इजरायलमा मृत्यु भएका चार नेपालीको शव आज ल्याइँदै
इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ ।
तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको छ ।
नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो । इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुवईसम्म र त्यहाँबाट फ्लाई दुवईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाउन लागेको दूतावासले जनाएको छ ।
शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने पनि विज्ञप्तिमा उल्लेख छ । अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि दूतावासले जनाएको छ ।
उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको जनाएको छ ।