भारत विश्वकपको फाइनलमा, विराटले तोडे सचिनको शतक रेकर्ड

मूलखबर संवाददाता
काठमाडौं

भारत आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली भारत फाइनलमा प्रवेश गरेको हो । वानखडेमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित ग¥यो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन बनायो । न्युजिल्याण्डका डेरियल मिचेलले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ११९ बलमा ९ चौका र ७ छक्को मद्दतमा १३४ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले ६९ रन तथा ग्लेन फिलिप्सले ४१ रन बनाएपनि अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् । भारतका मोहम्मद शामीले ७ विकेट लिए । उनले ९.५ ओभर बलिङ गर्दै ५७ रन खर्चिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो । भारतका लागि विराट कोहली र श्रेयस ऐयरले शतक बनाए । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी ५० औँ शतक बनाए । उनले सचिन तेन्दुल्करको ४९ शतकको रेकर्ड तोडेका हुन् ।

कोहलीले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाए । यस्तै श्रेयसले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन बनाए । शुभमन गीलले ८० रन बनाउँदा कप्तान रोहित शर्माले ४७ तथा केएल राहुलले ३९ रन बनाए । न्युजिल्याण्डका टीम साउदीले १० ओभरमा १०० रन दिएर ३ विकेट लिए ।

भारतले अब बिहिबार हुने अस्ट्रेलिया र साउथ अफ्रिकाबीचकाे दाेस्राे सेमिफाइनल खेलकाे विजेतासँग उपाधिकाे लागि खेल्नेछ ।

विराटले तोडे सचिनको रेकर्ड

भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे। उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन्।

अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्। उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए।

भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडेका थिए।