सुरु भयो नेपालीहरूको ठूलो चाड तिहार, यस्तो छ आगामी ५ दिनको महत्त्व
हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ। आजदेखि यमपञ्चक सुरू भएको हो। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ।
यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ।
कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ। काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो। आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का…का….का…भन्दै बोलाएर खान दिइन्छ।
धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ।
कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि यसै महिनाको शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक भनिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
कात्तिक २६ गते कुकुरपूजा, सोही दिन दिउँसो २ बजेपछि औँसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीको पूजा–आराधना गरिने उनले बताए ।
“औँसी तिथि जुन दिन पर्छ, साँझ र अर्धरात्रिकालमा, त्यही दिन लक्ष्मीपूजा गर्नुपर्छ । २६ गते आइतबार दिउँसो २ बजेपछाडि औँसी तिथि लाग्ने भएको हुनाले बिहान कुकुरको पूजाहरू गरेर साँझदेखि नै लक्ष्मीको पूजा–आराधना गरिन्छ,” उनले भने, “साँझमा लक्ष्मीलाई भित्र्याउने, पूजा गर्ने गरिन्छ । कसैले अर्धरात्रिकालमा पनि पूजा गर्छन् । तर, लक्ष्मीको साँझमा भित्र्याएर अलक्ष्मीलाई चाहिँ राति १२ बजे बहिर्गमन गराउने हो ।”
कात्तिक २७ गते गाई तिहार, २८ गते बिहान गोवर्धन पूजा गरिन्छ, सोही दिन गोरुपूजा गरिन्छ । लक्ष्मीपूजा, गाईपूजा र गोरुपूजाका दिन देउसीभैलो पनि खेल्ने गरिन्छ ।
कात्तिक २८ गते नै नेवार समुदायले म्हःपूजा र सोही दिन बेलुका बलिको पूजा पनि गरिन्छ । उक्त दिन हली तिहारका रूपमा पनि प्रसिद्ध रहेको उनले बताए ।
सोही दिनदेखि नेपाल संवत् ११४४ सुरु हुने उनले जानकारी दिए ।भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।