
गाजा युद्ध रोक्नका लागि राष्ट्रसंघ महासचिवले चाले विशेष कदम, अब के होला
इजरायल र हमासबीच युद्ध शुरु भएको २ महिना वितेको छ। यो बीचमा इजरायल पक्षबाट गाजा स्ट्रिपमा आक्रमणले करिब १५ हजार बढी मानिसहरु मारिएका विवरणहरु सर्वजनिक भएका छन्। युद्धको पहिलो दिन अक्टोबर ७ का बिहान हमास विद्रोहीहरुले इजरायलमा घुसेर करिब १२०० मानिसको हत्या गरेका थिए। परिणामतः ७ अक्टोबरपछि इजरायले सम्पूर्ण शक्ति, विशेष गरी अमेरिका लगायतको सैन्य सहयोग लिएर ठूलो संख्यामा प्यालिस्टिनी नागरिक मारिने गरी आक्रमण गरिरहेको छ।
सो युद्धका अनेक सह–उत्पादनहरु छन्। गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक धेरै चपेटामा परेका छन् भने करिब २० लाख आवादी रहेको सो क्षेत्रबाट सबै नागरिक इजिप्ट लगायत तेस्रो मुलुक पुग्ने हतारमा छन्। तर सो बाटो उति नै कठिन छ।
जर्जर युद्ध रोक्न विश्व भरिबाट आग्रह भइरहेको छ। विशेष गरी इजरायली सेनालाई हमला रोक्न र पछि हट्न शान्ति पक्षधर देश र अधिकारीहरुले आग्रह गरिरहेका छन्। यसका लागि विश्वकै ठूलो संगठन संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस मुख रुपमा सो युद्ध अन्त्य होस् भन्ने अपिल गरिरहेका छन्। पोर्चुगलका समाजवादी नेता तथा प्रधानमन्त्री समेत भइ सकेका महासचिव गुटेरस इजारलयले तत्काल युद्ध रोक्नुपर्ने धाराणा राख्छन्।
सो युद्ध सुरु भएपछि नेपाल आइपुग्दा सगरमाथाको फेदबाट होस् वा मानव बस्ती असम्भव बनेको अंटार्कटिका पुगेर होस् उनले इजरायल–हमास युद्ध टुङ्गिएको देख्न चाहेको बताएका छन्। उनले बोल्ने सबै फोरमबाट उक्त युद्धले बिट मार्नु पर्ने वकालत गर्छन्। तर उनी जति चिन्तत देखिन्छन् त्यसको गुणामा अमेरिका लगायत पश्चिमा देशले इजरायललाई धाप दिइरहेका छन्। जसका कारण युद्धको गति तत्काल रोकिने वाला देखिन्न।
गुटरेसले महासचिवको हैसियतले गर्न सक्ने अन्तिम अस्त्र पनि प्रयोग गरिसकेका छन्। यूएन चार्टरको धारा–९९ मा महासचिवलाई विशेष अधिकार हुन्छ। उक्त धाराले महासचिवलाई अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पुर्याउन सक्ने कुनै पनि विषयमा सुरक्षा परिषद्को ध्यान केन्द्रित गर्नसक्ने अधिकार दिएको छ। उनले सोही अधिकारलाई प्रयोग गर्दै सुरक्षा परिषद्का ५ स्थायी सदस्य र अरु १० अस्थायी सदस्य मुलुकका राष्ट्र प्रमुखलाई चिठी लेखेका छन्।
सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, रुस, अमेरिका, बेलायत र फ्रान्स भिटो पावर लाउन पाउँछन्। एक मात्र विपक्षमा उभिए सो प्रस्ताव अस्वीकृत हुन्छ। यसअघि अक्टोबर १८ मा अमेरिकाले मानवीय सहायताका आधारमा युद्ध बिरामसम्बन्धी प्रस्तावमा भिटो प्रयोग गरेको थियो, जसका कारण युद्ध बिरामसम्बन्धी अन्तर्राष्ट्रिय सहमति बन्न सकेन। तर महासचिव गुटरेस युद्धको अन्त्य होस् र त्यसका लागि अन्तर्राष्ट्रिय सहमति कायम होस् भन्ने चाहन्छन्।
गत साता छोटो समयका लागि युद्ध बिराम भएको पनि थियो। दुई पक्षले बन्दी बनाएका केही मानिसहरु रिहा पनि भएका थिए। तर फेरि उही गतिमा बमबार्ड चलिरहेको छ। जसले गाजा क्षेत्रमा विनास मच्चाइरहेको छ।
गुटरेसको सो पत्रको नतिजा कस्तो देखिएला? त्यसका लागि केही समय कुर्नै पर्छ, तर संयुक्त राष्ट्रसंघको इतिहासमै दुर्लभ रुपमा महासचिवहरुले धारा ९९ को प्रयोग गरेका छन्। बीबीसीका अनुसार राष्ट्रसंघको इतिहासमा यो धारा अहिलेसम्म केवल ९ पटक मात्र प्रयोग भएको छ। यसअघि सन् १९८९ मा लेबनानको बेरुतमा सैन्य द्वन्द्व चलिरहेका बेला यो धारा लागु गरिएको थियो।
राष्ट्रसंघका महासचिव गुटरेसको भूमिकालाई लिएर इजरायल सुरुबाटै असन्तुष्ट बनेको थियो। अझ उनको यो पछिल्लो चालले त थप स्तब्ध बनेको छ। राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्दानले गुटरेसको राजीनामा समेत माग्दै गुटरेसलाई सो पदमा बस्ने नैतिक आधार नरहेको टिप्पणी गरेका छन्।
‘उनले इजरायललाई प्रेसरमा पार्न सो धारको प्रयोग गरेका छन्। महासचिव नैतिक पतनको तल्लो स्तरमा पुगेका छन्,’ एर्दानले लेखेका छन्, ‘म पुन: भन्छु हमासको पक्षमा वकालत गर्ने महासचविले तत्काल राजीनामा दिनुपर्छ।’
यी विकासक्रमले गाजामा जारी युद्ध रोकिनेमा गम्भीर आशंका देखिन्छ।
