भारत पाकिस्तान क्षेप्यास्त्र प्रतिस्पर्धा, पाकिस्तानको निशाना नचुक्ने ‘फतह-२’ रकेट
पाकिस्तानले केही दिनअघि एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता भएको ‘फतह-२’ रकेट सफलपूर्वक परीक्षण गरेको छ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार यो रकेट ४०० किलोमिटरको दूरीसम्म प्र हार गर्न सकिन्छ र यसमा लक्ष्यभेदन गर्न सक्ने क्षमता छ।
यसअघि पाकिस्तानले सन् २०२१ को अगस्ट २४ मा परीक्षण गरेको थियो।
अहिले परीक्षण गरिएको क्षेप्यास्त्रको विशेषता के हो त?
आईएसपीआरका अनुसार ‘फतह-२’ क्षेप्यास्त्र प्रणालीमा उडानको आधुनिक क्षमता र लक्ष्यभेदन गर्न सघाउने प्रविधि प्रयोग गरिएको छ।
लक्ष्यभेदनका लागि उन्नत प्रविधि प्रयोग गरिएकाले फतह-२ फरक क्षेप्यास्त्र भएको आईएसपीआरको तर्क छ। यो क्षेप्यास्त्रको सम्पर्क भूउपग्रहसँग हुन्छ र हावामा उडान गर्न सक्ने यसको क्षमताका कारण यो अझै बढी प्रभावशाली बनेको छ।
आईएसपीआरका अनुसार प्रक्षेपण गरेपछि यो क्षेप्यास्त्र चुक्दैन।
सैन्य अस्त्र र सामग्रीका विशेषज्ञका अनुसार फतह-२ ‘फ्ल्याट ट्र्याजक्टरी भिअकल’ हो। अर्थात् रेडारले यसलाई पत्ता लगाउन सक्दैन।
रक्षा मामिला विशेषज्ञ ब्रिगेडियर (अवकाशप्राप्त) साद मोहम्मदले बीबीसीसँग कुरा गर्दै ‘फतह-२’ फ्ल्याट ट्र्याजक्टरी भिअकल भएको र यसलाई रेडारमा देख्न र नष्ट गर्न असाध्यै कठिन हुने बताए।
“बलिस्टिक क्षेप्यास्त्रको आफ्नो बाटो हुन्छ। त्यो हावामा जान्छ र त्यहाँबाट फेरि जमिनमै फर्किएर आउँछ। त्यो अवधिमा शत्रुपक्षको रेडारले क्षेप्यास्त्र पत्ता लगाउँछ र जबाफी कारबाही गर्छ जबकि त्यसको ट्र्याजक्टरी (प्रक्षेपमार्ग) फरक हुन्छ।”
भारतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली
केही विशेषज्ञका अनुसार ‘फतह-२’ को सफल परीक्षणपछि भारतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसँग जुध्न यो एक प्रभावकारी हतियार बनेको छ।
तर भारतले केही समयदेखि आफ्नो क्षेप्यास्त्र प्रणालीलाई झन् राम्रो बनाइरहेको कुरा यहाँ बिर्सिन हुँदैन।
भारतले आफ्नो रक्षाप्रणालीमा लामो दूरीसम्म पठाउन सक्ने ‘एस-४०० ट्रायम्फ’बाहेक स्थानीय स्तरमा निर्मित र कम दूरीसम्म पुग्ने समर र डीआरडीओले बनाएको भीशोराड्स क्षेप्यास्त्र पनि समाविष्ट गरेको छ। यो क्षेप्यास्त्रले एकदमै कम दूरीमा रहेको लक्ष्यलाई निसाना बनाउन सक्छ।
यो क्षेप्यास्त्र समुद्री मोर्चामा पनि उपयोगी छ।
द टाइम्स अफ इन्डियाका अनुसार भारतले ‘एल आर साम’ को नामबाट क्षेप्यास्त्र प्रणाली निर्माण गरिरहेको छ। यो प्रणाली रुसको ‘एस-४०० ट्रायम्फ’ रक्षाप्रणालीजस्तै हो।
यो प्रणालीबाट लामो दूरीसम्मको निगरानी गर्न र रेडार नियन्त्रण गर्न सकिन्छ। त्यसै गरी यसबाट १५० किमि, २५० किमि र ३५० किमिको दूरीमा वास्तविक समयमै क्षेप्यास्त्र पत्ता लगाउन र त्यसलाई नियन्त्रणमा लिने क्षमता पनि हुने छ।
