जनमुक्ति सेना र जनयुद्ध : अमीट, अजर, अमर ईतिहास

देबेन्द्र मगर

कसैले मेटेर नमेटीने अमीट, अजर, अमर इतिहास हाे जनयुद्ध र जनमुक्ति सेना नेपाल । तर हामी आफुबाहेक पछिल्लो पिँढि र हाम्रा आफ्नै छोराछाेरीहरुलाई समेत वास्ता, चिन्ता, चासो र जानकारीको लागी उत्सुक बनाउन नसकेको इतिहास बन्न पुगेको छ ।

अरुले जस्तो सोचे पनि यो इतिहास प्रति म गौरब गर्दछु । आफुले जीवनमै सबै भन्दा मुल्यवान कर्म गरेकोमा गौरव गर्ने महान वीरताको इतिहास संसारले चासो र शिक्षाको रुपमा अध्ययन गर्नुपर्ने ठाउँमा आज हाम्रो आफ्नै सन्तानलाई त्यति चासो र मतलव छैन । यसमा हाम्रै दोष छ, सबैभन्दा बढी जनयुद्व लड्ने योजना बनाउने मुल नेतृत्वको दोष छ, दोष नियतको होइन क्षमताको बढी छ । जसका कारण आज हाम्रा शहिदहरु स्थापित हुन नसकेर शहिद पनि तेरा र मेरा भन्ने स्थितिमा पुग्यो, घाइतेहरुको सम्मान हुनुपर्नेमा बिच्लली हुन कहिल्यै छोडेन । हाम्रा युध्दका ट्रेन्चहरु, ठूला लडाइँ लडिएका स्थानहरु, गोरिल्ला ट्रेलहरु, लालकिल्लाहरु (थबाङ, जेलवाङ, चुनबाङ, कोटबाडा, दाङ-घोराही, मंगलसेन, लिस्ने-गाम, दुनै, गणेशपुर, धानखोला, तिगिरे, पाल्पा, दोरम्बा आदि आदी यस्तै थुप्रै) पर्यटक स्थल बन्न सकेनन्, धार्मिक आस्थाका मान्छेहरुले पशुपति र लुम्विनीलाई सम्मान गरे जस्तै थबाङ, चुनबाङ र कोटबाडाहरु क्रान्ति, परिवर्तन र विद्रोही अधिकारको आस्थाको थात थलोको रुपमा सम्मानित स्थल बन्नुपर्थ्यो, बनाईनुपर्थ्यो । हाल आएर त्यस्तो संस्कार बसिसकेको हुनुपर्थ्यो । सबै हिसाबले पछि परेको जाती, बर्ग र क्षेत्रहरु विकास समृध्दिका हकदार हुनुपर्थ्यो । यस्तै होस भनेर अपहेलित वर्गका मान्छेको मुक्तिको लागि लड्न भनेर नै जनमुक्ति सेना सुरक्षा दल, लडाकु दल, छापामार दल, स्क्वाइड, प्लाटुन कम्पनी हुंदै सैन्य संम्रचना बढ्दै बिकास हुंदै जाँदा २०५८ मंसिर ८ गतेका दिन तत्कालिन राप्ती अंचल सदरमुकाम दाङ घोराही कब्जा सहित “जनमुक्ति सेना नेपाल” को औपचारीक फर्मेसनको गठन र घोषणा भएको थियो ।

यसकारण यति महान उद्देश्यका लागि गठन भई ग्रामिण बर्गसंघर्ष देखि छापामार लडाई हुंदै नियमित सेनाको सिपाहीको रुपमा ठूला-ठूला मोर्चाबन्दी लडाईहरुमा सहभागी भई मुक्तिको लागि यो धर्तिमा आफ्नो रगत पसिना सिंचित गर्न पाएकोमा जीवनकै ठूलो सन्तुष्टि र गौरब महसुस गर्दछु । त्यही गौरबका साथ जनयुध्दमा सहभागी देशैभरिका जनता, नेता कार्यकर्ता, सैन्य फर्मेशनका आदरणिय कमाण्डरहरु, सहयोध्दा कमरेडहरू सबैमा अजम्बरी सम्झना सँगै २३ औं जनमुक्ति सेना दिवसको हार्दिक शुभकामना !🌺🌸💐🌷🌺🌸💐🌷

(लेखक जनयुद्धका अधिकांश ठूला माेर्चामा सहभागी जनमुक्ति सेनाका कमान्डर हुन् )