभामा माओवादी पहिलो दल बन्छ।
सत्ता गठबन्धनका चार दलको बर्चस्व रहेकोले जितका लागि यी दलका उम्मेदवारलाई कठिनाइ नहुने आँकडाले देखाउँछ। तर, कांग्रेसको आन्तरिक विवादको प्रभाव चुनावमा देखिनसक्ने भय भने उनीहरुमा छ।
माओवादीका उमेदवार
गठबन्धबाट ६ सिटमा भागमा परेको माओवादी (केन्द्र)ले जनआन्दोलनका घाइतेदेखि समानुपातिक सूचीमा पटक–पटक परेकाहरूलाई उमेदवार बनाएको छ । जसअन्तर्गत कोसी प्रदेशको महिलातर्फ चम्फादेवी कार्की उमेदवार बनेकी छन् ।
ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन् । उनी तीनपटक समानुपातिक सूचीमा (२०६४, २०७० र २०७९ मा) परेकी थिइन् ।
२०७४ को स्थानीय तहको चुनावमा उनी ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा पराजित भएकी थिइन् । माओवादीले अपांगता–अल्पसंख्यक कोटामा नुवाकोटका श्रीकृष्ण अधिकारीलाई उमेदवार बनाएको छ ।
उनी हाल माओवादी केन्द्रको प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष हुन् । उनी जनयुद्धका घाइते हुन् । गण्डकीबाट महिला कोटामा उमेदवार बेनेकी मनरुपा शर्मा सुवेदीले द्वन्द्वकालमा श्रीमान् गुमाइन् ।
उनी २०६४ को संविधानसभा चुनावमा पर्वत– १ मा पराजित भएकी थिइन् । २०७९ को मंसिरमा सम्पन्न चुनावको समानुपातिक सूचीमा परेकी थिइन् । बन्दसूचीबाट नाम फिर्ता लिएर उमेदवार बनेकी हुन् ।
लुम्बिनी प्रदेशमा अन्यतर्फ माओवादीका झक्कु सुवेदीले उमेदवारी दर्ता गराएका छन् । उनी २०६४ को पहिलो संविधानसभा चुनावमा चर्चा बटुलेका थिए । काठमाडौँ– २ बाट एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए ।
र, २०७० को चुनावमा पराजित उनी माओवादीका केन्द्रीय सदस्य हुन् । कर्णालीबाट दलित क्लष्टरमा विष्णु विकले उमेदवारी दर्ता गराएका छन् । उनी माओवादीको कालीकोट जिल्ला इन्चार्ज हुन् । दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश इन्चार्ज पनि हुन् ।
रेणु चन्द सुदूरपश्चिमबाट महिला क्लष्टरमा उमेदवार बनेकी छन् । उनी २०६४ सालमा बैतडी–२ बाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । हाल उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्जको भूमिकामा छन् ।
