गाजामाथीको हमला तत्काल रोक, युद्वविराम गर !

अरून्धती राेय

संसारभरीका यहूदी, मुसलमान, ईसाई, हिन्दू, कम्युनिष्ट, आस्तिक र नास्तिकगरी लाखौँ–लाख मानिस सडकमा प्रदर्शन गरिरहेका छन् र गाजामा तत्काल बमबारी रोक्न माग गरिरहेका छन्। यी लाखौँ मानिसको आवाजमा आफ्नो आवाज नमिसाईकन म कुनै पनि सार्वजनिक मञ्चमा उभिन सक्दिन। हो, जर्मनीमा पनि सक्दिन, जहाँ मलाई थाहा छ कि मेरो जस्तो विचार एकप्रकारले प्रतिबन्धित नै छ।

हाम्रो जीवनको नितान्त अन्तरंग जीवनमा पनि लाईवस्ट्रीम भइरहेको अवस्थामा यो निर्लज्ज कत्लेआमलाई हामीले निरन्तर चल्न दिइरह्यौँ भने हामी पनि यो कत्लेआमको हिस्सेदार बन्नेछौं। हाम्रो नैतिक धरातल सधै-सधैका लागि फेरिनेछ।

अस्पतालमा बमबारी भइरहेको, दसौं लाख मानिस विस्थापित भइरहेको र भग्नावशेषबाट हजारौं केटाकेटीको लास निक्लिरहेको के हामी चुपचाप उभिएर हेरिरहने? के हामी फेरी एकपटक मौन यो दृष्य हेरिरहने छौं गाजाबासीलाई यो संसारबाटै मेटाई दिँदा पनि केही फरक पर्दैन?

पश्चिमी किनारामा इजरायली कब्जा र गाजामाथी भइरहेको घेराबन्दी मानवताविरुद्धको अपराध हो। संयुक्त राष्ट्र अमेरिका र अरु केही देशहरु, जसले यो कब्जाका लागि आर्थिक र सैन्य सहायता उपलब्ध गराइरहेका छन्, यस अपराधमा बराबरका दोषी छन्,। अहिले हामीले जुन भयानक अवस्थाका साक्षी बनिरहेका छौं त्यो हमास र इजरायलद्धारा नागरिकमाथी गरिएको लज्जाहिन कत्लेआम, घेराबन्दी र कब्जाको नतिजा हो।

दुबै पक्षद्धारा गरिएको जति नै क्रुरताको ब्यहोरा पेश गरिए पनि, उनीहरुको ज्यादतिको जति नै निन्दा गरिए पनि, उनीहरुको अत्याचारबीच समानता छ भनेर जति भनेपनि– त्यसले हामीलाई कुनै समाधानतर्फ लैजाने छैन। यो त्रासदीलाई निम्त्याउने एउटै कारण हो– कब्जा।

कब्जा नै त्यो कारण हो, जसले अपराध गर्ने र त्यस अपराधको निसाना बन्ने दुबैमाथी हिंसा थोपरिरहेको छ। पीडितहरु मारिएका छन्। यसका अपराधीहरु र, उनका भावी सन्ततीहरुले पनि, अब आफ्नो अपराधबोधका साथ जिउनुपर्नेछ।

फौजी कारबाहीद्धारा यसको कुनै हल सम्भव छैन। इजरायली र प्यालेस्टिनी दुबै सम्मानका साथ र समान अधिकारका साथ एकसाथ वा एक–अर्कासँगै बस्नु यसको एक मात्रै राजनीतिक समाधान हुन सक्छ।

संसारका सबैले यसका लागि हस्तक्षेप गर्नु जरुरी छ किनभने यो कब्जाको अन्त्य जरुरी छ। प्यालेस्टिनीहरुले साच्चैको एउटा देश पाउनु जरुरी छ। होइन भने पश्चिमी सभ्यताको नैतिक जग भत्किने निश्चित छ। हामीलाई थाहा थियो– यो दुईधारे तरबार हो भन्ने तर पनि त्यसैमा भए पनि एकखालको शरण पाइन्थ्यो। त्यो शरण पनि हाम्रो आँखै अघिल्तिर नामेट हुँदैछ। त्यसैले प्यालेस्टाइन र इजरायलका लागि, जो जिउँदो छन् उनीहरुका लागि, जो मारिए उनीहरुको नाममा, हमासद्धारा बन्धक बनाइएका मानिसका लागि र इजरायली जेलमा थुनिएका प्यालेस्टिनीहरुका लागि, सम्पूर्ण मानवताका लागि गाजामाथीको हमला तत्काल रोकियोस।

तत्काल युद्ध विराम गर !

– म्युनिख लिटरेचर फेस्टिभल (नोभेम्वर १७, २०२३)मा रोयबाट प्रस्तुत विचार।