विश्वकप क्रिकेट फाइनल आजः फाइनलिष्ट भारत र अष्ट्रेलियाको यस्तो छ इतिहास

मूलखबर संवाददाता
काठमाडौं

विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै छन्। विश्वकप क्रिकेटको उपाधिका लागि दुई देश भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्ने भएका हुन्।

गत बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारतीय टोली विश्वकपको फाइनलमा पुगेको हो। यसैगरी बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले भारतसँगको भिडन्त पक्का गरेको हो।

कसको पल्ला भारी
सन् २००३ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो। मार्चको २३ तारिखमा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको उपाधि भिडन्तमा टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले २ विकेटको क्षतिमा ३५९ रनको विशाल योगफल तयार गरेको थियो।

अस्ट्रेलियाका लागि कप्तान रिकी पोन्टिङले नटआउट १४० रन जोडेका थिए।

३६० रनको लक्ष्य पछ्याएको भारत ३९.२ ओभरमा २३४ रनमै अलआउट हुँदा १२५ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

अस्ट्रेलियाले त्यसयता २००७ को फाइनलमा श्रीलंका र २०१५ को फाइनलमा न्युजिल्यान्डलाई हराएर विश्वकपमा पाँच पटक च्याम्पियन बन्ने इतिहास लेखायो।

भारतले भने सन् २०११ मा घरेलु मैदानमा भएको उपाधि भिडन्तमा श्रीलंकालाई हराएर दोस्रो उपाधि जित्यो।

सन् २००३ पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि एकअर्कासँग भिड्दैछन्। आइतबार अहमदावादमा सन् २०२३ को एकदिवसीय विश्वकपका लागि टिम भारत र अस्ट्रेलियाबीचको भिडन्त हुन लागेको हो।

अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ।

भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो।

एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध भारतको कीर्तिमान राम्रो छैन।

दुवै टोलीले अहिलेसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् भने ८३ जितसहित अस्ट्रेलिया भारतभन्दा (५७ जित) अगाडि छ।

विश्वकपमा दुवै टोलीले एकअर्कासँग १३ खेल खेलेका छन् र यहाँ पनि अस्ट्रेलिया ८–५ ले अगाडि छ।

भारतीय भूमिमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा छ। भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा दुवै टोलीले समान ३३-३३ खेल जितेका छन्। साथै यस वर्ष दुई टोलीबीच खेलिएका ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ।

जारी विश्वकपमा भारत अपराजित छ। भारतले समूह चरणमा नौ र सेमिफाइनल गरी लगातार १० खेलमा जित निकालेको छ। अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराएर बदला लिइसकेको छ।

भारतको ओपनिङदेखि मिडल अर्डर तथा सबै बलर पूर्ण फर्ममा छन्।

विराट कोहलीले अहिलेसम्म ७११ रन बनाएका छन्। उनी जारी विश्वकपको सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्ष स्थानमा छन्। भारतका रोहित शर्मा (५५० रन) र श्रेयस अय्यर (५२६ रन) को ब्याटबाट पनि लगातार रन बनिरहेको छ।

अर्कोतर्फ अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने खेलाडी डेभिड वार्नरले ५२८ रन बनाएका छन् भने उनीसँगै ग्लेन म्याक्सवेल र मिचेल मार्सले पनि दुई–दुई शतक प्रहार गरेका छन्।

बलिङमा भारतका मोहम्मद सामीले ६ खेलमा २३ विकेट लिएका छन् भने अस्ट्रेलियाका स्पिनर एडम जाम्पा (२२ विकेट) उनीभन्दा एक विकेट मात्र टाढा छन्।

भारतका जसप्रित बुमराह (१८), रविन्द्र जडेजा (१६), कुलदीप यादव (१५ विकेट) र मोहम्मद सिराज (१३ विकेट) लिएका छन्। अस्ट्रेलियाका जोस हजलउड (१४ विकेट) र मिचेल स्टार्क (१३ विकेट) पनि पछि छैनन्। दुवैले हरेक परिस्थितिमा टोलीको लागि विकेट लिन सक्छन्।

त्यसैले यस विश्वकपको फाइनलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

भारतीय टोलीले महेन्द्र सिंह धोनीको कप्तानीमा १२ वर्षअघि श्रीलंकालाई हराएर अन्तिम पटक विश्वकप जितेको थियो।

सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले पहिलो पटक यो प्रतिष्ठित ट्रफी जितेको थियो।

PUNE, INDIA – OCTOBER 19: Virat Kohli, Rohit Sharma and KL Rahul of India celebrate following the ICC Men’s Cricket World Cup India 2023 between India and Bangladesh at MCA International Stadium on October 19, 2023 in Pune, India. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

तर भारतले अस्ट्रेलियालाई पराजित गर्न त्यति सजिलो भने हुनेछैन। अस्ट्रेलिया छैटौं पटक च्याम्पियन बन्ने योजनामा छ।

पछिल्लो पटक अस्ट्रेलियाले सन् २०१५ मा उपाधि जितेको थियो। अस्ट्रेलियाले १९९९, २००३ र २००७ मा च्याम्पियन बनेर उपाधि ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो।