
नेपालमा अझै ठूलो भूकम्पको जोखिमबारे विज्ञहरूको आँकलन र प्रधानमन्त्रीको चिन्ता
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका अनुसार उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
शुक्रबार रातियता भूकम्पका २ सय भन्दा धेरै धक्का मापन गरिएको छ । शनिबार राति सम्म २०० भन्दा धेरै धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
केन्द्रका अनुसार मुख्य भूकम्पपछिका धक्का परकम्प हुन् । तीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो । ६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए ।
भूकम्पविद्ले पश्चिम नेपालमा महाभूकम्पको जोखिम कायमै रहेको बताएका छन् । पश्चिम नेपाल आसपासमा ठूलो भूकम्पको सम्भावना कायमै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।
शुक्रबार रातिको धक्काले महाभूकम्पको जोखिम कम नभएको उनले उल्लेख गरे । उक्त क्षेत्रमा ५०० वर्षदेखि सञ्चित शक्ति मझौला भूकम्प जाँदैमा क्षय नहुने उनले बताए । गए रातिको भूकम्पले सचेत गराएको उनको भनाइ छ ।
“ठूलो भूकम्पको जोखिम कम भएको छैन । मझौला भूकम्पले त्यहाँ सञ्चित शक्ति कम गर्दैन,” उनले मूलखबरलाई भने, “सानातिना र मझौला भूकम्प गइरहनु भनेको त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित छ भन्ने हो । गए रातिको भूकम्पले सचेत गराएको छ ।”
८ म्याग्निच्युडदेखि माथिका धक्कालाई महाभूकम्प भनिन्छ । ८ म्याग्निच्युडको सञ्चित शक्ति क्षय हुन ६ म्याग्निच्युडका हजारौँ भूकम्प जानुपर्ने उनले बताए ।
“८ को शक्ति सञ्चय भएको ठाउँमा त्यो क्षय हुन ६ को हजारौँवटा भूकम्प जानुपर्छ,” उनले भने, “साना र मझौला केही भूकम्प जाँदैमा जोखिम कम हुँदैन ।”
उनका अनुसार ६ भन्दा ७ म्याग्निच्युडको भूकम्प ३२ गुणा ठूलो हुन्छ । ६ भन्दा ८ म्याग्निच्युडको भूकम्प हजार गुणा ठूलो र शक्तिशाली हुन्छ । सोहीअनुसार क्षति पनि बढी हुन्छ ।
प्रधानमन्त्री प्रचण्ड पनि चिन्तित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चिम नेपालमा अझ धेरै ठूलो भूकम्प जानसक्ने सम्भावनाबारे आफूलाई भूगर्भविद्हरूले ब्रिफिङ गरेको बताएका छन्।
शनिबार बिहानै भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा पुगेका प्रधानमन्त्री प्रचण्डले अपरान्ह काठमाडौं फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग सो कुरा बताएका हुन्।
‘यहाँको स्थितिको बारेमा विज्ञहरूको जे भनाइ छ, त्यसले अझ बढी सतर्कता अपनाउनुपर्ने अवस्था छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अझ धेरै भूकम्प जाने सम्भावनाबारे भूगर्भविद्हरुले इंगित गरिरहेका छन्। सरकार यसतर्फ पनि गम्भीर छ।’
जाजरकोट भूकम्पबाट धेरै जनधनको क्षति भएको बताउँदै उनले हजारौं घर क्षति भएको प्रत्यक्ष देखेको पनि बताए।
‘हजारौं घर क्षति भएको मैले प्रत्यक्ष देखेँ। जाजरकोट र रुकुमका प्रभावित क्षेत्र हेरेँ। प्रत्यक्ष रुपमा मैले आफ्नै हेलिकोप्टरमा घाइतेको उद्धार गरेको छु।’ प्रधानमन्त्री प्रचण्डले भने।
ठूलो भूकम्पको डर
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प भएको थियो। मध्ये नेपालमा पछिल्लो समय गएको ठूलो भूकम्प नै गोरखा भूकम्प थियो। तर, पश्चिम नेपालमा भने लामो समयदेखि यति शक्तिशाली भूकम्प गएको छैन।
साना र मध्यम खालकै भूकम्प गइरहे पनि पश्चिम नेपालमा भूकम्पको जोखिम उच्च नै रहेको भूगर्भविद् डा. सुवोद ढकालले बताए। जाजरकोट भूकम्पलाई मापनका हिसाबले ठूलो मान्न नमिल्ने ढकालको तर्क छ।
‘शक्ति सञ्चयका हिसाबले एउटा ठूलो भूकम्प जानका लागि नेपालमा ८० देखि १०० वर्ष भनेर मानिएको छ,’ ढकालले भने।
२०७२ को भूकम्प पनि ८२ वर्षपछि दोहोरिएको थियो। पश्चिममा भने ५२५ वर्षयता ठूलो भूकम्प आएको छैन। ‘शक्ति सञ्चयका हिसाबले जति ठूलो भूकम्प जानुपर्ने हो, अहिलेको एकदमै सानो हो,’ ढकालले भने। उनका अनुसार अहिले गएको भूकम्पले ठूलो भूकम्प जाने खतरालाई टार्ने देखिन्न।
‘निकै ठूलो भूकम्प जानका लागि अहिलेको यो सानो भूकम्पले जोखिम कम गर्छ भन्न मिल्दैन। किनभने यो सानै खालको भूकम्प हो,’ उनले भने।
मध्यमखाले भूकम्पमा पनि ठूलो जनधनको क्षति हुनुको कारण चाहिँ कमजोर भौतिक संरचना हुनु कारण रहेको भूकम्पविदहरु बताउँछन्। ढकालले पनि रातिको समय र ग्रामीण क्षेत्रमा घरहरुको भौतिक संरचाना कमजोर रहेका कारण क्षति बढी भएको बताए।
‘रातिका बेला आएपछि स्वभाविक रुपले धेरै क्षति हुन्छ। अर्को कुरा त हाम्रा घरहरु कस्ता छन् भन्ने कुराले क्षति कति भयो भन्ने हुन्छ,’ उनले भने।
