कोशी सरकार सकसः ढोक्सा राजनीतिको प्रतिस्पर्धाले एमाले फेरि रक्षात्मक
देशका सातै प्रदेश र केन्द्रमा पनि पछिल्लो निर्वाचनअघिकै सत्ता गठबन्धन कायम छ। सत्ता गठबन्धनमा रहेका दलहरुबीच वा दलभित्र द्वन् नभएको होइन तर सहकार्य पनि निरन्तर चलिरहेको छ।
यो द्वन्द्वमा खेलेर गठबन्धन टुटाउनु नेकपा एमालेको एकमात्र अभिष्ट हो। तर, आफ्नो अभिष्ट पूरा गर्न खोज्दा एमाले पटक पटक असफल भएको छ। पछिल्लो पटक एमाले पुनः षड्यन्त्रको खेलमा सामेल भएको छ। तर, षड्यन्त्रमा सफल हुन्छ वा आफ्नै षड्यन्त्रको शिकार हुन्छ, यसको छिनोफानो केही समय लाग्न सक्छ।
गत वर्ष एमालेको सहयोगमा सत्ताको सिँढी चढेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा थापेको भनेका थिए। नभन्दै माओवादीले एमालेको साथ छाडेर कांग्रेससँग सत्ताको लगनगाँठो कसेको थियो।
कोशीमा एमालेको काउन्टरमा माओवादी केन्द्रले ढोक्सा थापेपछि एमाले रक्षात्मक बनेको छ । माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएपछि एमाले सशंकित बनेको देखिन्छ । गत शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले बुधवार (आज) विश्वासको मत लिँदैछन् ।
माओवादीले विश्वासको मत दिने भएपछि एमालेलाई पहिले केन्द्रमा जस्तै नैतिक रूपले सत्ताबाट बाहिरिनुपर्ने जोखिम बढेको छ । अरू दललाई सरकारमा सामेल गराउँदा कुनै समस्या नहुनेमा एमाले छ । तर माओवादीसँग उसले बढी नै इगो साँधेको छ ।
एमालेकै हतारोमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन माओवादी र एकीकृत समाजवादीसँग आइतबार छुट्टै छलफल गरेका छन् । कार्कीले सभापति शेरबहादुर देउवानिकट मानिएका हिमाल कार्कीलाई गठबन्धनसँग छलफल गर्ने जिम्मा दिएका छन् । मुख्यमन्त्री कार्कीले गठबन्धनका नेतासँग छलफल हुनुभन्दा अगाडि भने एमालेसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी नेताहरूका अनुसार केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयन गर्ने आश्वासन मुख्यमन्त्री कार्कीले दिएका छन् । ‘म केन्द्रमा नेताहरूले गरेको सहमतिभन्दा तलमाथि केही पनि गर्दिनँ भनेर मुख्यमन्त्री कार्कीले हामीसँग भन्नुभएको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अब सरकार चलाउने विषयमा पनि सरसल्लाह नगरी म एक कदम पनि अगाडि बढ्दिनँ भनेर उहाँले भन्नुभएको छ । ’
कांग्रेसका ८ जना सांसद र एमालेको साथ लिएर मुख्यमन्त्री पदमा दाबी गरेका कार्कीका पक्षमा एमाले मात्र होइन, केन्द्रमा सरकार चलाइरहेको सिंगो गठबन्धन नै तयार भइसकेको छ। अहिले पनि केन्द्रीय गठबन्धनले कार्कीलाई विश्वासको मत दिने कुराले एमालेलाई त्यस्तै चिन्ता थपेको छ।
कोशी प्रदेश सभामा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी भन्छन्, ‘कांग्रेस सिंगो आउँछ भने ठीकै छ, हामी स्वागत नै गर्छौँ । तर, त्यसबाहेकका घटकलाई पनि सरकारमा सामेल गराउने कुरामा हामी सहमत हुन सक्दैनौँ। केन्द्रीय गठबन्धन लागू गर्न खोजिए हामी सरकारबाट बाहिरिन्छौँ।’
कांग्रेस सांसद केदार कार्की गत शनिबार एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लगत्तै उनी काठमाडौँ आएर राजनीतिक भेटघाट गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गर्न बालकोटसमेत पुगेका थिए। शपथसमेत नलिएर एमाले अध्यक्षलाई भेट्न जाने तिनै कार्कीले मंगलबार भने एमालेले विश्वासको मत लिने तयारी र सत्ता साझेदारीबारे छलफल गर्न खोज्दा भेटका लागि समय नै दिएनन्।
कोशीको गणित यति पेचिलो भइसकेको छ कि केन्द्रीय सत्ता गठबन्धन नै लागू गर्न खोजे पनि अब त्यसले सरकार वा प्रदेश सभा टिकाउने सामर्थ्य राख्दैन। एमालेको सहयोग वा सहभागिताबिना सरकार बन्न र टिक्न मुस्किल छ।
एमालेले साथ छाडेर पुनः साविककै गठबन्धनमा फर्किने हो भने कार्की सरकारसँगै प्रदेश सभा पनि संकटमा पर्छ। त्यसपछि मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ।