जनयुद्ध, गणतन्त्र र शान्ति प्रक्रियाः माओवादीका तीन नेताले दिएका तीन सशक्त सन्देश

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियाका बाँकी काम आफ्नै प्रधानमन्त्रीत्वमै चाँडो टुंग्याएर कार्यकाल पूरा गर्न चाहन्छन्। तर यसबीचमा जनयुद्ध, शान्ति प्रक्रिया मात्र होइन गणतन्त्र बारे पनि सवाल उठाइएको छ। कतिपयले व्यवस्थाविरुद्ध नै अभिव्यक्ति दिन थालेका छन्।

यसैक्रममा विहीबार फरक फरक मोर्चाबाट माओवादीका तीन नेताले फरक तर सशक्त सन्देश दिए। अध्यक्ष प्रचण्ड, प्रवक्ता अग्नि सापकोटा र उपमहासचिव वर्षमान पुनले फरक फरक तर सशक्त सन्देश दिएका हुन्।

 प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताए ।

बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ । तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौँ ।”

पार्टी स्कुल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा जोड दिनुपर्ने बताए ।

“हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूची थिय‍ो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो । तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ । विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ । त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन ख‍ोज्दैछन् । तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ,” प्रचण्डले भने ।

पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो। त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको बिकल्प छैन। रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन, प्रचण्डले भने, गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन। माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ।

पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन। गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ। यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ।’

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनयुद्ध दिवसको दिन विदा दिने निर्णय एमाले समेत सहभागी सरकारले गरेको भन्दै त्यसको विरोध नगर्न चेतावनी दिएका छन्। विहीबार संसदकाे बैठकमा बाेल्दै सांसदतथा पुर्व मन्त्रीसमेत रहेका नेता अनन्तले विष्णु पाैडेल उपप्रधानमन्त्री भएको बेला नै साे निर्णय भएको स्मरण गराएका थिए ।

संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताएका थिए। जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह थियो । फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिए ।

जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराउँदै पाैडेललाई काउन्टर दिएका थिए । उनलेे भने । ‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु -माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्ववक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’

त्यसैगरी माओवादी केन्द्रले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्।

उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसद्‌बाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए।

उनले संक्रमणलीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको बताए। उनले विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘शान्ति प्रक्रिया टुंगो लागेको छैन। यसलाई टुंगो लगाउनु पर्नेछ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन्। पीडितहरुको परिपूरणका कुरा छन्। यसलाई हर हालतमा टुंगोमा पुर्‍याउनुपर्छ भन्ने सहमति भएको छ। एक खालको सहमति भएको छ।

यो दिने, यो लिने भन्ने प्रसंग उठेको छैन। समितिमा टिआरसी बिलको बारेमा सहमति भइसकेको छ। अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ।’

उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आउनुभयो। यो बेलामा आउनु भनेको धेरै महत्त्वपूर्ण कुरा हो। अहिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक चलिरहेको बेलामा नेपाल आउनु बहुआयामिक महत्त्व छ। बहुआयामिक सन्देशको इस्यु हो। यसले के सन्देश दियो भने नेपाल बुद्ध जन्मेको देश हो, बुद्ध जन्मेको देश भएको विश्व शान्तिको अपिल गर्नुभयो। बुद्ध जन्मिएकै ठाउँबाट गर्नुभयो। यसको धेरै ठूलो महत्त्व छ। बुद्ध भूमिमै आएर शान्तिको सन्देश पठाउनु ठूलो कुरा हो।’

प्रवक्ता सापकोटाले महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम मौलिक ढंगबाट टुंग्याउनुपर्ने र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पुर्‍याउन सहयोग पुगेको बताए।