पोखरामा बन्ने भो सिग्नेचर ब्रिज, यस्तो छ ठेक्का विवरण र डिजाइन
पोखरा रंगशालाको मुख्य गेटनजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने भएको छ। हाल रहेको पुलको दायाँबायाँ थप नयाँ पुल बन्ने भएको हो।
पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण– १ योजनाअन्तर्गत बन्न लागेको पुलको शनिबार नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन्। सो सडक ६ लेनमा निर्माण भइरहेकाले पुलसमेत सोहीअनुसार निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र मन्त्रालयका सचिवको पनि उपस्थिति थियो। मन्त्री ज्वालाले मुग्लिन हुँदै पोखरा आवतजावत गर्न पुलका कारण भएको असहजता नयाँ पुलले हटाउने बताए। पुल निर्माण सम्झौताअनुसार समयमै पुरा गर्न उनले निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
‘यो वा त्यो बहानामा काममा ढिलाइ गर्न पाइँदैन, समयमै काम सक्नेगरी सबै पक्षले सक्रियता देखाउनुहोस्’, मन्त्री ज्वालाले भने। निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पूरै सहयोग रहने उनले विश्वास पनि दिलाए । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनले विश्वास समेत व्यक्त गरे । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताए । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उन प्रतिबद्धता पनि जनाए ।
पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उनले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिए । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उनले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताए । पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उनले बताए ।
कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सबै सहयोग गर्ने बताइन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सबै खाले स्थानीय अवरोधहरूको समाधान महानगरले गर्ने प्रतिबद्धता जनाए ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो। भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्याटसहित १ अर्ब १० करोड रुपैयाँ यसको कुल लागत रहने छ।
मन्त्रालयका अनुसार यो सेती नदीमा निर्माण गर्न लागिएको पुल ‘केबल- स्टेड’ प्रविधिको छ। यसको ठेक्का २०७९ भदौमा नै रसुवा कन्स्ट्रक्सनले पाएको छ। त्यही अनुसार यसको २०८२ भदौसम्ममा निर्माणको कार्य सम्पन्न गर्नु पर्नेछ।
गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल निर्माण सुरु भएको मन्त्रालयले जनाएको छ। यो पुल बनेपछि यहाको सडक ६ लेनको हुनेछ।
यो पुल निर्माणको सुपरिवेक्षणको लागि परामर्शदाता इन्जिनियर रेनार्डेट एसए स्वीट्जरल्यान्डले सोयल टेष्ट नेपाल र सीमेट कन्सल्ट्यान्ट नेपालको सहकार्यमा काम कारेको हो। ठेक्का सम्झौता अनुसार सडक विभाग आयोजना निर्देशनालय एडीबी इम्प्लोयरको रुपमा छ।
स्वीकृत डिजाइन अनुसार हाल विद्यमान सेती नदी पुलको डाउन-स्ट्रिम र अप- स्ट्रिममा २ वटा २/२ लेनको एक्स्ट्रा डोजेन केबल स्टेयड ब्रिज अर्थात सिग्नेचर ब्रिज निर्माण हुनेछ। दुबै पुलको लम्बाइ १९० मिटरको छ। यसै ठेक्कामार्फत पुलको दायाँ र बायाँ एप्रोचमा ५०० मिटरको सर्भिस लेन सहितको सडक पनि निर्माण हुनेछ। निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको छ ।