तेस्रो बिआरएफमा नेपालको प्रतिवद्धताः बिआरआई सम्झौतालाई बलियो बनाऔं

मूलखबर संवाददाता
काठमाडौं

नेपालले बेल्ट एन्ड रोड (बिआरआई) परियोजना सम्झौताअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । चीनको राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा बेल्ट एन्ड रोड परियोजना सम्झौताअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले बुधबार तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च (बिआरएफ)को उद्घाटन सत्रमा नेपाल सरकारका तर्फबाट सहभागिता जनाएका हुन् । ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले बहुआयामिक कनेक्टिभिटी नेटवर्क विस्तारमा नेपाल अघि बढ्न चाहेको बताए ।

कार्यक्रममा सहभागी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने– ‘नेपाल र चीन असल छिमेकी र घनिष्ठ मित्र हुन् । हाम्रो साझा समृद्धिका लागि हाम्रा जनताको आकांक्षालाई सम्बोधन गर्न बिआरआई बलियो माध्यम हो । जसले सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने नेपालको तयारीमा समेत सहयोग पुर्‍याउनेछ ।’

नेपालजस्तो भूपरिवेष्टित देशभित्र कनेक्टिभिटीको खाँचो रहेको भन्दै उनले २०१७ मा भएको चीनसँग भएको बिआरआई सम्झौतालाई नेपालले बलियो बनाउन चाहेको बताए । बेल्ट एन्ड रोड परियोजना लागू भएसँगैै नेपाल चीनसँग सडक, रेलमार्ग, हवाईमार्ग, बन्दरगाह र ग्रिडहरूमार्फत जोडिने उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘नेपाल र चीन असल छिमेकी र घनिष्ठ मित्र हुन् । हाम्रो साझा समृद्धिका लागि हाम्रा जनताको आकांक्षालाई सम्बोधन गर्न बिआरआई बलियो माध्यम हो,’ उनले भने, ‘जसले सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने नेपालको तयारीमा समेत सहयोग पुर्‍याउनेछ ।’

साथै, चीनले अपनाइरहेको पर्यावरणमैत्री विकास रणनीति पनि नेपालमा पूर्वाधार विकासमा समेत लागू हुने अपेक्षा रहेको उनले बताए । नेपालले बेल्ट एन्ड रोड सम्झौतामा २९ वैशाख ०७४ मा हस्ताक्षर गरे पनि हालसम्म ठूला परियोजना सुरु हुन सकेका छैनन् । यसबाहेक उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य वाङ सेवहोङसँग पनि भेटवार्ता गरेका थिए ।

बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमका क्रममा चीनले यसको नयाँ परिभाषा अघि सारेको छ। बेल्ट एन्ड रोडको १०औँ वार्षिकोत्सवको अवसरमा मंगलबारदेखि नै सुरु भएको शिखर सम्मेलन बुधबार चीनका राष्ट्रपति सी जिङपिङले उद्घाटन गरेका थिए।

‘उच्चगुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसन : टुगेदर फर कमन डेभलपमेन्ट र प्रोस्परिटी’ भन्ने विषयवस्तुमा केन्द्रित रहेको फोरममा बिआरआई परियोजना लागू भएका एक सय ४० वटा देश र ३० वटा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा बोल्दै चीनका राष्ट्रपति सी जिङपिङले आगामी दिनमा बिआरआईखन्तर्गत पूर्वाधार विकास, यसमा लगानी भइरहेको कोष र ग्रिन डेभलभमेन्टमा आधारित आठबुँदे भिजन घोषणा गरेका छन् ।

सन् २०१३ मा चीनले सुरु गरेको बिआरआई परियोजनाले हाल एसिया, ल्याटिन अमेरिका, अफ्रिकालगायतका देशमा पुल, बन्दरगाह, राजमार्ग, पावरप्लान्ट र दूरसञ्चार परियोजनाहरूको निर्माणका लागि सयौँ अर्ब डलर खर्च गरिसकेको छ । विश्वका एक सय ५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाले चीनसँग बेल्ट एन्ड रोड सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। जुन विश्वको जनसंख्याको ६५ प्रतिशत र विश्वव्यापी जिडिपीको ४० प्रतिशत प्रतिनिधित्व गर्दछ ।