… त्यसपछि सिंह र साँढेको झगडा सुरू भयो
सलमान रुस्दी
सुरूमा म तपाईंहरूलाई एउटा कथा सुनाउँछु ।
कुनै समय दुईवटा स्याल थिए । एउटाको नाम कराटक थियो, जसको अर्थ हुन्थ्यो— सतर्क । अर्कोको नाम दमानक थियो, जसको अर्थ हुन्थ्यो— साहसी । ती दुई स्याल सिंह राजा पिंगलकको सेवामा थिए । सेवा निवृत्तिको बेला सोपानक्रमको दोस्रो श्रेणीमा थिए । ती स्याल महत्वाकांक्षी र धूर्त थिए ।
एकदिनको कुरा हो । सिंह राजा जंगलमा कसैको गर्जनको आवाजले भयभीत भए । स्यालहरूले भने कि त्यो साँढेको आवाज हो, महाराज डराउनुपर्ने कुनै कारण छैन । तिनले साँढेसँग भेटघाट गरे । उसलाई सिंहको अघि गएर राजासँग मित्रताको घोषणा गर्न राजी गराए । साँढे सिंहसँग उल्टै डराएको थियो । तर, सिंह राजासँग मित्रता गर्न राजी भयो ।
साँढेसँग मित्रता गराइदिएको गुणको कृतज्ञ भएका राजाले स्याललाई पहिलो श्रेणीमा बढुवा गरिदिए । सिंह र साँढे यति मिल्ले साथी भए कि उनीहरू लामो कुराकानीमा व्यस्त हुन थाले । सिंहले शिकार गर्नै बिर्सियो । राजाले शिकार गर्ने सूचीमा परेका जनावर भोकै पर्न थाले । अब फेरि स्यालहरूको काम आयो ।
स्यालहरूले सिंह र साँढेलाई फरक-फरक कुरामा विश्वस्त बनाए । सिंहलाई साँढेले उनको विरुद्ध षड्यन्त्र गर्दैछ भने । साँढेलाई सिंहले उसलाई मार्ने योजना बनाएको छ भने । त्यसपछि सिंह र साँढेको झगडा सुरू भयो । लडाइँमा सिंहद्वारा साँढे मारियो । स्यालहरूले साँढेको प्रशस्त मासु खान पाए । सिंहको नजरमा उनीहरूको स्थान अझ माथि भयो । किनकि उनीहरूले नै साँढेको षड्यन्त्रबारे सिंहलाई बेलामै समाधान गराएका थिए ।
सिंह राजाका प्रिय स्यालको रूपमा जंगलभरि उनीहरूको जयजयकार भयो । यसले कसैलाई कुनै फरक परेन । फरक पर्यो त साँढेको जीवनलाई । तर, उ त मरिसकेको थियो । साँढे मरेबापत् सबैले मीठो मासुको आहार गर्न पाएका थिए ।
यो कथा पञ्चतन्त्रको ५ भागमध्ये पहिलो अध्यायमा छ । पञ्चतन्त्रमा पशुहरूबारे यस्ता थुप्रै कथा छन् । यी कथाले मित्रहरूबीच उत्पन्न हुने विवादबारे यस्ता थुप्रै ढाँचा बताउँछन् । पञ्चतन्त्रका कथाबारे मलाई असाध्यै आकर्षण गर्ने कुरा के भने तीमध्ये धेरैमा नैतिकता भन्ने हुँदैन ।
पञ्चतन्त्रका कथाले कल्याण, सद्भाव, विनम्रता, इमान्दारी र संयमको प्रवचन दिँदैनन् । सबै जसोले धूर्तता, चलाखी, रणनीति र अनैतिकता विरोधीलाई पराजित गर्न प्रयोग गर्दछन् । असलले सधैँ जित्दैनन् । खासमा असल मान्छे कोहो भन्ने सधैँ स्पष्ट हुँदैन ।
तसर्थ पाठकलाई ती आधुनिक नेताहरू जस्तै लाग्दछन् । ती अनौठो गरी समकालीन देखिन्छन् । किनकि हामी आधुनिक पाठक अनैतिकता, धूर्तता, निर्लज्जता र विश्वासघातको संसारका बाँचिरहेका छौँ । यहाँ अक्सर खराब मान्छेले नै जितेका छन् ।
म पौराणिक, लोक र परिकथाबाट सधैँ प्रेरित हुने गरेको छु । तिनमा चमत्कार, बोल्ने जनावर र जादुगरी माछा हुन्छन् भनेरचाहिँ हैन । यसर्थ कि तिनमा सत्य समेटिएको हुन्छ ।
उदाहरणका लागि ओर्फियस र युरिडाइसको कथा मेरो उपन्यास ‘द ग्राउन्ड बिनिथ हर फिट’ का लागि महत्त्वपूर्ण प्रेरणा थियो । यसको कथा १०० शब्दमा नै भन्न सकिन्छ । तैपनि यसले कला, प्रेम र मृत्युको सम्बन्धबारे शक्तिशाली र खँदिलो गरी भन्न सक्दछ ।
