समाज, सभ्यता र संस्कृतिबारे समाजशास्त्रीय चिन्तन
बेलाबेलामा चल्ने सांस्कृतिक रुपान्तरणका सवालले समाजका अन्य अवयवलाई भन्दा हामी समाजशास्त्रका विद्यार्थीलाई बढी उद्धेलित बनाउँछ नै । आजको सामाजिक सञ्जालको युगमा यो मज्जाले पढ्न र अनुभूत गर्न पनि पाइन्छ ।
आदर्श समाजको परिकल्पना गर्नेहरुले के भने र भन्छन् दोस्रो सवाल हो, मुख्य र सार्वभौम कुरा भनेको संस्कृति तत्कालीन समाजको अभिव्यक्ति हो । त्यसो त संस्कृति जीवन व्यवहार हो र सभ्यताबाट निस्तृत सिद्धान्त पनि हो । सभ्यता भनेको तत्कालीन समाजको आधुनिक रुप हो भने संस्कृति त्यसको सैद्धान्तिक रुपान्तरण हो ।
आजका दिनमा साना नानीहरु टाइ लगाएर स्कूल जानु सभ्यता हो भने विद्यालयहरुले टाइ अनिवार्य गर्नु संस्कृति हो । हामी छिनिएका प्लाष्टिकका चप्पलमा भिम्मलका लोक्ता बाँधेर स्कूल जान्थ्यौं, हाम्रा छोराछोरी टाइ छिनियो भने स्कूल जान मान्दैनन्, यसलाई के भन्नुहुन्छ ? तपाइँ हाँस्नुहुन्छ होला, मैले चाहि कक्षा १० मा पढ्दा पेन्ट लगाएको हो, त्यसअघि गाउँकै बीरभान दाईले सिलाएको जायाँ लगाएर कक्षा ९ सम्म नेभर सेकेण्ड (सँधै विद्यालय प्रथम) भएकै हो ।
अब विहेकै कुरा गरौं, न मैले ब्यानरमा मुठी उठाएँ, न हजारौंलाई भोज खुवाएँ । घरमै पालेका दुुइवटा खसी काटेकै हो, चार गाउँका आफन्त बोलाएर भोज खुवाएकै हो तर धेरै अघि पनि होइन, विसं २०६३ सालमा कूल १० हजारले विहे सकेकै हो ।
म जनयुद्धको सक्रिय समर्थक र केही युद्ध मोर्चाको सहभागी पनि तर मैले कुनै वर्ष दशैं वा तिहार बहिष्कारको भाउता गरिनँ किनकि त्यसो गर्दा म परिवार र समुदायबाट बहिष्कृत हुन्छु भन्ने मलाई राम्रोसँग थाहा थियो । त्यतिबेला आजको जस्तो सामाजिक सञ्जाल थिएन, हुन्थ्यो भने मैले टिका लगाएका तस्विर मज्जाले राखेर पारिवारिक खुशी बाँड्थे पनि । अहिले पनि कूल पूजामा सकेसम्म जन्मघर पुग्छु र नपुुगे पनि धजाभेटी पठाउँछु, यो मेरो पूर्खाप्रतिको सम्मान हो भन्ने मेरो बुझाई हटेको छैन ।
म, मेरो परिवार, समाज र संस्कृतिसँग जोडिएका कुनै पनि धार्मिक वा सांस्कृतिक अवसरमा सहभागिता छुटाउदिनँ । मैले जस्तै मेरो छोराको विहे १० हजारमा सक्दैन होला तर मैले थप ऋण कारेर पनि छोराको विहेमा बढी फूर्तिफार्ती चाहि गर्ने छैन किनकि म जे सक्छु, त्यही गर्नेछु । मैले यहाँ यति वृत्तान्त किन लेखें भने यो सब मैले मेरो समाजशास्त्र बताएको हुँ ।
म समाजशास्त्रको विद्यार्थी भएकाले यति भन्नैपर्छ, हरेकले आफ्नो सभ्यता त्यतिबेलाको समय र आफ्नो जीवनको सापेक्षतामा प्रस्तुत गर्ने हो । त्यही सभ्यता नै अन्ततः संस्कृति बन्ने हो । म पनि अलि आदर्श समाज नै चाहन्छु तर त्यो कल्पनाको कुरा भयो । खासमा सभ्यता भनेको जीवन व्यहार, समाज र भोगाइबाट उत्पत्ति हुने परिणाम हो, त्यही नै अन्ततः संस्कृति हो ।
बेलाबेलामा चर्चामा आउने घटनाक्रम तत्कालीन समाज र त्यसका सदस्यहरुको सामाजिक हैसियतकै अभिव्यक्ति हुन् । मात्र हामीले यसो भइदिएको वा नभइदिएको भए हुन्थ्यो भनेर परिकल्पना गछौं, त्यो आदर्श हो । आदर्श सत्य हुन्थ्यो भने उपतिबेलै प्लेटोले सम्पत्तिविहीन शासकको परिकल्पना गरेकै हुन् ।
र, अत्यमा यति चाहि भन्न सकिन्छ, हामीले आफ्नो जीवन दर्शनमा आदर्शलाई उचित स्थान दिऔं तर भन्नका लागि होइन गर्नका लागि । आफूले गर्दा व्यहारिकता र अरुले गर्दा सिद्धान्त खोज्ने प्रयास हामीले गरेनौं भने यदाकदा आउने यस्ता बहस सीमित घेरामा रहनेछन् किनकि हामी अधिकांश नेपाली औसत अवस्थामै छौं, जसले चाहेर पनि उत्पात मच्चाइहाल्न हाम्रो परिवेश र वर्गीय धरातलले दिंदैन ।
(केसी सञ्चार सुचना तथा प्रविधि मन्त्रीका प्रेस सल्लाहकार हुनुहुन्छ )