लक भए १५ सय फोन, कसरी मिल्छ फेरि खुलाउन (दर्ताको टिप्ससहित)

मूलखबर संवाददाता
काठमाडौं

सोमबार रातिदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो ।
सोमवार रातिबाट नेटवर्क लक गर्न थालेको प्राधिकरणले मङ्गलवारसम्म डेढ हजार मोबाइलमा त्यो गरिसकेको जनाएको छ।

प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ । आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार डिभाइसमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाइएको थियो । त्यसमध्ये ८०४ डिभाइस ताेकिएकाे समयभित्र दर्ता नभएकाले बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

यी फोनमा दूरसञ्चार सेवा अर्थात् नेपाल टेलिकम वा एनसेलको सिम सपोर्ट हुनेछैन । यद्यपि प्रयोगकर्ताले वाई-फाई सेवा भने चलाउन सक्नेछन् ।

प्राधिकरणले अर्को चरणमा एमडीएमएसमा दर्ता नभएका अन्य हाई इन्ड तथा महँगा फोनहरूमा यो प्रणाली लागू हुने जानकारी दिएको छ । यसअन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखी तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् ।

के फेरि खुलाउन मिल्छ ?

नेटवर्क लक गर्न थालिएका मोबाइल सेटहरूको लक कहिले खुल्ने भन्ने प्रश्नको जबाफ स्वयं प्राधिकरणसँग पनि छैन।

“अहिलेको अवस्थामा नेटवर्क लक गरिएपछि लक नै रहने भयो। कहिले खोल्ने, के आधारमा खोल्ने भन्ने व्यवस्था नै छैन,” अध्यक्ष खनालले भने।

“त्यसका लागि भन्सार विभागले नै कानुनी बाटो खोल्नुपर्ने हुन्छ। त्यसबारे हामी विभागसँग छलफलमा छौँ।”

नेटवर्क लक गर्न थालिएका मोबाइल सेटहरूको लक नखुले फेरि ठूलो सङ्ख्यामा नयाँ मोबाइल फोन आयात हुँदा अन्ततः देशलाई नै घाटा हुने उनको ठम्याइ छ।

“मानिसहरूले फेरि नयाँ मोबाइल सेट किन्न थाले भने आखिर देशकै पैसा बाहिरिने हो,” खनालले थपे।

दर्ता कसरी गर्ने

प्राधिकरणका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरूले (nta.gov.np) वेबसाइटमा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सक्छन्। वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट *#06# थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ।

त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ।

दर्ता गर्नका लागि एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रति फोनसेट १० हजार रुपैयाँ राजस्व कायम गरिएको छ । त्यस्तै अन्य स्मार्टफोनका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ राजस्व भुक्तानी गरी एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिनेछ ।

ब्लक भएका फोनका लागि एमडीएमएसमा दर्ता गर्ने अर्काे प्रक्रिया नभएकाले नेपालमा यी डिभाइस नचल्ने प्राधिकरणले जनाएकाे छ । तपाईंको मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, जाँच गर्न यहाँ क्लिक गर्नुहोस् ।