यसले प्रश्न गर्छ— के प्रेमले कलाको मद्दतले मृत्युलाई जित्न सक्छ ? तर, सायद जवाफमा भन्छ— कलाका बाबजुद मृत्युले प्रेमलाई जित्न सक्दैन ? अर्थात् यसले हामीलाई यो बताउँछ कि कलाले प्रेमलाई अमर कथाहरूमा परिणत गरेर मृत्युबाट पार लगाइदिन्छ । यी १०० शब्दमा हजार उपन्यासलाई प्रेरित गर्न सक्ने गहिरोपन छ ।
मिथकको कथा भण्डार साँच्चै नै धनी छ । निश्चय नै यसभित्र ग्रिक मिथक छन् । यसभित्र नोर्डिक गद्य र इड्डा काव्यहरू पनि छन् । एसोप, होमर, निलेबुङको औठी, युरोपेली फलामे युगका किंवदन्ती छन् ।
युरोपमा यसका थप तीन ठूलो स्रोत छन् । फ्रान्सको शार्लेम्यान वरिपरिका कथाहरू, रोमको साम्राज्यका कथाहरू र बेलायतको राजा अर्थर वरिपरि घुमेका कथाहरू । जर्मनीमा याकुब र विलियम ग्रिमद्वारा संकलन गरिएका लोककथाहरू छन् ।
जे होस् भारतमा भने म पञ्चतन्त्रका कथाहरू सुन्दै हुर्केको थिएँ । यो क्षण म लेख्ने परियोजनामाझ त्यस्तै धूर्त र राक्षसी स्याल भेट्छु । कागहरूसँग फर्किन्छु र सोध्छु— अर्को कथा मैले के लेख्न राम्रो हुन्छ ? अहिलेसम्म तिनले मलाई कहिल्यै निराश पारेका छैनन् । खाली हात फर्काएका छैनन् ।
असलपन र त्यसविपरीत स्वतन्त्रता र बन्धनको द्वन्द्वबारे जान्न आवश्यक कुरा ती कथामा पाउन सकिन्छ । तर, प्रेमका बारेमा भने म यो भन्न चाहन्छु कि अन्यत्र पनि खोजी गर्नुपर्दछ ।
दन्त्यकथाको संसारले शान्तिको बारेमा चाहिँ हामीलाई के बताउँछ ? यसको उत्तर त्यति राम्रो छैन । होमर हामीलाई यो भन्छन् कि शान्ति एक दशकको युद्धपछि त्यतिखेर आउँछ जब हेरचाह गर्नुपर्नेहरू मरिसकेका हुन्छन् र शहर ध्वस्त भइसकेको हुन्छ ।
नोर्डिक मिथकले भन्छन् कि शान्ति त्यतिखेर आउँछ, जब देवताहरूले आफ्ना परम्परागत शत्रुलाई नष्ट गरिसक्दछन् र जब देवताहरू पनि आफ्ना शत्रुहरूद्वारा नष्ट भइसक्दछन् ।
महाभारत र रामायणले हामीलाई यो बताउँछन कि शान्ति रगतको मूल्यमा आउँछ । र, पञ्चतन्त्रले त यो भन्छ कि शान्ति विश्वासघातबाट मात्र प्राप्त गर्न सकिन्छ ।
एकक्षणलाई यी विगतका दन्त्यकथाहरू छोडिदिउँ । र, भर्खरैका दुई जुम्ल्याहा दन्त्थकथा सम्झना गरौं । भर्खरैको ओपेनहामइमर सिनेमाले पनि हामीलाई त्यही भन्छ कि हिरोसिमा र नागाशाकीका मानिसमाथि लिटिल ब्याई र फ्याट म्यान नामका दुई आणविक बम खसालेपछि मात्रै शान्ति आउँछ ।
त्यो बार्बी भनिने बक्स-अफिस दानव छ नि, त्यसले भन्छ कि अखण्ड शान्ति र अविकृत खुसी प्रत्येक दिनभरि पूर्ण हुन्छ र प्रत्येक रात केटीहरूको रात, गुलाबी प्लास्टिकमा गएर बस्छ ।
र ठीक यतिखेर फेरि हामी शान्तिको कुरा गर्दैछौँ, जब युद्ध भड्किसकेको छ । कुनै एक व्यक्तिको अत्याचार, शक्तिको लोभ, विजयको चाहनाबाट जन्मेको युद्ध । र अर्को तितो संघर्ष इजरायल र गाजा पट्टीमा विस्फोट भएको छ । शान्ति अहिले धुमपानको पाइपबाट जन्मेको स्वैरकल्पनाजस्तो भएको छ ।
शान्ति बनाउन, खोज्न र फेला पार्न गाह्रो चिज हो । हामी शान्तिको कुरा गर्दा युद्धको अन्त्यबाट आउने शान्तिको कामना मात्र गरिरहेका हुँदैनौँ । हामी आफ्नो निजी जीवनको सानो शान्ति, आफैँसँग र आफू वरिपरिको सानो संसारसँग महसुस गर्न सकिने शान्ति पनि खोजिरहेका हुन्छौँ । यो हाम्रो महान् मूल्यमध्ये एक हो, जो हामी बलियोगरी चाहन्छौँ ।