भारतको रणनीति
भारत आफ्नो रक्षाप्रणालीमा क्षेप्यास्त्र प्रविधि प्रयोग गरेर आफ्नो सेना, परमाणु संयन्त्र र ठूला सहरको सुरक्षा गर्ने रणनीतिमा काम गरिरहेको छ।
भारतले लामो समयदेखि इजरेलबाट ‘आइरन डोम मिसाइल डिफेन्स सिस्टम’ प्राप्त गर्न खोजेको छ।
सन् २०१३ को जुलाईमा ‘टाइम्स अफ इजरेल’मा छापिएको समाचारअनुसार इजरेल ‘आइरन डोम’ किन्ने भारतको इच्छाबारे कुराकानी गर्न तयार थियो। इजरेल उक्त प्रणालीसहित अरू प्रविधि पनि भारतलाई दिन सहमत थियो।
भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनन्ट जेनरल तथा रक्षा विश्लेषक एचएस पनागका अनुसार धेरै देशले आइरन डोम प्राप्त गर्ने इच्छा राखेका हुन्छन्। तर त्यो प्रयोग गर्ने कुरा पैसा र प्रविधिमा निर्भर हुन्छ।
पैसा र प्रविधि भए त्यो आफैँ बनाउन सकिने उनी बताउँछन्। तर ती विवरणहरूलाई सतर्कतासाथ हेर्नुपर्ने उनको धारणा छ।
“भारतसँग रक्षासम्बन्धी प्रविधिको कमी छ भन्ने विभिन्न अभिलेखबाट थाहा हुन्छ। तर प्रत्येक दिन पत्रपत्रिकामा धेरै विवरणहरू छापिन्छन्। तिनमा हामीले यो बनायौँ, त्यो बनायौँ भन्ने छापिएको हुन्छ तर भित्री वास्तविक कुरा अर्कै हुन्छ।”
रक्षा मामिला विशेषज्ञ राहुल भोंसलेका अनुसार भारतमा राजधानी दिल्ली या व्यापारिक केन्द्र मुम्बईजस्ता महत्त्वपूर्ण क्षेत्रको सुरक्षाका लागि यस्तो प्रणाली आवश्यक पर्न सक्छ।
“तर हामीलाई त्यति खतरा पनि छैन। यो प्रणालीले प्रहार गरिएको रकेटविरुद्ध राम्रो काम गरेको पाइन्छ। जसको प्रयोग उदाहरणका लागि हमासले गर्ने गर्छ,” उनी भन्छन्।
“पाकिस्तानसँग त्यस्तो गर्ने क्षमता छ तर यसबाट के फाइदा हुन्छ र? किनभने त्यसको जबाफमा हुने प्रतिक्रिया पनि चर्को नै हुने छ।”
राहुल भोंसले यो प्रणाली असाध्यै महँगो भएको र भारतसमक्ष भिन्न खालका खतराहरू भएको अनि संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा गर्न भारतसँग पहिलेदेखि नै त्यस्तो प्रणाली भएको औँल्याउँछन्।
पाकिस्तानको परमाणुअस्त्र र क्षेप्यास्त्र मामिला विशेषज्ञ सैयद मोहम्मद अलीले बीबीसीलाई भारतले इजरेली ‘आइरन डोम’ प्रविधि तीन कारणले प्राप्त गर्न चाहेको बताए।
पहिलो, भारतको क्षेत्रफल अति धेरै छ र इजरेलभन्दा कैयौँ गुणा ठूलो छ। आइरन डोम इजरेलको क्षेत्रफलको हिसाबले असाध्यै प्रभावकारी भएको देखिन्छ। तर भारत जस्तो ठूलो क्षेत्रफल भएको देशका लागि धेरै प्रभावकारी नहुन सक्छ।
उनले भने, “हमासको रकेट रोक्नका लागि इजरेलले आइरन डोम प्रयोग गरिरहेको छ। यो पुरानो तरिकाको प्रणाली हो जुन दोस्रो विश्वयुद्धमा जर्मनहरूले प्रयोग गर्थे।”
“भारतले चीन र पाकिस्तानको तर्फबाट असाध्यै ठूलो सङ्ख्यामा ठूला र आधुनिक हतियार सामना गर्नुपर्ने हुन सक्छ। भारतसँग आधुनिकतम एस४०० क्षेप्यास्त्र प्रणाली पनि छ। तर त्यसले पनि पाकिस्तानी क्षेप्यास्त्रबाट पूर्ण रूपमा सुरक्षा उपलब्ध गराउन सक्दैन।”
बीबीसीबाट