विश्वकपमा भारतको अपराजित यात्रा, सचिनको कीर्तिमानमा विराटको बराबरी

मूलखबर संवाददाता
काठमाडौं

घरेलु टिम भारतले दक्षिण अफ्रिकाविरुद्ध २४३ रनको फराकिलो जित निकाल्दै आईसीसी ट्वान्टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जारी विश्वकपमा शतप्रतिशत नतिजा निकालेको भारतको यो आठौँ जित हो ।

आइतबार कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै समेटियो ।

भारतीय बलरसामु निरीह देखिएका दक्षिण अफ्रिकी ब्याटर कोही पनि जम्न सकेनन् । मार्को जान्सेनले १४ र रसी भान डेर डुसेनले १३ रन जोड्दा कप्तान टेम्बा बवुमा र डेविड मिलरले समान ११ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सचिनसँग बिराटको बराबरी

विराट कोहलीले सचिन तेन्दुल्करको नाममा रहेको सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय शतकको रेकर्ड बराबरी गरेका छन्।

आइतबार एकदिवसीय क्रिकेट विश्वकपमा उनले दक्षिण अफ्रिकाविरूद्ध कोलकतामा नटआउट १०१ प्रहार गरेसँगै ४९औं एकदिवसीय शतक प्रहार गर्न सफल भए।

कोहलीले २८९ एकदिवसीय खेलमा आफ्नो ४९औं शतक पूरा गरेका हुन्। ४९औं एकदिवसीय शतक प्रहार गर्ने क्रममा उनले १२१ बल खेलेर १० चौका हिर्काए।

एकदिवसीय खेलमा १३ हजार रन पूरा गरिसकेका उनले ७० अर्धशतक समेत बनाएका छन्।

सबै फर्म्याटमा सर्वाधिक शतक बनाउने कीर्तिमान भने सचिनकै नाममा छ। सचिनले ४९ एकदिवसीय र ५१ टेस्ट गरी १०० शतक प्रहार गरेका थिए।