यो शान्ति पुरस्कार भनेको पनि त्यस्तै केही मिथ्याचार हो । मेरो विचारमा शान्ति आफैँमा त्यस्तो पुरस्कार हुनुपर्दछ, जसलाई वर्षभरि पुग्नेगरी कुनै बोत्तलमा भरेर हरेक घरको ढोका-ढोकामा डेलिभर गर्न सकियोस् । यस्तो पुरस्कार पाएँ भने म धेरै खुसी हुनेछु । म यसबारे एउटा कथा लेख्ने सोच बनाउँदैछु, जसमा मान्छेले शान्ति पुरस्कार हैन, पुरस्कारमा पुग्दो शान्ति पाउँछ ।
म कल्पना गर्दैछु । एउटा सानो नगर–देश, अझ गाउँको मेला हुन सक्दछ । त्यहाँ राम्रो सुँगुरको मासु, पाउँरोटी, खर्बुजा, तरकारी प्राप्त गर्नका लागि सदाबहार प्रतिस्पर्धी छन् । ती किसानको सबैभन्दा बलियो सुँगुर प्राप्त गर्ने र नाचगानका आकांक्षी छन् । तिनीहरूबीच ती चिज कसले प्राप्त गर्ने भन्ने प्रतिस्पर्धा हुँदैछ ।
‘इन द विजार्ड अफ ओज’ का प्रोफेसर मार्भलजस्तै घोडाले तान्ने थोत्रो तर रङ्गाइएको गाडामा बसेर फ्रक कोट लगाएको घुमन्ते खुद्रा व्यापारी मन्दमन्द हाँस्दै हेर्दै आउँछ र भन्छ— यदि उसलाई यो प्रतियोगिताको निर्णायक बनाइयो भने अहिलेसम्म उनीहरू कसैले नदेखेको उत्कृष्ट पुरस्कार दिनेछ । सबै तयार होऔँ, जम्मा होऔँ ।
नभन्दै सबै सोझा गाउँले तयार र एकत्रित हुन्छन् । त्यस घुमन्ते व्यापारीले विजेतालाई स-साना बोत्तल निकालेर पुरस्कार दिन्छ । विभिन्न बोत्तलमा विभिन्न लेबल हुन्छन् । जस्तो कि सत्य, शान्ति, सुन्दरता, असलपन, स्वतन्त्रता । गाउँलेहरू निराश हुन्छन्। उनीहरूले नगद पुरस्कारको अपेक्षा गरेका हुन्छन् । तर, यो मेलापछिको वर्षभरि त्यहाँ अनौठा घटना हुन्छन् ।
सत्य लेखिएको बोत्तलको तरल पदार्थ पिउने गाउँले मान्छेका मनका कुरा बताउन र बुझ्न सक्ने हुन्छ । उनीहरू गाउँको बारेमा के सोच्दैछन् भनेर बताउँदै हिँड्छ । गाउँलेहरू उसँग रिसाउँछन् र उ एक्लो पर्छ ।
सुन्दरता लेखिएको बोत्तल पुरस्कार प्राप्त गर्ने युवती साँच्चै सुन्दर हुन्छिन् । कम्तीमा उनको आफ्नो आँखामा तर, सुन्दरता उनका लागि उत्तिकै व्यर्थ सिद्ध हुन्छ । त्यो सुन्दरता के गर्ने, केहीमा काम आउँदैन । पीडादायी सुन्दरता ।
स्वतन्त्रताको बोत्तल पिउनेका व्यवहारले गाउँलेहरू आजीत हुन्छन् । उसको बोत्तलमा कुनै शक्तिशाली लागूऔधष मिसाइएको थियो भनेर निष्कर्ष निकाल्दछन् ।
असलपन पिउनेले आफूलाई सन्त घोषणा गर्दछ, त्यो अरुका लागि सह्य हुँदैन । शान्ति पुरस्कार पाउने विजेता एउटा रुखमुनि बसेर हाँसिरहन्छन् मात्रै । गाउँमा यतिका धेरै समस्या छन्, तर यो भने हाँसिरहन्छ मात्रै भनेर गाउँले उसँग उल्टै रिसाउँछन् ।
एक वर्षपछि जब फेरि मेला आयोजित हुन्छ । घुमन्ते व्यापारी फेरि आउँछ । तर, यसपटक उसलाई मान्छेले गाउँ बाहिरबाटै लखेटिदिन्छन् । गाउँले रिसले जोड-जोडले कराउँन थाल्दछन्, “तपाईं यहाँबाट गइहाल्नुस् । हामीलाई यस्तो नाथे पुरस्कार चाहिएको छैन ।’
बदलमा त्यहाँ गुलाबी गहना, चिज, सुँगुरको खुट्टाको मासुको टुक्रा, रातो रिवन बाँधिएको पदक पुरस्कार झुन्ड्याइएको हुन्छ । यी सामान्य पुरस्कार हुन् । तर मान्छे भन्छन्— हो, हामी यी यस्ता पुरस्कार चाहन्छौँ ।
द गार्जियनबाट साभार